पछिल्लो समय विकास र समृद्धिको कुरा आवश्यकता भन्दा बढीनै भइरहेको महशुस हुन्छ । यो साझा सवाल बनि रहेको छ । वास्तवमा कुनै पनि वस्तु वा व्यक्तिको आकार, चरित्र र विशेषतामा आउने परिवर्तनलाई नै विकास भनिन्छ ।

सार्वभौमतः यो अघिल्लो भन्दा गुणात्मक रुपमा नै फरक हुन्छ ।

अर्थात वस्तु वा व्यक्तिको बढ्ने र परिवर्तन हुने प्रक्रियानै विकास हो । यो एउटा विशेषताको घटना र परिस्थितिबाट अर्को विशेषतामा रुपान्तरण हुने आन्दोलनको प्रक्रिया हो ।  यसले पुरानो विशेषता, बुझाई र मनोविज्ञानलाई पनि रुपान्तरण गर्दछ ।

यसमा भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, साँस्कृतिक विकास, भाषिक विकास, वौद्धिक विकास, चिन्तन विकास अनि मनोवैज्ञानिक विकास जस्ता समग्र विकासका विविध पक्षहरु अन्तरनिहीत हुन्छ । यसैको सपाट र सग्लो रुपनै विकास हो ।

यता समृद्धि शव्दावलीको प्रयोग पनि असाध्यै धेरै भइरहेकोछ । यो ल्याटिन भाषाको ‘प्रस्पीरस’ बाट उत्पति भएको हो । यसको अर्थ राम्रो गर्नु भन्ने हुन्छ । अर्थात राम्रो गर्दै जानेक्रमको लामो प्रक्रिया पछि प्राप्त हुने चरम सुख, शान्ति, वैभब र एकरुपता नै समृद्धि हो ।

विकास र समृद्धि परिपूरक पदावलीहरु हुन् । यद्यपि यिनीहरु विचको सारभूत अर्थ धेरै भिन्न रहेकोछ । कतिपयले यसलाई एउटै फुर्लुङ्गमा कोचेर विश्लेषण गर्नेगरेको पनि पाइन्छ । तर सारतः विकास र समृद्धिमा धेरै अन्तरछ ।

कुनैपनि खास मानव समाजमा सबैखाले वा समानुपातिक विकास एउटा विन्दुमा पुगेपछि अभिव्यक्त हुने उच्चतम वा उन्नत सामाजिक रुपनै समृद्धि हो । यसमा समानता र न्यायमा आधारित शुन्दरता, शान्ति, एकरुपता र वैभव अन्तरनिहीत हुन्छ ।

अर्थात भौतिक, राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र मनोवैज्ञानिक विकास प्रक्रियाको उन्नत वा उच्चतम अभिव्यक्ती वा अवस्थानै समृद्धि हो ।

वस्तुतः विकास र समृद्धि नेपाल सरकारको केन्द्रीय नीति हो । यद्यपि विकासका धेरै पाटा पक्षहरु पुरा नगरी समृद्धिमा सङ्क्रर्मण संभव हुँदैन । विकासलाई भौतिक संरचना निर्माणसँग मात्र दाँज्ने गरिन्छ, जुन असाध्यै गलत हो ।

सवै क्षेत्रको समानुपातिक विकास प्रक्रिया विना उचीत सामाजिक उत्पादन सम्बन्धको विकास गर्न सकिन्न । समाजको लागि वस्तुवादी र व्यवहारिक उत्पादन प्रणाली विना पूर्ण आकारमा विकास संभव हुँदैन । पूर्ण आकारको विकास प्रक्रिया विना समृद्धी कल्पनै गर्न सकिन्न ।

अर्थात पूर्वाधार विकासको अवधारणाले मात्र सर्वाङ्गीण विकासको प्रतिनिधित्व गर्दैन । पछिल्लो समय विकासलाई केवल ठूलाठूला भौतिक संरचना विकासमा सिमित गरिदैछ, जुन विकास सम्वन्धि गलत अवधारणा हो । यो विकास प्रतिको दृष्टिूकोणीय अपव्याख्या हो ।

पछिल्लो समय अवस्तुवादी र अव्यवहारिक किसिमले विकास र समृद्धिको कुरा उठाउन थालिएकोछ । बुझ्ने, नबुझ्ने अनि जिम्मेबार वा गैरजिम्मेबार सबैले यसको उच्चारण व्यापकरुमा गर्न थालेकाछन् । मानौं यसो भनिएन भने वा गरिएन भने आफ्नो अस्तित्वनै सकिदैछ जस्तो गरेर यसको पछि लाग्ने काम भइरहेकोछ ।

वस्तुवादी योजना र उद्देश्यमा भन्ने र गर्ने कुरा एउटा हो भने हावाकै भरमा आश्वासन बाँड्ने वा भाषण गरिहिड्ने अर्को कुरा हो । यहाँसम्म कि विकास र समृद्धिको एकोहोरो नाराले हरेक मान्छेको मनोविज्ञाननै अलि ठूलो भौतिक संरचना निर्माणसँग मात्र सिमित देखिन्छ ।

