भद्रपुर/झापामा पहिलो पटक बालुवामाथि भलिवल प्रतियोगिता हुने भएको छ । आउँदो पुस ५ र ६ गते नगरपालिका अन्र्तगत भद्रपुर वडा कार्यालय ५ को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

नेपालको पूर्वी सीमानामा रहेको मेची नदी समस्या र चुनौतीमात्र नभइ अवसर पनि हो भन्ने उद्देश्य लिएर प्रतियोगिताको आयोजना गर्न लागिएको वडाध्यक्ष बन्धु कार्कीले जानकारी दिए ।

वडा नम्बर ५ मा मेची नदी किनार नै बढी भएकोले वडावासी लगायत समग्र देश वासीलाइ परिचित गराउन अन्र्तराष्ट्रिय मानव एकता दिवसको दिन बालुवामाथि भलिवल खेलाउने सोच आएको अध्यक्ष कार्कीको भनाइ छ ।

वडा कार्यालयले आइतबार भद्रपुर नगरको सभा हलमा पत्रकारसहित राखेको छलफल कार्यक्रममा ‘अन्तर वडा स्तरीय भद्रपुर मेची रिभर साइड विच’ भलिवल प्रतियोगिता नामाकरण गरेको छ ।

मेची नदीमा बालुवामाथि भलिवल खेलाएर भद्रपुरलाइ थप परिचत बनाउन सबैले आ–आफनो क्षेत्रबाट हौशला बढाउने छलफलमा सहभागिले जनाएका थिए ।

प्रतियोगितामा विभिन्न जनचेतना मुलक नारा व्यानर तथा वडाले उपलब्ध गराएर पठाएको जर्सीमा उल्लेख गरिनेछ । एउटा वडाबाट चारजनाको टिम सहभागि हुनेछ ।

भद्रपुरमा १० वडा रहेका छन् । खेलमा सहभागि हुने विधान भने खेल प्रशिक्षक, सांसद,विभिन्न सङघ संस्थासहित वनेको सल्लहाकार समितिले तय गरी वडा कार्यालयमा पठाएको आधारमा वडाले खेलाडी छनौट गरि पठाउने कार्कीले जनाएका छन् ।

प्रतियोगितमा सफल हुने प्रथम टिमलाइ मुना चियाले २५ हजार,भद्रपुरका अजय साहेवालाबाट दोस्रो पुरस्कार १५ हजार र तेस्रो ८ हजार पुरस्कारको लागि आँगन मसाला उद्योगले उपलब्ध गराउने भएको उनले जनाए ।

खेलमा म्यान अप द म्याचका लागि २ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

खेल मैदानको पूर्वाधार निर्माणमा वडा तथा नगरले खर्च व्यवस्थापन गर्ने र खेलसम्पन्न गर्नका लागि एक देखि डेढलाखसम्म खर्च हुने अनुमान गरिएको आयोजक समितिका संयोजक एवम वडाध्यक्ष कार्कीले जनाएका छन् ।

एक महिना अघि ८ नम्बर वडा कार्यालयको आयोजनामा ‘भद्रपुर रन’ को प्रतियोगिता सम्पन्न भएको थियो ।