विजयपुर÷रामेछापका कवि जीवन खत्रीले कवि विमल स्मृति पुस्तकालय राष्ट्रिय कविता प्रतियोगितामा प्रथम बनेका छन् ।
वैदेशिक रोजगारी अन्तर्गत कोरियामा ५ वर्ष बिताएका खत्रीको ‘आगोको आवाज’ कविता प्रथम बन्दै नगद २० हजार जित्यो । सिन्धुपाल्चोकका कवि स्मिता श्रेष्ठको ‘पासपोर्ट उडान’ दोस्रो बन्दै १५ हजार रुपैयाँ जित्यो । गोर्खाका कवि योगेश घिमिरेको ‘बादल’ कविता तेस्रो बन्दै नगद १० हजार रुपैयाँ जित्न सफल भयो । प्रथम बनेका खत्रीको दुई वर्षअघि पनि टप १५ मा पर्न सफल बनेको थियो । तात्कालीन समयमा भौतिक उपस्थिति जनाउन नसकेका कारणले उनको कविता अन्तिम छनौटमा नपरेको उनी बताउँछन् । हाल उनी काठमाडौंमा व्यस्त छन् ।
उनले प्राप्त गरेको नगद पनि मधुवन साहित्य प्रतिष्ठानको कोष वृद्धिमा सहयोग गर्ने मञ्चबाटै घोषणा गरे । २०६५ मा उनको ‘मेरो शिखर टाढा छ’ र २०६९ मा ‘जीवन कसका लागि’ गजल सङ्ग्रह प्रकाशित छ भने दुई सातामा कविता सङ्ग्रह प्रकाशित गर्ने तयारी रहेको सुनाए । देशभरबाट दुई सय कविता प्राप्त भएको थियो । जसलाई कवि मनु मञ्जिल, बद्रि भिखारी र हेमन यात्रीले टप १५ छनौट गरेको कवि विमल स्मृति पुस्तकालयका सचिव चेवन राईले बताए ।
अन्तिम १५ कवितालाई भने कवि रमेश क्षितिज र बिप्लव ढकालले उत्कृष्ट तीन ठह¥याएका थिए । विजेताहरूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, भाषाविद् प्रा.डा. टङ्क न्यौपाने र पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले पुरस्कार वितरण गरे । त्यसक्रममा अप्रतियोगी कविहरूले पनि आ–आफ्ना रचना वाचन गरेका थिए । प्रमुख अतिथि बनेका सचिव थपलियाले पनि कविता वाचन गरेकी थिइन् । कवि गुरूङको ४२ औं जन्मजयन्तीको अवसर पारेर पुस्तकालयले प्रतियोगिता गरेको हो ।