इटहरी/ तिहारमा खेलिने देउसीभैलोको मौलिकता हराउँदै गएको छ । तिहारमा खेलिने देउसीभैलोमा आजभोली र्याप र हिन्दी गीतले गर्दा मौलिकता हराउँदै गएको अग्रजहरूको गुनासो छ ।

देउसीको मौलिकता नष्ट हुँदा अग्रजहरू चिन्तित बन्न पुगेका छन् । क्लब, समुह, सहकारी, तथा जातीय सङ्घसंस्थाहरू मौलिकतामा भन्दा पनि पश्चिमा संस्कृतिका गीतहरूमा रमाउन थालेका छन् ।

गाउँघरमा झिलिमिलि, झिलिमिलि देउसी रेको आवाज गुञ्जन छोडेको भन्दै बुढापाकाहरू चिन्ता गर्ने थालेका छन् । देउसी भैलोको मौलिकता भने बर्सेनी हराउँदै गएको इटहरीको बृद्धचौतारीमा भेटिएका ८२ वर्षीय वृद्धा उद्धव भट्टराई बताउँछन् ।

उनी भन्छन्, ‘विशेष गरी तिहारको रौनक हराएको छ डिस्कोमा तिहार सकिँदै छ ।’ देउसी भैलोेमा तोकेरै पैसा असुल्ने, युवायुवती हिन्दी गीतमा नाच्ने गरेको भन्दै संस्कृति हराउँदै गएको भट्टराईले चिन्ता व्यक्त गरे ।

परम्परागत देउसी भैलोलाई पछिल्लो समय आधुनिकताले प्रभावित गरेको छ । विशेष गरी युवायुवतीका कारण देउसी भैलोको मौलिकता मेटिने चिन्ता बुढापाकाले गर्न थालेका छन ।

मादल, बाँसुरी, लगायतका बाँजाको माध्यमले कथाव्यथा प्रस्तुत हुने देउसी भैलोलाई हिजोआज डिस्कोले गाजेको इटहरी १९ का समाजसेवि श्याम तिम्सिनाले भने ।

खै अहिलेको तिहार त तिहार जस्तै लाग्न छोड्यो । बुढापाकालाई अहिले गीत कानै फुट्ला झैँ बजाएर नाचेको पटक्कै मन पर्दैन । पुरानो पुस्तालाई अहिलेको देउसी–भैलो पटक्कै मन परेको छैन ।

उनीहरु बलि राजाको गाथासहितको परम्परागत भैलो मन पराउँछन् ।परिवारलाई आशिष दिँदै कम्मर मर्काइमर्काइ मादल, तालमा नाचेको दृश्य नै रमाइलो लाग्ने गरेको बुढापाका बताउँछन् ।

सुन्दरदुलारीका पुरहेत गोकुल दाहालले भने अहिलेको देउसी के देउसी ? मज्जा नै छैन छेउ एक तिर पुच्छर एकतिर छ उनी भन्छन् ।

र्यापमा सकिदै देउसी भैलो देउसी–भैलोमा स्थान विशेषअनुसार आफ्नो मौलिकता र विशेषता झल्कने मादल, खैंजडीसँगै गाइने बालन, भजन जस्ता मौलिक परम्परा लोप हुने स्थितिमा पुगेका छन् ।

परम्परागत पोसाकमा देउसीभैलो भट्याएर घरधनीले खुसी भई स्वेच्छाले दिएको दान लिनुको सट्टा र्याप र हिन्दी गीत घन्काई होहल्ला मच्चाई जबरजस्ती पैसा असुल्ने माध्यम बन्न थालेको छ देउसीभैलो ।

केही वर्ष अघिसम्म ग्रामीण भेगमा परम्परागत रूपमा देउसीभैलो खेल्ने चलन रहिआए पनि अहिले शहरी क्षेत्रमा पनि देउसीको रौनक घट्दै गएको छ ।

चाडपर्व परम्परा मनाउने शैली समयानुकूल परिवर्तन हने भए तापनि अहिले चाडपर्वमा सामाजिक विकृति बढ्न थालेको उनीहरू बुढापाकाहरु बताउँछन् ।

संस्कृति समयअनुकूल परिवर्तन हुने गर्छ । नयाँ पुस्ताले नयाँ कुरा अपनाउनु स्वभाविक हो । तर नयाँ कुरा अपनाउँदा हाम्रो मौलिक परम्परा बिर्सिनु हुँदैन ।

हट्दै छ देउसी परम्परा पछिल्लो समयमा देउसी भैलो खेल्नेहरुको संख्या घट्दै गएको छ ।

देउसी खेल्ने समुहहरु पछिल्लो केहि वर्ष यता घट्न थालेको छ । अहिले शहरमा देउसी खेल्नेहरुको संख्या समेत कम हुदै गएको छ । लक्ष्मी पुजाको दिन पनि तरहरा चौकमा देउसी खेल्ने समुह देखिएन अचम्मै भयो तरहराका स्थानीय ब्यापारी सन्तोष श्रेष्ठले भने ।

शहरमा भन्दा पनि गाउँतिर मात्र देउसी देखियो उनी भन्छन् । पछिल्लो केहि वर्ष यता देउसीको रौनक घट्दै गएको सर्वसाधरणहरुको भनाई छ ।