कही नभएको जात्रा हाडी गाउँ’ भने झै नापी र मालपोत कार्यालयहरुमा कही नभएको जात्रा हुने गरेको छ ।

जनतालाई सुलभ र चुस्त सेवा दिने भनेर सरकारले सबै कार्यालयहरुमा डिजिटलाईज गरेको छ । जनतालाई छिटो सेवा दिन यस्तो राज्यले व्यवस्था गरे पनि नापी तथा मालपोत कार्यालयहरुमा भने कम्प्युटर प्रणालीलाई दोष दिदै झन जनताको काममा ढिलासुस्त गर्ने प्रवृति बढेको छ ।

मोरङको बेलबारी नापी शाखा एउटा उदाहरण हो । कार्यालयको अस्तव्यस्त प्रणालीले समयमा सेवाग्राहीले समयमा सुविधा लिनबाट बञ्चित हुनु परेको छ । सरकारले जनताको काम छिटो र दुरुस्त गर्न दिएको निर्देशनलाई अटेर गर्दै टाडाबाट आएका सेवाग्राहीलाई दिनभरी अल्मलाउनु किमार्थ राम्रो मान्न सकिदैन ।

‘सरकारी कर्मचारीको जनताको काम कहिले जाला घाम’ भन्ने उखान चरितार्थ हुने गरि गरिएको कामले जनताले भरपर्दो र सर्वसुलम रुपमा सेवा पाउने आशा गर्न सकिदैन् ।

सरकारी कार्यालयहरुमा आवश्यकता भन्दा बढि कर्मचारी रहेका हुन्छन् । व्यवस्थित कार्य प्रणाली अपनाउन नसक्दा जनशक्ति हुदा हुदै पनि जनताले समयमा सेवा लिनबाट बञ्चित हुदै आएका छन् । बेलबारी नापी शाखाको समस्या पनि यसकै उदाहरण हो ।

भएका जनशक्तिलाई उपयोग नगरि गैरजिम्मेवारपूर्ण कार्यप्रणालीले जनताले दुख पाउदै आएका छन् । यस्तो प्रवृति भएका कार्यालयहरुमा राज्यको सम्बन्धित निकायले बेला बेलामा अनुगमन गर्नु पर्दछ ।

टोलटोलमा सिंहदरबार आएको जनताले अनुभूति गर्न नसक्नु विडम्बना हो । सरकारले आफ्ना माताहतका कार्यलयहरुले कसरी जनताको सेवा सुविधा प्रदान गरिरहेका छन् भन्ने कुरा अनुगमन संयन्त्र बनाएर नियमित अनुगमन गरि सरकारी काममा ढिलाई गर्ने कर्मचारीहरुलाई स्पोटमा कारवाही गर्ने हिक्मत दुईतिहार्इ बहुमत भएको सरकारले गर्नु पर्दछ ।

अन्यथा जनतालाई ‘जुन जोगी आए पनि कानै चिरेकाे’ भन्ने भान पर्ने छ ।