काठमाडौँ /  वैदेशिक रोजगार कसूर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएक एक व्यक्ति आज जेल चलान भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निर्देशक निरजबहादुर शाहीका अनुसार कात्तिक २२ गते काठमाडौँको पशुपति क्षेत्रबाट पक्राउ परेका दाङका दिनेशचन्द्र डिसीलाई हिजाे काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा डिल्लीबजार कारागार चलान भएका हुन् । दाङको त्रिभुवन नगरपालिका–१० का डिसीलाई सर्वोच्च अदालतको २०७३ भदौ ८ गतेको फैसलाअनुसार एक वर्ष छ महीना कैद र रु एक लाख ५० हजार जरिवाना तोकिएको थियो । फरार हुँदै आएका डिसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले कात्तिक २२ गते काठमाडौँको पशुपति क्षेत्रबाट पक्राउ गरेको थियो । तिहार बिदा सकिएलगत्तै फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा डिसी आजै डिल्लीबजार कारागार चलान भएका निर्देशक शाहीले जानकारी दिए । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतपत्रबिना नै विसं २०६६ मा ब्युटिसियन काममा आकर्षक पारिश्रमिकको लोभमा इटली पठाइदिने भनी दाङकी शारदा घिमिरेबाट रकम लिएको आरोपमा डिसीविरुद्ध मुद्दा दर्ता भएको थियो ।(रासस)