तेह्रथुम/लालीगुराँस नगरपालिकाको वसन्तपूरमा निर्माण गरिएको चोलुङ्ग पार्कमा सोमबारदेखि लागेको उँधौली मेलाको उद्घाटन भएको छ ।

मेलाको उद्घाटन गर्दै प्रदेश नं. १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङ्गले लिम्बू समुदायको जन्म, मृत्यु, विवाह, उँधौली उँभौली जस्ता मौलिक र जातीय पहिचानसँग सम्बन्धित कार्यहरु सम्पन्न गर्नको लागि चोलुङ्ग पार्कको महत्व रहेको बताएका छन् ।

पार्कमा सुरु भएको उँधौली पर्वमा भाग लिन स्थानीय गाउँसहरका साथै धरान, विराटनगर, काठमाडौं, भारत, बेलायत, सिंगापूर लगायतका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली भाषी लिम्बू र अन्य किराँत समुदायका अगुवाहरुको सहभागिता रहेको छ ।

लालीगुराँस नगरपालिकाको सहयोगमा लिम्बू जातिको संस्कारमा आधारित अन्तर्राष्ट्रिय स्तरको यो पार्क नेपालमा नै निर्माण गरिएको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङ्गले बताएका छन् ।

यो पार्कमा विशेष गरेर लिम्बू समुदायको जन्म, मृत्यु, विवाह, उँधौली, उँभौली जस्ता मौलिक र जातीय पहिचानसँग सम्वन्धित कार्यक्रमहरु वर्षभरी नै गरिनेछ । पार्कमा यी पर्व र संस्कारका लागि चाहिने आवश्यक सामान समेत राखिएको छ ।

लिम्बू जाति प्रकृति पूजक मानिन्छन् । लिम्बू जातिले ढुङ्गा र माटोको विशेष पूजाआजा गर्ने गर्दछन् । ढुङ्गालाई विशेष देवताको रुपमा पूजा गर्ने लिम्बू जातिको धेरै पुरानो परम्परा रही आएको नगर प्रमुख माबाहाङ्गले बताए । लिम्बू समुदायको धर्म ग्रन्थको रुपमा लिइने मुन्धुममा ढुङ्गालाई विशेष महत्व दिइएको छ ।

जन्मँदा होस् वा मृत्यू हुँदा लिम्बू जातिले ढुङ्गालाई विशेष महत्व दिएको पाइन्छ । विश्वका सम्पूर्ण लिम्बूहरुले जन्मेदेखि मृत्युपर्यन्तका कार्यहरु सम्पन्न गर्नको लागि यो पार्क नै एक मात्र स्थान हुने कुरा लिम्बू मुन्धुमविदहरुको भनाइ रहेको छ ।

लिम्बू संस्कारमा प्रयोग हुने ढुङ्गा, धनुकाँण, बन्दुक, सिमाला लगायतका ऐतिहासिक सामानहरु संकलन गरेर राख्ने काम भैरहेको नगर प्रमुख माबोहाङ्गले बताए । पार्कलाई लिम्बूहरुको चोलुङ्ग (सिद्धिस्थल) को रुपमा विकास गर्ने लक्ष्यका साथ काम गरिएको उनको भनाई छ ।

पार्कमा विभिन्न स्थानमा राखिएका ढुङ्गामा लिम्बू जातिको संस्कारजन्य संकेतहरु कुँदिएका छन् । लिम्बू जातिका परम्परागत ढिकी, जाँतो तान लगायतका ऐतिहासिक चिजवस्तुहरु राखिएका छन् । पौराणिक कालमा बैठक भेला बस्नका लागि काठ तथा प्लाष्टिकका कुर्सीहरु नपाइने हुँदा ढुङ्गाका बस्ने सामग्री निर्माण गरी सभा गर्ने गरिन्थ्यो ।

यसरी बसिने लिम्बू जातिको भेलालाई चुम्लुङ्ग भनिएको भएर यस पार्कमा पनि साही कुराको स्मरणमा चुम्लुङ्ग निर्माण गरिएको छ ।

लिम्बु जातिको विशेषता झल्काउने यो पार्कमा लागेको मेलामा कोदाको रोटी, फापरको रोटी, मकैको रोटी, सेलरोटी, मकैभटमास, गुन्द्रुकको अचार, याङ्गवेन, ढिंडो, तङवा, सुकुटी, उसिनेका आलु, टिमुरको अचार लगायत अर्गानिक खानेकुराहरु खान पाइन्छ ।

मेला सोमबारदेखि बुधबारसम्म तीन दिन लाग्ने मेला आयोजक समितिका सचिव रविकिरण लिम्वुले बताएका छन् ।