विराटनगर/ विकासको मुल आधर भनकै सडक भएकोे गुणस्तरीय सडक निमार्ण गर्न जनप्रतिनिधीहरूले जोड दिएका छन् ।

सडकलाई सर्वकालिक बनाउने तथा त्यसको उपयोगिता र औचित्य प्रमाणित गर्ने काममा प्राविधिक कर्मचारिले धेरै ध्यान पुर्याउनुपर्ने बताए । स्थानीय तहहरुले कागजमा शतप्रतिशत प्रगति भएको विवरण दिएपनि सडकमा गाडी गुडेन र जनतालाई फाइदा भएन भने त्यस्ता रिपोर्टहरुको अर्थ नहुने भन्दै कागजमा प्रगती देखाउने प्रवृत्ती अन्त्य गर्नुपर्नेमा उनीहरूले जोड दिए ।

विराटनगरमा सडक वोर्ड नेपालले आइतबार स्थानीय सडक मर्मत संभार सम्वन्धी सहजिकरण गर्न आयोजना गरेको कार्यक्रममा विकासको नाममा अनावश्यक र नयाँ सडक बनाउने क्रमलाई रोक्नु पर्ने धारणा समेत व्यक्त गरे ।

नेपाल नगरपालिका संघ प्रदेश १ का अध्यक्ष तथा इलाम नगरपालिकाका प्रमुख महेश वस्नेतले सडक कनेक्टिभिटि स्थानीय आवश्यकता र त्यसबाट जनताको जीवनस्तरमा हुने लाभका आधारमा मात्र अघि बढाउनु पर्नेमा जोड दिए ।

‘जनप्रतिनिधिले डाँडाकाँडा भत्काएर चाहिने नचाहिने ठाउँमा सडक खनेपछि मात्र विकास गर्यो भन्ने मानशिकता बदल्न प्राविधिक कर्मचारिहरुको महत्वपूर्ण भूमिका हुन्छ,’ उनले भने, ‘त्यसो गर्नबाट रोक्नु पर्छ ।’ उनले व्यवस्थापनका दृष्टिले थेग्नै नसक्ने गरी बाटोहरु बनाउन रोक्ने गरी प्रदेश तहमै यसलाई सैद्धान्तिक छलफलको विषय बनाइने पनि जानकारी दिए ।

विद्यमान सडकहरुको स्तरोन्नती गर्ने, मर्मत सुधार गर्ने, सडकसँगै उत्पादन वृद्धि गरी जनताको जीवनस्तर उकास्ने तर्फ ध्यान दिएर स्थानीय तहहरुले कार्यक्रम बनाउनु उपयुक्त हुने सुझाव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले बताए ।

उनले देशभर ८३ हजार किलोमिटर बाटो रहेको र केन्द्रीय सरकारको दायित्वमा १४ हजार किलोमिटर मात्र रहेकोले बाटोघाटोको प्रमुख जिम्मेवारी प्रदेश र स्थानीय तहमा आएको जानकारी दिए ।

उनले सडकलाई सर्वकालिक बनाउने तथा त्यसको उपयोगिता र औचित्य प्रमाणित गर्ने काममा प्राविधिक कर्मचारिले धेरै ध्यान पुर्याउनु पर्ने बताए ।

कार्यक्रममा गाउँपालिका राष्टिूय महासंघ नेपाल प्रदेश नम्बर १ का अध्यक्ष तथा कानेपोखरी गपाका प्रमुख ताराबहादुर काफ्लेले स्थानीय तहको बजेटको ठूलो हिंसा सडक निमार्णमा बिनायोजन गरिएको हुनाले गुणस्तरमा ध्यान दिन जरुरी रहेको बताए ।

सडक बोर्डले बाटोको लम्वाई चौडाइका आधारमा पहिलो पटक गाउँ पालिकामा सडक मर्मतकालागि ५ लाख १० लाख रुपियाँका दरले रकम निकाशा गरेको छ । चालु आर्थिक वर्षमा १ अर्व १२ करोड रुपियाँ स्थानीय तह मार्फत सडक मर्मतकालागि खर्च हुने वोर्डका कार्यकारी निर्देशक कष्णसिंह बस्नेतले जानकारी दिए ।

कार्यक्रममा स्थानीय तहका इन्जिनियर, सहायक इन्जिनियरहरुलाई सडक बोर्डको रकम खर्च गर्ने तरिका, निकाशा माग गर्ने तरिका आदिको बारेमा सहजिकरण गरिने बताइएको छ ।