उनीहरुमा सो भौतिक संरचना अर्थशाष्त्रीय कोणमा गरिने उपयोगिता वा नाफा नोक्शानको ग्राफमा उतारेर हेर्ने न्युनतम चेतना देखिन्न । आफ्नो अर्थराजनीतिक सम्बन्ध वा आर्थिक उत्पादन प्रक्रियामा के कति उपयोगी हुन्छ भनेर वस्तुवादी किसिमले छलफल र बहस गर्ने अवस्था छैन ।

उल्टै यसो भन्दा विकास विरोधीको बिल्ला लाग्नु वेर छैन ।

मुलतः ठूलो, अग्लो, लामो र फराकीलो संरचना विकासमा मात्र एकोहोरिएको छ हाम्रो लम्पट विकासे चिन्तन् । हुनत यो पनि विकासको एउटा महत्वपूर्ण पक्ष अवश्यनै हो । यसमा दुइमत छैन । तर हामी यसको अर्थशाष्त्रीय फाइदा वा बेफाइदामा अनभिज्ञ छौं ।

उदाहरणको लागि छ वा आठ लेनको सडक बनाउने प्रसङ्ग । कुनै राजनीतिकर्मी वा इन्जिनीयरहरुले विदेशमा कही देखेर आएकै भरमा तालवेताल अग्लो भवन र चौडा सडक निर्माणको हचुवा निर्णय गर्न पुग्छन ।

वास्तवमा चौडा सडक भनेको निश्चीत आर्थिक कोरीडोरहरुलाई लक्षित गरेर बनाउनु पर्दछ । खास आर्थिक कोरीडोर अन्तरगत राष्टिूय तथा अन्तरराष्ट्रिय व्यापार, उत्पादीत वस्तुको आयतन, यसको आयत, निर्यातको अवस्था लगायत समग्र आर्थिक तथा सामाजिक गतिविधिहरुको सपाट मापन र अध्ययन गरेर मात्र सडक विस्तार गर्नु वस्तुवादी हुन्छ ।

तर उनीहरुले सो चौडा सडकमा कति चापमा कति भार वोकेको सवारी साधन गुडाउनु आवश्य हुन्छ ? सडकको लम्बार्इ कति छ ? सडक चौडा गर्दा कति उर्वर जमिन खर्च भइरहेकोछ ? ट्राफिक व्यवस्थापन कति हुन्छ ? वस्तुवादी मापन नगरी नै धेरै लेनको सडक बनाउनु नै विकास हो भन्ने बनिबनाउ मनोविज्ञान हावी भइरहेकोछ ।

यसले हामीलाई फेद न टुप्पोको बनायो भने अन्यथा हुने छैन ।

मुलतः नेपाल जस्तो विकासको पूर्वाधारहरु कम भएको मुलुकमा सानो आकार तर आममा विकास गर्न सकिने वस्तुवादी र व्यवहारिक विकास अवधारणा अङ्गीकार गर्न जरुरी देखिन्छ । विदेशमा देखेर वा देखाएकै भरमा एकैचोटी अव्यवहारिक ठूला संरचना निर्माणमा जानु हुँदैन ।

आफ्नो अर्थराजनीतिक सम्वन्ध सुहाउँदो उत्पादन प्रणालीलाई सवल र सशक्त वनाउने तर्फ समग्र विकास नीति परिलक्षित हुनुपर्दछ ।

किनकी विकास भनेको क्रमिकरुपमा उन्नत हुँदैजाने प्रक्रिया हो ।

अर्थात आजै हामीले चिनले जस्तो सबैभन्दा लामो सुरुङ, सबैभन्दा लामो पुल, सबैभन्दा लामो रेलवे लाइन अनि सबैभन्दा चौडा राजमार्ग बनाइहाल्ने किसिमले योजनाहरु बनाउनु हुँदैन । यो वस्तुवादी र व्यवहारिक हुँदैन ।

यो त केवल लम्पट विकासे बनिबनाउ चाहना माथि भावनात्मक व्ल्याकमेलिङ्ग गर्ने अष्त्र मात्र बन्दछ ।  चुनावी मसलामा सिमित हुन्छ, जुन आज हामीले भोगीरहेकाछौं । किनभने भौतिक संरचना विकासले मात्रै समाजको सर्वाङगीर्ण विकास संभव हुँदैन ।

यो सँगसँगै अन्य राजनैतिक, आर्थिक, सामाजिक, प्राविधिक, साँस्कृतिक, वौद्धिक, मनोवैज्ञानिक वा चिन्तन र चतनागत विकासमा पनि समानुपातिकरुपमा ध्यान दिनुपर्दछ । विकास र समृद्धि पछिको न्यायपूर्ण पहुँच, वितरण र अवसरमा ध्यान दिनु प्राथमिक सवाल हुन्छ ।

