बेलबारी  । स्थानीय तहहरुको सिमांकन नहुँदा अहिले त्यसको अशर देखिन थालेको छ । सिमाना स्पष्ट नहुँदा मोरङको विभिन्न स्थानीय तहका खोलाजन्य पदार्थ उपयोगको क्रममा विवाद उत्पन्न भएको छ ।
स्थानीय तहहरु आआफ्नो क्षेत्रभित्र पर्ने खोलाहरुको ठेक्का लगाई सकेका छन् । तर सिमाना स्पष्ट रुपमा नहँदा अहिले कर संकलनकालागि ठेकेदारहरुलाई समस्या भएको छ । विशेष गरेर मोरङका एउटै खोलाले धेरैवटा स्थानीय तहहरुलाई छोएको छ । ति खोलाको नक्सा र सिमांकन नभएका कारण अहिले उपभोगको क्रममा विवाद उत्पन्न भएको हो ।

मोरङको केराबारी गाउँपालिका र बेलबारी नगरपालिकाको विवाद पनि यहि हो । केराबारी ९ र बेलबारी १ लाई छुट्याउने सिमाना लोहोन्द्रा खोला नै हो । तर उक्त खोला क्षेत्रको भाग कुन स्थानीय तहमा कति पर्छ भनेर स्पष्ट नहुँदा अहिले गिटी बालुला निकासीमा समस्या उत्पन्न भएको हो ।

यस्तै समस्या बेलबारी नगरपालिका र ग्रामथान गाउँपालिका बीच पनि देखिएको छ । बेलबारी नगरपालिका हुँदै बग्ने लोहोन्द्रा खोला ग्रामथान गाउँपालिकामा पनि पर्दछ । सो क्षेत्रमा पनि कर संकलनमा समस्या उत्पन्न भएको छ । उक्त विषयमा इलाका प्रहरी कार्यालय बेलबारीमा स्थानीय ठेकेदारहरुले उजुरी समेत गरेका छन् । खोला ठेक्का लगाउन अघि सिमांकन नगरेको हुँदा उक्त समस्या देखा परेको छ ।


यसैबीच जिल्ला समन्वय समिति मोरङले केराबारी,बेलबारी र सुन्दरहरैंचाको खोलाहरुको अवलोकन गरेको छ । स्थानीय तहले खोला ठेक्का लगाएपछि वातावरीण प्रभाव मुल्यांकन अनुरुप खोला उत्खनन् भए नभएको हेर्ने समितिले अनुगमन गरेको हो । समितिले वन क्षेत्र र चुरेक्षेत्रमा उत्खनन्लाई कडाई गरेको छ । केराबारी गाउँपालिकाले खोलामा मिसिन प्रयोग गर्ने बारे अनुमति नलिएको हुँदा भलुवा खोलाको उत्खनन् रोकेको छ ।