जनकपुर/ प्रदेश नम्बर २ को राजधानि जनकपुरधाममा विवाह पञ्चमीका लागि बुधबार जनकपुरमा विशेष सुरक्षा अपनाइने भएको छ । भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर आउने कार्यक्रम रहेकाले सुरक्षा निकाय चनाखो बनेका छन् ।

आगामी बुधबार हुने राम–जानकी विवाह महोत्सवमा भीड व्यवस्थापनलाई प्रमुख चुनौती मान्दै तीन तहको सुरक्षा प्रबन्ध मिलाइएको छ । सेनालाई स्ट्यान्डबाई राखिने भएको छ ।

दर्शनार्थीको भीडमा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको छ ।

समितिको आइतबार बसेको बैठकले जानकी मन्दिर र रंगभूमि मैदानमा प्रवेश गर्ने सबैलाई मेटल डिटेक्टर गेटबाट मात्र पठाउने निर्णय गरेको छ । यी दुबै स्थानमा दर्शनार्थीको ठूलो भीड हुन्छ ।

आदित्यनाथ जानकी मन्दिर र रंगभूमि मैदान पुग्दा भीड व्यवस्थापन प्रमुख चुनौती हुने आकलन सुरक्षा निकायले गरेका छन्  आदित्यनाथ उत्तर प्रदेशबाट जहाजमा सिधै जनकपुर अवतरण गर्नेछन् ।

उनी दिनभर तीनवटा कार्यक्रममा सहभागी हुनेछन् । धनुषाका सीडीओ प्रदीपराज कँडेलले एयरपोर्ट, जानकी मन्दिर, रंगभूमि मैदान र प्रदेश सरकारको सचिवालय रहेको मधेस भवनका लागि फरक–फरक सुरक्षा बन्दोबस्त मिलाइएको बताए ।

उनी एयरपोर्टबाट सिधै जानकी मन्दिर पुगेर विशेष पूजाअर्चना गर्नेछन् । त्यहाँबाट प्रदेश सचिवालय पुग्ने छन् । उनको सम्मानमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिवाभोज (भण्डारा) आयोजना गर्ने कार्यक्रम छ ।

दिवाभोजलगत्तै आदित्यनाथ रंगभूमि मैदानमा आयोजना गरिने राम–सीताको प्रतीकात्मक वैवाहिक विधिमा उपस्थित हुनेछन् ।

प्रदेश २ का प्रमुख डीआईजी हरिबहादुर पालले सुरक्षाको सबै योजना तयार पारिएको बताए । उनले नेपाल र सशस्त्र प्रहरीका ३ हजार सुरक्षाकर्मी परिचालन गरिने र त्यसका लागि बाहिरबाट पनि थप सुरक्षाकर्मी झिकाइएको जानकारी दिए ।

जनकपुरमा मंगलबार र बुधबार रक्सी, माछा–मासुको बिक्री वितरण तथा सेवनमा निषेध गरिएको सीडीओ कँडेलले बताए ।

राम–जानकी विवाह महोत्सवमा अवधिभर मदिरा निषेध
२३ गतेदेखि विवाहपञ्चमीको अवधिसम्म मदिरा बन्द गर्ने निर्णय भएको छ। जनकपुरकै सबैभन्दा ठूलो पर्व विवाहपञ्चमीका बेला आपराधिक क्रियाकलाप र होहल्ला हुन नदिन अगामी मंसिर २७ गतेसम्म मदिरा निषेध गरिएको हो।

मेलालाई भव्यता प्रदान गर्न नागरिक समाज, संघ संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, एवं वडा अध्यक्षहरुको उपस्थितिमा २६ गते आ–आफ्नो स्तरबाट जनकपुरवासीहरुले दीपावली मनाउने निर्णय समेत गरेको उपमहानगरकी उपप्रमुख रिता मिश्रले जानकारी दिइन्।

बैठकमा पर्यटकहरुलाई बिजुली बत्ती, खानेपानी तथा शौचालय सहज उपलब्ध गराउनुपर्ने, यातायातलाई उचित शुल्क लिएर गन्तव्यस्थलसम्म पुर्याउँन सहयोग गर्ने, होटल व्यवसायीहरुले आ–आफ्नो स्तरबाट थोरै नाफा लिएर भोजनको व्यवस्था गर्ने लगायतको सुझाव दिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए ।

सुरक्षा व्यवस्थामा कडाइ
लाखौँको सहभागिता रहने विवाहोत्सवमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत आउने भएपछि प्रदेश सरकारका लागि थप सुरक्षा चुनौती बनेको छ ।

प्रदेश सकार समेत आफूहरु सुरक्षा व्यवस्थालाई लिएर गम्भीर रहेको जनाएको छ । विवाहपञ्चमी सुरक्षा व्यवस्थामा कडाई मुख्यमन्त्री योगीको सुरक्षालाई लिएर आफुहरु गम्भिर रहेको प्रदेश सरकारले जनाएको छ , उनको भ्रमणको समयमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिएका छन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले ३ हजार ५ सय नेपाल प्रहरी परिचालन गरिने बताए । २ हजार ५ सय सशस्त्र प्रहरी समेत परिचालन गरिने छ ।

ड्रोनबाट भीड निगरानी
राम–जानकी विवाह महोत्सवमा नेपाल प्रहरीले ड्रोनबाट भीडको निगरानी गर्ने भएको छ । मुख्य प्रवेशद्वारमा ‘वाक थ्रु गेट’ बाट पनि भीडको निगरानी गरिने डीआईजी पालले बताए ।

आदित्यनाथको भ्रमणका कारण पनि मेलामा दर्शनार्थीको चाप बढ्ने सुरक्षा निकायको अनुमान छ । मंसिर २५ गते रातिदेखि २६ गतेसम्म जनकपुरमा सवारीसाधन प्रवेशमा रोक लगाउने निर्णय गरिएको कान्तिपुरमा खबर छ ।