सिरहा । बैदेशिक रोजगारीमा मलेसियामा रहेका श्रीमानले उतै बिहे गरेपछि सिराहाकी एक महिला बिचल्ली परेकी छन् । सिराहा कर्जन्हा नगरपालिका–११ की अरहुलिया महतो बिचल्लीमा परेकी हुन् । श्रीमान किशुनलाल महतोले इण्डोनेसियन युवतीसँग बिहे गरेपछि उनको बिचल्ली भएको हो । किशुनलाल करिब १५ वर्षदेखि मलेसियामा छन् । करिब १७ वर्षअघि सामाजिक परम्पराअनुसार उनीहरू बाधिएका थिए । विवाह भएको दुई वर्ष नपुग्दै उनी मलेसिया गएका थिए । फर्केर आउने आशामा व्यतित गरिरहेकी अरहुलियाका श्रीमानले दोस्रो विहे गरेपछि उनमा चिन्ता बढेको छ । उनले भनिन् ‘विहेको २ वर्षपछि श्रीमान मलेसिया गयो, मलेसिया गएको २–३ वर्षसम्म केही पैसा पनि पठायो, त्यसपछि पैसा पठाएन्, फोन पनि गर्दैन, विदेश गएको १५ वर्ष भइसकेको छ, खानबस्नसमेत समस्या भएपछि अहिले माइतीमा बस्दै आएको छु ।’

उनले आँसु झार्दै भनिन्, ‘मलाई बालबच्चा पनि छैन, नागरिकता छैन्, नागरिकताको सिफारिसका लागि महिनौदेखि भौतारिदा पनि कोहि बनाई दिएनन्, बडा अध्यक्षले सिफारिस दिएन, तपाइ अधिकारकर्मी, समाजसेवी, पत्रकारहरू सहयोग गरिदिनुस्, नागरिकता भएपछि कुनै रोजीरोटी गरेर जीवनयापन गर्छु ।’ बहिनीको जीवन सुखसँग बित्ला भन्ने विश्वासले विहे गरे पनि अहिले दुःखमा परेको देखेर पछताउनु परेको दाजु राजकुमार महतोले बताए । उनले भने ‘उसको श्रीमान बिदेशमा अर्को बिहे गरेको छ, पैसा पनि पठाउदैन, सासुससुराको मृत्यु भइसकेको छ, केही जग्गा जमिन भए पनि उसकोे दाजुभाइहरूले दिन चाहदैन, नागरिकता पनि बनाई दिँदैन, मैले जिल्ला प्रहरी कार्यालय सिरहाको महिला सेलमा पनि निवेदन दिएको थिएँ तर त्यहाँ पनि केही भएन, श्रीमान बिदेशमा भएपछि हामीले केहि गर्न सक्दैनौं भन्यो ।’

यस विषयमा सामाजिक अभियन्ता सरोज रायले अरहुलियाको घरमै पुगी घटनाबारे जानकारी लिए पनि हालसम्म केही भएको छैन । अरहुलियाको नागरिकताको लागि आफूले पहल शुरू गरिसकेको अभियन्ता रायले बताए । अरहुलियालाई वडा अध्यक्ष कपिल यादबले नागरिकताको लागि सिफारिस दिन नमानेको अभियन्ता रायले बताए । यस विषयमा कर्जन्हाका मेयर गङ्गा पासमानसँग बुझँ्दा उनले नागरिकताका लागि सहयोग गर्ने बताएको उनले बताए । उनले भने, ‘अरहुलियाको नागरिकताका लागि आफूले कानूनअनुसार प्रक्रिया अगाडि बढाउछु, नागरिकता भएपछि श्रीमानलाई बिदेशबाट झिकाउन सजिलो हुनेछ ।’