जिरोपोइन्ट/धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेका कारण आर्थिकलगायतका महत्वपूर्ण निर्णय गर्नमा समस्या उत्पन्न भएको छ ।

खर्चसम्बन्धी सम्पूर्ण आर्थिक अधिकार सङ्घले प्रमुख प्रशासकीय अधिकृतलाई प्रदान गरेको छ । असोज १२ गते रिक्त ररहेको पदमा हालसम्म नयाँ नपठाउँदा महत्वपूर्ण निर्णयमा पनि समस्या उत्पन्न भएको हो । वृद्ध भत्ता, घरनक्सा पास, उपभोक्तासँग गरिने सम्झौतालगायत रोकिएको आर्थिक प्रशासन शाखाका बरिष्ठ लेखा अधिकृत भेषराज अधिकारीले बताए ।

प्रशासकीय अधिकृत सुमन घिमिरे सरुवा भएपछि उनले निमित्त कार्यकारी शिक्षाका उपसचिव पिताम्बर गौतमलाई जिम्मेवारी दिइएको छ । तर, उनले आफ्नो अधिकार प्रत्यायोजन गर्नका लागि हिचकिचाएका कारण पनि समस्या सिर्जना भएको नगरपालिका स्रोत बताउँछ ।

खर्चसम्बन्धी सम्पूर्ण आर्थिक अधिकार प्रमुख प्रशासकीय अधिकृतमा रहने हुनाले पनि अहिले सम्पूर्ण भूक्तानी रोकिएको अधिकृत अधिकारीले बताए । विभिन्न ठेक्कापट्टा स्वीकृत गर्ने, ठेक्काको लागत स्टिमेट स्वीकृत गर्नेदेखि लिएर सूचना प्रकाशन गर्नेजस्ता सबै कार्य रोकिएको छ ।

ढुङ्गा गिटी बिक्रीका लागि खोलाको ठेक्काको सूचना निकालेपछि ठेकेदार छनौटसम्म भइसके पनि अधिकृत नहुदा निर्णय गरी स्विकृत गर्न नपाएको अधिकारीले बताए ।

प्रसासकिय अधिकृत नभएमा वडा कार्यलयहरूबाट आएका योजनाहरूको सम्झौता नै नहुने भएकाले वडाको विकास निर्माण पनि प्रभावित बनेको छ । खर्चसम्बन्धी आर्थिक कारोबार नभएपछि कर्मचारीको तलब र भत्तासमेत रोकिने नगरका प्रवक्ता एवम् वडा नम्बर २० का वडाअध्यक्ष मणिराम राईले बताए ।

प्रशासकीय अधिकृत मंसिरसम्म नआएमा कर्मचारीको तलब भत्तासमेत रोकिने उनी बताउँछन् । यसविषयमा नगरका वरिष्ठ सामाजिक विकास अधिकृत गणेशप्रसाद खतिवडाले प्रशासकिय अधिकृतका विषयमा विहिबार निर्णय भइसकेकाले २ देखि ३ दिन भित्र धरानले प्रशासकीय अधिकृत पाउने बताए ।