काठमाडौं/ पाकिस्तानी खुफिया एजेन्सी आईएसआईसँग जोडिएको एउटा हत्याकाण्डका अभियुक्त झण्डै दुई वर्षपछि पक्राउ परेका छन् ।

बाराको करैया–८ स्थित सहजनाथ सामुदायिक वनमा मारिएका भारतीय नागरिक २७ वर्षीय अरुण राम र १९ वर्षीय दिपक रामको हत्यामा संलग्न भएको अभियोगमा बाराका लड्डुु भनिने राजकिशोर गिरी पक्राउ परेका हुन् । गिरीलाई बाराको महानगढीमाई–१, सिमरा तलगछिया टोलबाट पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईले बताए ।

दुई वर्षअघि आईएसआईको योजनामा नेपालसँग सीमा जोडिएको भारतको रक्सौल नजिक घोडासहन रेल्वे स्टेशन र आदापुर नकरदेही रेल्वे स्टेशनमा बम विष्फोटको गराउने प्रयास भएको थियो । तर, बम विस्फोट हुनु अघि नै प्रहरीले सूचना पायो र डिस्पोज गर्‍यो ।

‘दिएको काम पूरा नगरेपछि त्यसमा संलग्न अरुण र दिपकलाई हत्या गर्ने योजना बनाएको देखिन्छ’, घटनाको अनुसन्धानमा संलग्न अधिकारी भन्छन्, ‘त्यसका लागि अर्को समूहलाई सुपारी दिएर नेपाली भूमिमा हत्या गराइएको खुलेको छ ।’ भारतीय नागरिकद्वयको छुराले घाँटी रेटेर १० पुस ०७३ हत्या गरिएको थियो । घटनाको भिडियो रेकर्ड गरेर आईएसआई एजेन्टलाई पठाएको अनुसन्धानमा खुलेको छ ।

घटनामा संलग्न मोजाहिर अन्सारी, गिरी बाबा भनिने बृजकिशोर गिरी, आशिष सिंह, उमेश कुमार कुर्मी सुमभत, धिरज पाल, समसुल होदा यसअघि पक्राउ परिसकेका छन् ।  थप एक जना अझै फरार छन् । उनको पनि खोजी जारी छ ।’ उनका अनुसार घटनामा संलग्न उमेशकुमार कुर्मी यसअघि नै १० हजार धरौटीमा छुटिसकेका छन् । उनीहरुमाथि संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाइएको थियो ।