ब्लाष्टखबर । धरान नेपाली संगीत क्षेत्रका सम्मानीय तथा लोकप्रिय गायक दीप श्रेष्ठले संगीत क्षेत्रमा लागेको पचास वर्षको उपलक्ष्य पारी नेपाल क्लब, हङकङले दीप श्रेष्ठ स्वर्णिम साँझ २०१८ आगामी डिसेम्बर ३० तारिकका दिन हङकङको यामुताई कम्युनिटी हलमा आयोजना गर्ने भएको छ ।

बुधबार हङकङस्थित हङकङ नेपाली महासंघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल क्लबहङकङकी अध्यक्ष रिता गुरुङले भव्य रुपमा आयोजना हुने कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ आफ्नो सांगीतिक समूहसहित आफ्ना नयाँ तथा पुराना गीतहरू गाएर आफ्नो ५० औं सांगीतिक उत्सव हङकङवासी नेपालीहरूमाझ प्रस्तुत गर्नेछन् ।

पूर्वी नेपालको धरानका स्थायी बासिन्दा दीप श्रेष्ठले १४ वर्षको उमेरदेखि नै पूर्वमा हुने विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा भाग लिरहन्थे । यसैक्रममा २०२५ साल पुष महिनामा सांस्कृतिक कार्यक्रम लिएर धरानबाट काठमाडौं आएका दीप श्रेष्ठले राष्ट्रिय नाचघरमा तत्कालीन राजा महेन्द्रका सामु गीत गाउने अवसर पाएका थिए ।

उनको गायन कलाबाट मोहित राजा महेन्द्रले तत्कालै आफूले मन लागेजति गीत रेडियो नेपालमा रेकर्ड गर्ने व्यवस्था गरिदिए । त्यो समयमा रेडियो नेपालमा पालो कुर्नु पर्ने समयमा उनले ‘म पत्थरको देउता होइन’ लगायत ६ वटा गीत रेकर्ड गराए । जुन निकै लोकप्रिय भए ।

त्यसपछि पछाडि फर्कनु नपरेका वरिष्ठ गायक श्रेष्ठले अहिले २०७५ सालमा आफ्नो सांगीतिक आरोह–अवरोह पार गरेको पचास वर्ष लागिसकेको छ । ‘म त दूरदेखि आएँ’, ‘बिधुवाको सिउँदो’, ‘हर रात सपनीमा’, ‘मेरो आँखामा’, ‘बितेका कुराले’, ‘कति कमजोर रहेछ भाग्य’, ‘झिरमा उनिनु’, ‘भन्थिन मेरी उनी’, ‘साइँलीबारी चिया बारीमा’, ‘हुँ यात्री एउटा’ लगायतका थुप्रै कालजयी गीतहरूमा स्वर–संगीत दिएका छन् ।

गायक श्रेष्ठलाई युगल गीतहरूमा साथ दिन उनकी छोरी गायिका दृष्टी श्रेष्ठ उपस्थित हुनेछि । उद्घोषणमा मिस पूर्वाञ्चल २०१६ र मिस ग्रान्ड इन्टरनेसनल नेपालकी फस्र्ट रनरअप तथा धरानको विजयपुर एफएमकी आरजे इक्सा मादेन सहभागी हुनेछिन् ।

गायक दीप श्रेष्ठको सांगीतिक क्षेत्रमा योगदान दिएको ५० औं वर्षगाँठलाई आयोजक नेपाल क्लब हङकङको वार्षिकोत्सवको अवसरमा आयोजना गर्न पाउँदा गौरवान्वित महसुस गरेको अध्यक्ष रीता गुरुङले बताइन् । उनले हङकङवासी नेपाली संगीतप्रेमीमाझ कार्यक्रम विशेष र स्मरणीय हुने बताइन् ।