नेपालमा पछिल्लो समय भौतिक संरचना निर्माणलाई मात्र विकास मान्ने प्रवृत्ती हाबी छ । यहाँ राजनैतिक, आर्थिक, सामाजिक, प्राविधिक, साँस्कृतिक र मनोवैज्ञानिक विकासमा ध्यान दिएको अवस्था छैन । अर्थात विकासलाई मानव समुदायको समग्र विकाससँग एकाकार गरिएको छैन ।

यस्तो एकलकाँटे विकास अवधारणाले हामीलाई समृद्धि तर्फ दिशानिर्देक गर्दैन ।

यसले बनेको भौतिक संरचनालाई उचीत किसिमले प्रयोग र परिचालन गर्ने चिन्तनगत हैसियत पनि हामीसँग हुँदैन । तव लगानीकर्ताले छाडेर गइसकेपछि त्यसको व्यवस्थापन र परिचालन समस्या नबन्ला भन्न सकिन्न ।

दाताले सधै ठूलाठूला भौतिक संरचना बनाइदिरहने हामी चाँही तिन फिट उफ्रदै उपभोग गरिरहने भन्ने हुँदैन ।  किनकी सहयोग भनेको पथप्रदर्शन मात्र हो । तर उपभोगवादी सँस्कृतिले भने यस्तै अवस्तुवादी, अव्यवहारिक र काल्पनिक कुराहरुको साहरा लिएर सपनाको महलहरु बनाउदछ ।

सरकार र दाताले दिइरहोस हामी उपभोग गरिरहनु पाइयोस । दुख र कष्ट पनि गर्न नपरोस भन्ने उपभोगवादी चिन्तनद्वारा ग्रसित हुन्छन् । आत्मकेन्द्रीत एकाङ्गी अधिकार उपभोगको कुरा मात्र गर्दछ भने राज्य वा समाज प्रतिको दायित्वलाई नजरअन्दाज गर्दछ ।

बरु यस्तै हावादारी गफको पछिपछि हिड्नुलाई नै महानता र सफलता देख्दछ । तर वस्तुगत धरातल उनीहरुले सोंचे र कल्पना गरे जस्तो पटक्कै छैन ।  त्यसैले विकास भनेको भौतिक संरचना निर्माण मात्र होइन ।

यो खास समाज भित्र रहेको समुदायहरुको समानुपातिक विकाससँग जोडिएको अर्थराजनीतिक सवाल हो । यसमा व्यक्तिको सवै पक्षहरुको विकास अंश हो भने समुदाय वा मुलुकको विकास समग्र हुन्छ । भौतिक पूर्वाधार विकास एकल हो भने राजनीतिक, आर्थिक, प्राविधिक, सामाजिक, साँस्कृतिक, मनोवैज्ञानिक, चिन्तन र चेतनागत विकास समग्र हो ।

सवै पक्षहरुको सर्वाङ्गीण र समानुपातिक विकासनै समाजको साँचो विकास हो ।

अर्थात वस्तुगत परिवेशसँगै आत्मगत परिवेश निर्माण जरुरी हुन्छ । अन्यथा विकसित वस्तुगत धरातलको आवश्यक्तालाई पुरानो आत्मगत अवस्था, प्रविधि र ज्ञानले नयाँ वस्तुगत परिवेशलाई सही किसिमले व्यवस्थापना र नियन्त्रण गर्न सक्दैन । अर्थात भौतिक विकाससँगै आत्मगत रुपान्तरण पनि अनिवार्य हुन्छ ।

तवमात्र विकासको प्रगतिशील चरित्रलाई समयसापेक्ष गतिशील राख्न सकिन्छ ।

वस्तुतः विकासको सवैभन्दा उन्नत र विकसित रुप नै समृद्धि हो । तर यो भौतिक संरचना विकासले मात्र पुरा हुँदैन । यसको लागि भौतिक परिवेशसँगै अन्य आत्मगत परिवेशहरु पनि विकास हुँदै जानु अनिवार्य हुन्छ । भौतिक संरचनाको एकल विकासले मात्र समृद्धी संभव हुँदैन ।

यसको लागि समाजको सर्वाङ्गीण विकास पहिलो शर्त हो । राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, प्राविधिक, मनोवैज्ञानिक र चिन्तनगत अधिकारहरुको संस्थागत परिपक्व रुपनै समृद्धि हो । समाजको समानुपातिक र सर्वाङ्गीण विकास विना सवै वर्ग, जाती, क्षेत्र र लिङ्गको समग्र र समान विकास संभव हुँदैन ।

विकासको समान पँहुच विना समानता र न्याय सुनिश्चीत हुँदैन । न्याय र समानता विना शान्ति, सद्भाव र एकरुपता कायम हुँदैन । शान्ति, सद्भाव र एकरुपता विना समृद्धीको कल्पनै गर्न सकिन्न । यसकारण समग्र र समानुपातिक विकासमा जोड गर्दै समृद्धिको यात्रा तय गरौं । यसैमा हामी सवैको कल्याण अन्तरनिहीतछ ।