यासोक(पाँचथर)/पाँचथरको तुम्बेवा गाउँपालिकामा संचालित तमोर लिफ्ट खानेपानी अयोजनाको बिषयमा मंगलबार बैठक बस्यो ।

बैठकमा उपभोत्ता समिति गठन गर्ने बिषय निस्कीयो । बिषय प्रवेश हुनसाथ समितिको अध्यक्षका दावेदार एक पछि अर्को गर्दै अघि सर्न थाले । यति सम्मकी अध्यक्षको मोहले बिवादले उग्र रुपलिएपछि योजनाको बिषयमा जानकारी लिन पुगेको प्राविधिको टोली र नेकपाका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री डम्बरसिंह सम्बाहाम्फे पनि अलमलमा परे ।

धेरै लामो प्रयास खेर गएपछि अन्ततः बैठक नै स्थगित भयो ।

यस्ता प्रयास र बैठक कयौं पटक भए राजनीतिक स्वार्थ भन्दा माथी उठ्न नसकेका दलका प्रतिनिधिले गर्दा योजना अन्योलमा परेको छ । उपभोक्ता समितिको अध्यक्षयमा नेकपाका मित्र थापा र देवेन्द्र खत्री अडानमा छन् । दुबै पक्षको अडानले समितिमा उग्र रुप लिएको छ ।

समितिको दावेदारको रुपमा मित्र थापा तत्कालिन नेकपा एमालेबाट दाबी गर्दै आएका छन, भने देवेन्द्र खत्रि पूर्व माओवादीबाट दाबी गर्दै आएका छन् । दुबैले अध्यक्ष पद नछाड्ने भएपछि समिति गठन अन्योलमा परेको हो । 

नेपाल सरकारले २०७२ सालमा तुम्बेवा गाउँपालिकालाई सुख्खाक्षेत्र घोषणा गर्यो । सिंगो गाउँपालिकामा खानेपानी हाहाकार भएपछि २०७४ सालबाट बृहत तमोर खानेपानी योजना संन्चालनमा छ । निर्माण कम्पनीले सम्झौताको ३० महिनामा योजना सम्पन्न गर्नुपर्ने हुन्छ ।

तर १६ महिनासम्ममा योजनाको काम सुरुवाती चरणमै छ । खानेपानीको खोजीमा हजारौं स्थानीय बिस्थापित भएका छन । स्थानीय राजनीतिकदलका प्रतिनिधिलाई समिति बन्न नसक्नुको कारण राम्रैसँग थाहा छ । तर निहित स्वार्थका कारण सिंगो योजना नै अन्योलमा पर्दा स्थानीयवासी भने चिन्तित भएका छन् ।

निर्माण कम्पनीले गाउँपालिकाको सहयोगमा काम गर्दै आएको छ । उपभोक्ता समिति नहुदा गाउँपालिकाको सहयोग लिनुपरेको कम्पनीले जनाएको छ । उपभोत्ता समिति गठनका लागि जिल्ला र गाउँपालिकामा धेरै पहल भए तर सबै खेर गएको प्रति पुर्व मन्त्री डम्बरसिंह सम्बाहाम्फे पनि चिन्तीत छन् ।

‘हामीले धेरै पटक पहल गर्यौं, समिति बन्ला र योजनाले गति लिन्छ भन्ने आसा थियो । तर त्यो आसा पनि निराशामा बदलिएको छ । सम्बाहाम्फे भने, सम्झौताको आधा समय बितेको छ । समिति बिवाद कायमै रहने हो भने योजना लम्बिने निश्चित छ । यो बिषयमा सबै गम्भिर हुनु आवश्यक छ ।

गाउँपालिकाको चुवाले, वलने र आङना लगायतका बस्तीमा खानेपानी हाहाकार छ । तमोर लिफ्ट खानेपानी आयोजना लम्बिने भएपछि गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा स्थानीयवासीलाई खानेपानी बितरण गर्न लागेको छ ।

प्रदेश सरकारले गाउँपालिकालाई पानी बोक्न एउटा ट्याङकर उपलब्ध गराउने भएको छ । उक्त ट्याङकरले मात्रै गाउँपालिकालाई धान्न नसक्ने भएपछि भाडामा सवारी साधन लिएर पानी बितरण गर्नको लागी ५ लाख रुपयाँ रकम बिन्योजन गरेको गाउँपालिका अध्यक्ष होमनाथ थापाले जनाए ।

यता खानेपानी तथा सरसफाइ डिविजन कार्यालय पाँचथरका प्रमुख सुरतलाल चौधरीले गाउँपालिकाको माथील्लो क्षेत्रमा रहेका खानेपानीका मुहान पहिचान गरी गाउँपालिकामा पानी पुर्याउँनको लागि कार्यालयले आवश्यक सहयोग गर्ने बताए ।

उनले अहिले उपभोग गर्दै आएको पानीको मुहान संरक्षण र नयाँ योजनाको बिषयमा समेत पहल गर्ने बिषयमा जोड दिए ।