नेदरल्याण्डमा विशेषज्ञहरूको सहभागितामा सञ्चालनमा रहेको पियुएम (PUM) संस्थाले विभिन्न देशमा विगत ४० वर्षअघिदेखि आर्थिक तथा सामाजिक उन्नतिमा स्वयम् सेवकको रूपमा सहयोग गर्दै आएको छ । कृषी, अस्पताल, उद्योग, शिक्षालगायतका क्षेत्रमा रहेको जनशक्तिलाई तालिम र सेमिनारमार्फत् थप ज्ञान प्रदान गर्दै आएको सो संस्थाकी विशेषज्ञ एल्स रोयस्ट डी–वेकर यसै सिलसिलामा इटहरी आएकी छन् । स्किल कलेज इटहरीको निमन्त्रणामा इटहरी आएकी एल्सले यहाँका उद्योगी व्यवसायी, इटहरी उपमहानगरपालिका कर्मचारी, जनप्रतिनिधिलगायतसँग पनि भेटघाट एवम् छलफल गरेकी छन् । संस्थाको विषयमा तथा हालसम्म सामाजिक क्षेत्रमा संस्थाले गर्दै आएको कामका विषयमा ब्लाष्ट खवर डटकमका लागि बाबुराम सुवेदीले गरेको कुराकानीको सारः

  • तपाईहरुले सञ्चालन गरेको संस्थाले खास के काम गर्छ ?

 हाम्रो संस्था नेदरल्याण्ड सरकारको प्रत्यक्ष सहयोगमा सञ्चालित संस्था हो । विभिन्न विषयका विज्ञको सहभागितामा यो संस्थाले स्वयंमसेवकको रूपमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । नेपालमा पनि केही वर्षअघिदेखि काम गर्दै आएका छौं । यसै सन्दर्भमा म इटहरी आएकी हुँ । हाम्रो संस्थामार्फत् शिक्षा, स्वास्थ्य, व्यापार, कृषीलगायतमा भएका जनशक्तिलाई थप प्रभावकारी काम गराउनका लागि तालिम र सेमिनारमार्फत् सहयोग गर्दै आएका छौं । अहिले ३० वटा देशमा हामीले काम गर्दै आएका छौं । हामीसँग दुई हजारभन्दा बढी विषय विज्ञहरू विभिन्न देशमा रहेर काम गर्दै आउनु भएको छ ।

  • नेपालको प्रदेश नम्वर १ मा यहाँहरूले गर्ने सहयोग के हो ?

 हामीे नेपालका विभिन्न स्थानमा काम गरिरेहका छौं । एक नम्वर प्रदेशमा हामीले गर्न सक्ने सहयोग पनि अन्य स्थानको जस्तै हो । हामीले कुनै आर्थिक सपोर्टमा त्यति जोड दिदैनौं । हामीले जस्तो विद्यार्थीलाई भन्दा पनि शिक्षकहरूलाई तालिम प्रदान गर्दै आएका छौं । न की एक जनालाई दिएको ज्ञानले धेरैलाई सहयोग पुगोस् ।

  • तपाईहरूको संस्थाले गर्ने खास काम चाही के हो ?

 हामीले निःशुल्क रूपमा तालिम प्रदान गर्ने हो । कुनै पनि संस्थामा काम गर्ने कर्मचारी वा सञ्चालकलाई तालिम प्रदान गरी गर्दै गरेको काममा थप दक्ष बनाउने हो । नयाँ काम गर्न चाहानेहरूको लागि विजिनेश प्लानको बारेमा पनि ट्रेन गर्नेछौं । त्योभन्दा पनि हामीले कुनै पनि काम गर्न चाहानेहरूको लागि कार्ययोजना तयार गरिदिएर त्यसबाट हुने फाइदा र दक्षताका बारेमा काम गर्ने वातावरण बनाउन सहयोग गर्ने छौं ।

  • इटहरी चाहिँ कसरी आउनु भयो ?

 इटहरीको स्कील कलेजले मलाई यहाँ आउने अवसर जुटाएको हो । म धेरै खुसी छु । यस क्षेत्रका विभिन्न व्यक्तिहरूसँग छलफल गर्ने वातावरण भयो । इटहरीमा सञ्चालित स्कील कलेजले जुन हिसावले योजना बनाएर काम गरिरहेको पाएँ, एकदमै खुसी लाग्यो । संस्थालाई अझ मजबुत बनाउन केही टिप्सहरू दिइएको छु । आशा छ यो संस्थाले आगामी दिनमा अझ धेरै प्रगति गरेर जाने छ ।

  • नेपालमा यहाँले काम गर्दै गर्दा यहाँका जनताको आर्थिक उपार्जनमा के गर्न सकिन्छ भन्ने लाग्यो ?

 नेपालमा काम गर्ने हो भने धेरै सम्भावना छन् । फोहोर व्यवस्थापनको कामबाट धेरै लाभ लिन सकिन्छ । हाइड्रोपावर, शिक्षा, व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ । विशेष गरी नेपालीहरुले काम गर्दा खेरी एक अर्कामा शेयर गर्ने बानी कम छ । आफूमा भएको ज्ञान सीप आफैमा सीमित राख्ने नेपालीको बानी छ । आफूले जानेको ज्ञान सीप अरूलाई शेयर ग¥यो भने त्यसले थप लाभ दिने छ । जति श्रम गरिरहनु भएको छ । त्यसमा केही दिमाग लगाएर नयाँ तरिकाबाट त्यही काम गर्नुभयो भने त्यसबाट नसोचेको फाइदा पुग्नेछ । त्यसपछि यहाँका जनता मात्र होइन राष्ट्रमै आर्थिक उन्नतिमा पुग्नेछ ।