इटहरी/ इटहरीको क्रिकेट मैदानमा जनता पार्क बनाउन लागेको भन्दै इटहरीका खेलाडीहरू विरोधमा उत्रिएका छन् ।  जनता पार्क शिलान्यासपूर्व नै खेलाडीहरू इटहरी उपमहानगरपालिकाको विरुद्धमा उत्रिएका हुन् ।

क्रिकेटको मैदान मास्न लागेकाले विरोधमा उत्रिनु परेको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सिपी पौडेलले बताए । मङ्गलबार इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमलाई ज्ञापन पत्र बुझाउँदै इटहरी क्रिकेट एकेडेमी, सेभेन स्टार क्लब, इटहरी ग्रिन सिटी क्रिकेट क्लब, सुनसरी जिल्ला क्रिकेट संघ लगायतका संस्थाका पदाधिकारीसहित क्रिकेट खेलाडी र खेलसँग आवद्ध सरोकारवालाहरु ज्ञपान पत्र लिएर उपमेयर भेट्न पुगेका थिए ।

मेयर द्धवारिकलाल चौधरीले ज्ञापन पत्र बुझ्न समय नदिएपछि उपमेयर लक्ष्मी गौतमलाई ज्ञापन पत्र बुझाइएको थियो ।

क्रिकेट मैदानमा दैनिक खेलाडीहरूले अभ्यास गर्दै आएको इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैशाल विष्टले बताए । विष्ट राष्ट्रिय खेलकुद परिषदका समस्य सचिब केशव विष्टका छोरा हुन । विष्टकै पहलमा क्रिकेट मैदान बनेको थियो ।

ज्ञापन पत्र बुझ्दै उपमेयर लक्ष्मी गौतमले तयारी मैदान मास्ने विषयमा आफु गम्भिर रहेको बताइन । खेलको विकास र त्यसमा पनि क्रिकेटको विकासका लागि लगानी गर्नुपर्ने अवस्थामा बनेको संरचना मास्ने विषय उचित नहुने उनको तर्क थियो ।

यो विषयमा आफुले कार्यपालिकाको बैठकमा आवाज उठाउने आश्वासन दिइन् । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटका सबै म्याच यही पिचमा भएको थियो । यही मैदानमा दोस्रो प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पनि भएको छ । यस्तै यही मैदानमा उमेर समुहको पहिलो लिग प्रतियोगिता अण्डर १९ राष्ट्रिय प्रिमियर लिग ७३ साल देखि निरन्तर हुँदै आएको छ ।

हचुवामा निर्णय
इटहरी उपमहानगरपालिकाको नगर सभाले इटहरी उप महानगरपालिका–५ मा पार्क बनाउने निर्णय गर्यो । बजेट भने ५० लाख विनियोजन गरेको थियो । सामान्य तय नगर सभाले पास गरे पनि कार्यपालिकाले पास गरेपछि मात्रै निर्णय लागु हुन्छ तर इटहरी उप महानगरका मेयर द्धवारीकलाल चौधरीले भने कार्यपालिकाबाट पास नै नगराई पार्क बनाउने तयारी गरेका छन् ।

पार्क कस्तो बनाउने भन्ने समेत तयारी छैन इन्जिनियर अर्जुन दहालले भने अहिले शिलान्यास गरेर घेराबार गर्ने हो त्यसपछि कस्तो र कसरी बनाउने भन्ने नक्सा बन्ने बताए । हामी क्रिकेट मैदान पनि बनाउने तयारीमा छौ तर त्यहाँ भने पार्क नै बन्छ। मेयर चौधरीले कार्यापालिकाको बैठक बसेर पार्क बनाउने बिषय पास गराउने र घण्टाघर सहितको पार्क बनाउने जनाए ।

अहिले बनेको क्रिकेट मैदानको जग्गा सार्वजनिक जग्गा हो । क्रिकेट मैदान रहेको क्षेत्रमा झण्डै दुई विगाह जग्गा छ । तर त्यो जग्गा इटहरीमा रहेको डिभिएम स्कुलले हडपेको छ । भारतीय टूष्टको नाममा सञ्चालनमा रहेको सो बिद्यालयले सार्वजनिक जग्गा मिचेर वर्षौदेखि भोग चलन गर्दै आएको सार्वजनिक जग्गा हडपेको थाहा पाएपछि नगरपालिको गएको वर्ष जग्गा खाली गर्न डिभिएम स्कुललाई भनेको थियो तर पटक पटक भन्दा पनि अटेर गरेपछि अहिले पार्क बनाउन लागेको श्रोतको दाबी छ ।

इटहरी उपमहानगरपालिकाले ९ नम्बर वडामा रहेको सार्वजनिक जग्गामा जनता पार्क बनाउने भन्दै निमन्त्रणा पत्र बाँडेको छ । डिभिएम स्कुलसँगै जोडिएको सार्वजनिक जग्गामा पार्क बनाउन लागिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

जहाँ मुख्यमन्त्रि शेरधन राई मार्फत कार्यक्रम शिलान्यास गर्ने सुचना जारी गरेको छ ।

कार्यक्रमको विषयमा आफुलाई जानकारी नै नभएको उपमेयर लक्ष्मी गौतमले बताईन् । कार्यक्रमको विषयमा आफुलाई जानकारी नभएको र कार्यपालिकाबाट पारित पनि नभएको पनि उनले ज्ञापन पत्र लिँदै सबैलाई जानकारी गराईन् ।

इटहरी उपमहानगरपालिकाको ‘जनता पार्क इटहरी’ कार्यक्रम शिलान्यास हुनु भन्दा अगावै विवादमा परेको छ । इटहरी उपमहानगरपालिकाले मंसिर २० गते मुख्यमन्त्रि शेरधन राईबाट जनता पार्क इटहरी शिलान्यास कार्यक्रम गर्ने जनाएको छ ।