ताप्लेजुङ/चिसो बढेसँगै ताप्लेजुङको हिमाली क्षेत्रका बस्तिहरु खाली हुँदै गएका छन् । चिसोसँगै हिमपात सुरु भए पछि जिल्लाको ओलाङ्चुङगोला, पापुङ, लेलेप लगायतका हिमाली बस्तिका स्थानियबासी तल्लो क्षेत्रमा झरे पछि ति क्षेत्रका बस्ति खाली हुन थालेका हुन् ।

वर्षेनी जाडोको सिजनमा माथिल्लो हिमाली क्षेत्रका स्थानीय चौरी गोठ सहित तल्लो क्षेत्र तर्फ झर्ने गर्दछन् ।

पापुङको तोक्पेगोला, ओलाङ्चुङगोलाको याङ्मा, घुन्सा, खम्बाछेन लगायतका वस्तिका मानिसहरु जाडो छल्न अहिले आफ्नै गाउँका औल क्षेत्रमा झर्न थालेका छन् भने कतिपय आर्थिक अवस्था राम्रो भएकाहरु राजधानी, साथै जाडो कम हुने क्षेत्रको खोजी गर्दै ति ठाँउमा पुगेका छन् ।

माथिल्लो क्षेत्रका विभिन्न स्थानमा त्यहाँका स्थानियले फलाएको अन्नवाली लिएर झर्ने उनीहरू औल क्षेत्रका मानिसहरुसँग अन्नपातसँग साट्ने समेत गरेका छन् ।  यता लेलेपको खम्बाछेन, सेलेलेका मानिसहरु भने लेलेपकै फले भन्ने क्षेत्रमा झरेर बस्ने गरेका छन् ।

कतिपय आर्थिक अवस्था राम्रै भएकाहरु सदरमुकाम फुङ्लीङ र जिल्ला बाहिरै गएर पनि बस्ने गरेका छन् । गाँउ छाडे पछि कोही आफन्तकोमा कोही भाडामा कोठा लिएर बस्ने गर्छन् ।

ति क्षेत्रका स्थानियको मुख्य व्यवसाय पर्यटन तथा पशुपालन हो । पर्यटन व्यवसायीले साबिक ठाँउमा नै बसेर जसो तसो जाडो कटाए पनि पशुपालन व्यवसायी पनि पारिलो क्षेत्रमा सर्ने गरेका छन् ।

ओलाङ्चुङगोला लगायतका माथिल्लो क्षेत्रमा हिमपात नै भएको छ भने सातादिन देखि जिल्लाका अधिकांस क्षेत्रमा चिसो बढेको छ ।  चिसो बढेसँगै स्थानिय जिल्लामा सिरक डसनाको समेत कारोवारमा वृद्धि भएको फुङलिङमा कलाम सिरक तथा डसना पसल सञ्चालन गरेर बसेका अव्दुल कलाम बताउँछन् ।

कलामका अनुसार दैनिक १० वटासम्म सिरक डसना निमार्ण गर्नको लागि अर्डर आउने गरेको छ ।

जाडो याममा पूर्व तयारी गर्न प्रशासनको आग्रह
हिमाली जिल्ला ताप्लेजुङमा जाडो सिजनमा माईनस डिग्रीसम्म तापक्रम झर्ने भएकाले चिसोबाट बच्नको लागि पूर्व सावधानी अपनाउन जिल्ला प्रशाशन कार्यालयले आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले प्रशासन कार्यालयमा आयोजित सर्वदलिय वैठकमा यस्तो आग्रह गरेका हुन् । सबै राजनितीक दलका प्रतिनिधी, स्थानिय सरोकारवाला तथा सञ्चारकर्मीको उपस्थितीमा भएको सर्वपक्षिय बैठकमा प्रजिअ भण्डारीले सहयोगका लागि समेत आग्रह गरे ।

ताप्लेजुङका फक्ताङ्लुङ, सिरीजंघा, सिदिङ्वा लगायतका गाउँपालिकाका माथिल्लो भेगमा हिमपात हुने गर्दछ ।

जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
जाडोका कारण विषेशगरि जेष्ट नागरिकहरुलाई समस्या बढि समस्या हुने भन्दै मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङका जेष्ठ नागरिकहरुलाई सोमबार जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ ।

जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो तमोर १०२ मेघाहर्ज र ढोक्प्या विद्यार्थी समाज काठमाण्डौले संयुक्त रुपमा न्यानो कपडा वितरण गरेको हो ।

वडाभित्र बसोबास गर्ने सबै जेष्ठ नागरिकका लागि न्यानो कपडा वितरण गरिएको सो वडाका वडाध्क्ष डण्डु शेर्पाले बताए ।  रेडियो तमोर १०२ मेघाहर्जको नजिँकीदै गरेको वार्षिकोत्सवको अवशरमा कपडा वितरण गरिएको रेडियो तमोर सञ्चालन समितिका अध्यक्ष रमेश बरालले बताए ।

यता ढोक्प्या विद्यार्थी समाजले भने देउसी खेलेर सकंलन गरेको रकमबाट न्यानो कपडा वितरण गरेका हुन् । वितरण कार्यक्रममा पूर्व सांसद पासाङ शेर्पाको उपस्थितीमा रहेको थियो ।