पाँचथर /  नेपाल–भारत सिमावर्ती क्षेत्र । तीन हजार ६३६ मिटर उचाई । बिहानै देखिने सूर्योदयको दृष्य । आँखै अघि उभिएका मनमोहक हिमश्रृङ्खला । यसैमा लोभिएर पर्यटक पुग्छन्– सन्दकपुर । स्वदेशी भन्दा बिदेशी पर्यटक बढी भेटिन्छन् सन्दकपुरमा । भारत पश्चिम बंगालको दार्जिलिङ सिमाना र नेपाल प्रदेश–१ को इलाम जिल्लामा पर्छ सन्दकपुर क्षेत्र । सन्दकपुरका होटल व्यवसायी पासाङ रिञ्जी शेर्पाका अनुसार सिजनको बेला सन्दकपुरमा दैनिक पाँच सयसम्म पर्यटक आउछन् ।

सन्दकपुरबाट झुल्के घामको दृष्य नियाल्न सकिन्छ । कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायतका हिमश्रृङ्खला आँखाभरी भर्न सकिन्छ । सन्दकपुर क्षेत्र बहुमूल्य जडिबुटिको पकेट क्षेत्र र दुर्लभ वन्यजन्तुको बाँसस्थान पनि हो । त्यसैले पर्यटक सन्दकपुरसम्म पुग्ने गरेको पाँचथर फालेलुङकी सिरु लिम्बू बताउछिन् ।

सन्दकपुरको मूख्य आकर्षण सूर्योदय र हिमश्रृङ्खलाको दृष्यावलोकन हो । सन्दकपुर डाँडाबाट दृष्यवलोकनका लागि अब्बल गन्तब्य भएको भर्खरै सन्दकपुर भ्रमणबाट फर्केका पाँचथरका पत्रकार नारायण तुम्बापोले बताए । सन्दकपुरबाट पाँचथरको चारराते हुँदै फालेलुङसम्म नेपाल–भारत सीमा भएर दृष्यावलोकन गर्न सकिने तुम्बापो बताउछन् । उक्त यात्राको क्रममा जैविक तथा वनस्पतिक विविधता र चौरी गोठ, चौरी पालन व्यवसायको पनि अध्ययन, अवलोकन गर्न सकिन्छ । यद्यपी सन्दकपुर क्षेत्रको नेपालतर्फ पूर्वाधार नहुँदा फाइदा भने भारतीय ब्यापारीले लिदै आएका छन् । पर्यटकले नेपालको जमिन प्रयोग गरेर दृष्यावलोकन गरे पनि भारत तर्फको होटलमा गएर बस्नुपर्ने अवस्था रहेको त्यहाँ घुम्न जानेहरुले बताएका छन् ।

Sandakpur  1