यासोक(पाँचथर)/पाँचथरको कुम्मायकमा करेन्ट दोस्रो कुम्मायक गोल्डकपले नाफा कमाएको छ । गाउँपालिकाको केन्द्र यासोकमा कुम्मायक स्पोर्टिङ क्लवको आयोजना गरेको करेन्ट दोस्रो कुम्मायक गोल्डकपमा क्लबले ५ लाख ५३ हजार १९ रुपैयाँ नाफा कमाएको हो ।

कात्तिक ९ देखि १५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा १ नगरपालिका र ७ गाउँपालिकासहित ८ टिमको सहभागीता रहेको थियो ।

क्लबले प्रतियोगिता सञ्चालन गर्न २० लाख ९६ हजार ६ सय ६६ रुपैयाँको खर्च हुन अनुमान गरेको थियो । अनुमानित बजेट मध्ये कुल अम्दानी १७ लाख २१ हजार ९ सय ९९ रुपैयाँ गरेको छ । प्रतियोगिता अवधिभर क्लवले ११ लाख ६६ हजार ९ सय ८० रुपैयाँ खर्च गरी बाँकी रहेको ५ लाख ५३ हजार १९ रुपैयाँ बचत गरिएको क्लवका अध्यक्ष रोहन घिमिरेले सार्वजनिक सुनुवाई मार्फत जानकारी दिए ।

कुम्मायक गोल्डकपमा ५ हजार भन्दा बढि सहयोग गर्ने ६५ सहयोगीदाताहरुलाई प्रशसा पत्र प्रदान गरी सम्मान गरेको छ । प्रतियोगिताको प्रवद्र्धक कुम्मायक गाउँपालिका र प्रथम पुरस्कार प्रायोजक विरुवा कन्सट्रक्सन काठमाण्डौं र दोस्रो पुरस्कार स्वामीनारायण निर्माण सेवा सुनसरीले गरेका थिए ।

कुम्मायक स्पोर्टिङ क्लब २०७४ सालमा स्थापना भएको कुम्मायकको पहिलो क्लब हो । उस्ले २०७४ सालमा ‘प्रथम कुम्मायक गोल्डकप, कुम्मायक प्रिमियर लिग र करेन्ट दोस्रो कुम्मायक आमन्त्रण गोल्डकप प्रतियोगिता सम्पन्न गरेको छ ।

यो समयअवधिमा ७ वटा फुटबल प्रतियोगिता घरेलु मैदानमा सञ्चालन गरेको थियो । जसमध्ये २ प्रतियोगितामा प्रथम र ३ प्रतियोगितामा दोस्रो हुन पुगेको थियो । त्यस्तै भलिबलको ७ प्रतियोगितामध्ये २ बिजेता र ३ वटा प्रतियोगितामा उपविजेतामा जित निकालेको क्लबका सचिव खेमराज निरौलाले बताए ।

कुम्मायक स्पोर्टिङ क्लबले छोटो अवधिमा खेलकुदको माध्यमबाट स्थानीय स्तरका खेलाडी उत्पादन गर्न सफल भएको भन्दै नेकपाका केन्द्रिय सदस्य तथा पुर्व राज्य मन्त्री डम्बरसिंह सम्बाहाम्फेले प्रसंशा गरे ।

उनले क्लबलाई आगामी दिनमा पनि स्थानीय स्तरमा खेलाडी उत्पादन गर्न खेलकुद सम्बन्धी गतिविधि गर्न आग्रह गरे । सार्वजनिक सुनुवाइ कार्यक्रममा कुम्मायक गाउँपालिका उपाध्यक्ष सिता आचार्य, वडा न. ३ का वडा अध्यक्ष रामप्रसाद गजुरेल, कुम्मायक-४ अध्यक्ष पुर्णकुमार खड्का लगायत सरकारी कार्यालयका प्रतिनिधि, संघ सस्थाका प्रतिनिधि राजनीतिकदलका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।