विराटनगर/पछिल्लो समय झुटा कागजपत्रहरू पेश गरि नागरिकता सिफारिस लिने गरेको खुलसा भएपछि बितरण प्रणालिमा जिल्ला प्रशासन कार्यालयले कडाई गरेको छ ।

विराटनगर महानगरपालिका १ मा दलालको प्रभावमा परेर जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा गैर नागरिकलाई नागरिकताको सिफारिस गरि नागरिकता दिलाएको खुलसा भएपछि कडाई गरिएको बताइएको छ ।

विराटनगर महानगरपालिकाले पनि सर्जिमन गर्दा होस् वा सिफारिस गर्दा पनि गम्भीर भएर गर्न सबै वडा कार्यालयलाई निर्देशन दिएको छ ।

‘वडा सदस्य तथा वडा अध्यक्षलाई प्रभावमा पारेर प्रक्रियागत कागत मिलाएर भारतीय नागरिकले नागरिकता लिने अवस्था आएपनि चनाखो हुनुपर्ने बाध्यता आएको छ,’ महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले भने, ‘हामी सबैलाई यो घटनाले पाठ सिकाएको छ ।’ जिल्ला प्रशासन कार्यालय पनि नागरिकता वितरणमा संवेदनशील भएको जनाएको छ ।

‘नक्कली बावु बनि भारतीयलाई नागरिकता बनाउने सत्यनारयण पोद्धारलाई जिल्ला प्रशासन कार्यालयकै निगरानी र अनुसन्धानले पक्राउ गर्न सफल भएको हो,’ मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले भने, ‘नागरिकता छिटो र सुलभ ढंगले दिनुपर्ने बाध्यता जिल्ला प्रशासन कार्यालयलाई भए पनि छिटो सेवा प्रवाह गर्ने नाममा भूलचुक हुनु नहुने गरि शंकास्पद कागजात पेश भएको भए स्थानीय तहका जनप्रतिनिधिको सिफारिस तथा सर्जिमिन मुचुल्कालाई पनि अनुसन्धान गर्ने गरी कर्मचारीलाई जिम्मेवार बन्न निर्देशन गरेका छौं ।’

नागरिकता राज्यले व्यक्तिलाई दिने कानुनी परिचय हो ।

त्यही नागरिकता लिनका लागि पोद्धारले विराटनगर १ नम्बर वडा सदस्य रमेश साहलाई २२ हजार रुपैयाँ दिएर सम्पूर्ण कागजपत्र जुटाउने व्यवस्था मिलाइ दिने गरेका थिए ।

जनप्रतिनिधिलाई प्रभावमा पारेर आफ्नो स्वार्थ सिद्ध गरिरहेका थिए ।

यसखालका घटना हुन नदिन र अन्य घटना पनि भएका छन् कि भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय आफैं पनि अनुसन्धानमा रहेको प्रजिअ केसीको भनाइ छ ।