पथरीशनिश्चरे / आफ्नो नगरमा पनि स्वास्थ्य उपचारका लागि विमा गर्ने जानकारी पाए पछि पथरीशनिश्चरे १ का ज्येष्ठ समाजसेवी वीरवहादुर वस्नेत खुसी छन् । ‘अव हाम्रो नगरमा पनि थोरै पैसा जम्मा गरेर धेरै पैसा पर्ने उपचार गराउन पाउने भएपछि सहज हुने बुझें ।’– उनले खुसी व्यक्त गर्दै भने ।

उनी मात्र होइन, यस कार्यक्रमबारे जानकारी पाएकाहरु खुसी वनेका छन् । स्वास्थ्य क्षेत्रका गतिविधिले प्रदेशमै चिनिएको सो नगरमा स्वास्थ्य विमा लागू गर्ने विषयमा समाजका विभिन्न पक्षका प्रतिनिधिहरुसँग नगरपालिकाले मंगलबार अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेपछि यसका बारेमा प्रष्ट जानकारी भएपछि स्थानीय यसप्रति आकर्षित बनेका छन् । ‘यो राम्रो कार्यक्रम हो । यसलाई व्यवस्थित रुपमा अघि बढाउन नगरपालिकाले नीति बनाउनु पर्छ ।’– नगरका अर्का सामाजिक अगुवा देवराज भण्डारीले अभिमुखीकरणका क्रममा भने । पथरी उद्योग वाणिज्य संघका महासचिव अशोक साम्पाङले विमा कार्यक्रम सफल पार्न संघको तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको जनाए ।
नगरपालिका प्रमुख एवम् नगर स्वास्थ्य विमा समितिका समेत प्रमुख रहेका दिलिपकुमार राईले विमाको नगर समितिका सदस्य पुरा गर्दै वडा समिति निर्माण गरेर योजनावद्ध रुपमा स्वास्थ्य विमाका सम्पूर्ण कार्यक्रम अघि बढाउने बताए ।
स्वास्थ्य विमा वोर्ड १ नम्वर प्रदेशले अघि सारेको सो कार्यक्रममा बोर्डका दिलिप पोखरेल र खेम अधिकारीले सहजिकरण गर्दै स्वास्थ्य विमाका बारेमा प्रष्ट्याएका थिए । उनीहरुले प्रदेशभरी यसखाले अभियान सञ्चालनमा रहेको पनि उल्लेख गरे ।
वडाध्यक्षको अध्यक्षतामा वडामा समेत समिति गठन गरेर अभिमुखिकरण कार्यक्रम सञ्चालनपछि प्रत्येक वडामा १,१ जना विमा सहयोगी छनौट गरिने छ । उनीहरुमार्फत विमा गराउने अभियान चल्ने पथरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी जगत मगरले जनाए । पथरीशनिश्चरे नगरका लागि स्वास्थ्य विमाको प्रथम विन्दु नजिकै रहेको मंगलबारे अस्पताललाई बनाइएको छ । त्यहाँबाट अन्यत्रका विमा कार्यक्रम सञ्चालन गरेका अस्पतालमा रेफर समेत गरिने छ ।

विमाका लागि ५ जनासम्मको परिवारमा वर्षको ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य उपचारका लागि वर्षको २ हजार ५ सय रुपैयाँ विमा स्वरुप अग्रिम जम्मा गर्नुपर्नेछ । ५ जना भन्दा बढी परिवार भएमा सो रकममा प्रति सदस्य ४ सय २५ का दरमा रकम थप गर्नुपर्ने प्रावधान रहेको छ । यसको अधिकतम सीमा १ लाखसम्मको हुनेछ । यसको अवधि १ वर्षको हुने र अरु वर्षमा पुन सो रकम नविकरण गर्नुपर्ने हुन्छ । अति विपन्नका लागि सरकारले शुल्क व्यहोरेर निशुःक उपचार गर्नेछ । विपन्नलाई ७५ प्रतिशत र गरिवीको रेखामुनी रहेकालाई विमा गर्नुपर्ने रकममा ५० प्रतिशत छुट दिइन्छ । प्लाष्टिक सर्जरी गरेको, लागू पदार्थ सेवन गरी घाइते भएको, आपसी झैझगडा गरेको, कृत्रिम गर्भाधान गरेकोलाई विमा उपचार नहुने प्रावधान बनाइएको छ ।

सेवा कहाँ कहाँबाट पाइन्छ त ? 

सरकारले स्वास्थ्य विमा कार्यक्रम लागू गरेको जिल्लामध्ये मोरङ ४७ औं जिल्ला हो । जसमा मोरङ प्राथमिक स्वास्थ्य केन्द्रहरुमा हरैंचा, झोराहाट, लेटाङ, झुर्किया, रानी, बाहुनीबाट यो सेवा लिन सकिन्छ । त्यसैगरी, सरकारी अस्पतालमा कोशी अञ्चल, रंगेली र उर्लावारीको मंगलबारे अस्पतालले विमा सेवा प्रदान गर्दछ । नोवेल, विराट शिक्षण, विराटनगर आँशा अस्पताल र सुनसरीस्थित धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भनें विरामी रेफर गर्न सकिन्छ ।

कार्यक्रम कहिलेदेखि ? 

नेपालको संविधान ०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपालीहरुको मौलिक हकका रुपमा स्थापित गर्दै धारा ५१ (ज) १५ मा राज्यका नीति निर्देशक सिद्धान्त अन्तर्गत नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्धेश्य अनुरुप राष्ट्यि विमा नीति ०७१ बनेको छ । ०७२÷७३ देखि कैलाली, बाग्लुङ र इलाम जिल्लाबाट थालनी भएको विमा ०७४÷७५ सम्ममा ३६ जिल्ला र थप ६ जिल्लामा सेवा विस्तारको पूर्व तयारी भइसकेको र वाँकी ३६ जिल्लामा पनि ०७५÷७६ बाट पूर्वतयारी थालिएको स्वास्थ्य विमा बोर्ड टेकु काठमाडौंले जनाएको छ । स्वास्थ्य विमा ऐन ०७४ संसदबाट पारित समेत भइसकेपछि यसलाई लागू गराउन अझ सहज हुने उल्लेख छ ।

१ नम्वर प्रदेशमा सुनसरी, झापा सहितका ६ वटा जिल्लामा कार्यक्रम सुरु भइसकेको छ । मोरङमा गत मंसिर १९ गतेदेखि पालिकातहमा अभिमुखिकरण सुरु भएको छ । हालसम्म १४ पालिकामा पालिकास्तरीय अभिमुखिकरण भइसकेको स्वास्थ्य विमा बोर्ड १ नम्वर प्रदेशका सहसंयोजक दुर्गा आचार्यले जनाए । ‘पालिकास्तरको सकेपछि वडास्तरको अभिमुखिकरण गरेर विमा कार्यक्रमको प्रक्रियामा पुग्छौं ।;– उनले भने ।