जनकपुरधाम । जनकपुरमा एक कार्यक्रम बीच अरुणकान्तद्वारा अभिनित मैथिली भिडियो गीत ‘दिल के बात’ विश्वकै ठूलो संगीत कम्पनी टी–सेरिजबाट रिलिज भएको छ ।

उक्त एल्बम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले विमोचन गरे । विमोचनका क्रममा मन्त्री यादवले प्रदेश २ समृद्ध नभए मुलुक समृद्ध हुन नसक्नेमा जोड दिए । मुलुकमा संघीयता आएसँगै प्रदेश २ कुनै पनि गतिविधिमा पछि रहनु नपर्ने तथा हरेक क्षेत्रका विकास अपरिहार्य रहेकोमा जोड दिए ।

जनकपुरधाममा गायक रञ्जित शर्मा र गायिका इशिका भुजेलको स्वर रहेको मैथिली भिडियो गीत ‘दिलके बात’ को सार्वजनिक गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री यादवले यस्तो बताएका हुन् । एम्बम विमोचन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री यादवले कला क्षेत्रको विकासका लागि प्रदेश सरकारले उल्लेखनीय लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले भने कला क्षेत्रमा लागेका यहाँका युवाले गरेको अपेक्षाअनुसार प्रदेश सरकारले सहयोग गरेपछि प्रदेश २ अन्य प्रदेशको तुलनामा उत्कृष्ट र समृद्ध बन्ने विश्वास व्यक्त गरे । उनले कला र संचार क्षेत्रको विकासका लागि यही साता एकीकृत संचार विधेयक सदनमा पेश गरिने पनि बताए ।

Bimochan-maithile-geet

उनले विधेयक पास भएपछि यो प्रदेशमा चलचित्र विकास बोर्डसमेत गठन हुने जानकारी दिए । उनले समृद्धिको आधारमध्ये संगीत पनि पर्ने गरेकाले पनि कला क्षेत्रको विकास गर्न जरुरी भएको बताए ।
‘जनताको मुखमा मुस्कान आए मात्र समृद्धिको एउटा सपना पूरा हुन्छ’, उनले भने, ‘त्यसैले पनि यस क्षेत्रको विकास गर्न चाहेका छौं ।’ विगत जस्तै अब आर्थिक अभावका कारण कोही कलाकार विस्थापित हुनु नपर्ने नीति ल्याउन लागेको उनको भनाइ छ ।

गायक रञ्जित शर्मा र गायिका इषीका भुजेलले ‘दिल के बात’ भिडियो एल्बममा स्वर दिएका छन्। मोडलिङ पनि उनीहरुले नै गरेका छन्। सुरेन्द्र शर्माको रचना एवम् अभिषेक पाण्डेको संगीत रहेको यो एल्बममा दिनेश ठाकुरले भिडियो निर्देशन गरेका छन् । अक्षय यादव (विजय)द्वारा निर्मित यो एल्बमलाई रोशन साहले रेकर्ड गरेका हुन् ।

कार्यक्रममा उपमहानगरपालिकाका मेयर लालकिशोर साह, विभिन्न वडाका वडाध्यक्षहरु, राजनीतिकर्मी, व्यापारी, स्थानियवासी, संचारकर्मी लगायतका उपस्थित रहेको थियो ।