उदयपुर /  उदयपुरको रौतामाईकी १३ वर्षीया बालिकाको हत्या आशंकामा पक्राउ परेको मध्य चार जना छुटेका छन् ।  रौतामाई गाउँपालिका वडा नं. ३ लाफागाउँकी १३ वर्षिया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेको मध्ये बुधबार चार जना छोडिएको हो ।  घटनाको रुप संकास्पद पाईए पछि प्रहरीले सुक्ष्म रुपले अनुसन्धान गर्ने क्रममा संकास्पद छ जना युवालाई नियन्त्रणमा लिएको थियो । उक्त मध्ये सोधपुछ, बयानपछि चारजनालाई छाडेको छ भने अनुसन्धानले दुईजना दोषि देखिएपछि थप प्रमाण जुटाउने काम भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए । पिडित परिवारले छोरीको हत्यारा पत्ता लगाई कडा भन्दा कडा कारवाहीको माग गरेको छ । शनिबार हराएकी बालिका आईतबार दिउँसो परिवार तथा स्थानीयले अर्धनग्न अवस्थामा खरबनमा मृत अवस्थामा फेला पारेका थिए । मृत बालिकाको घाँटी थिचेको, मुखमा न्यापकिन (कागज) मुखमा खाँदेको, शरीरका विभिन्न भागमा निलडाम, यौनाङ्ग र मलद्वार समेत छेदन भएकाले उनको बलात्कार हत्या भएको मृतकको बुवा दुर्गाबहादुर खड्काले दाबी गरेका छन् । सामुहिक बलात्कार पछि हत्या भएको हुनसक्ने आशंका छ । घटनास्थल र शबको अवस्था हेर्दा उनको बलात्कारपछि हत्या भएको प्रष्ट रहेको स्थानीय कैलास बस्नेतले बताए । प्रहरीलाई स्थानीयले घटनाको खबर गरे लगतै आइतबार घटनास्थल पुगी प्रहरीले घटनास्थल सुरक्षा घेरामा राखेर भोलीपल्ट सोमबार प्रकृति मुचुल्का उठाई पोष्टमार्टमका लागि शब सदरमुकाम ल्याई धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । शबको मंगलबार पोष्टमार्टम गरी जिल्ला अस्पताल उदयपुरमा लगेर राखिएको छ ।पोष्टमार्टमको रिपोर्ट र अन्य सबै किसिमका प्रमाणहरुबाट अपराधीको एकिन भएपछि सार्बजनिक गरिने प्ररहरीले बताएको छ ।