विराटनगर /  १ नम्बर प्रदेश सरकारले चाडबाडको अवसरमा आउँदो कार्तिक २६ गते गर्ने भनिएको जलपान तथा सांस्कृतिक कार्यक्रम दुई दिन पर सरेको छ । प्रदेश सरकारले शनिबार पत्रकार सम्मेलन गर्दै यही कार्तिक २८ गते जलपान तथा सांस्कृतिक महोत्सव विराटनगरस्थित आर्दश उच्च माविमा हुने जानकारी गराएको हो । प्रदेशका कार्यवहाक मुख्यमन्त्री तथा सरकारका प्रवक्ता समेत रहेका हिक्मत कार्कीले यसअघि कार्तिक २६ गते गर्ने भनिएको महोत्सव २ दिन पर सारिएको र भव्य ढंगले गर्ने जानकारी दिए । धेरैलाई निमन्त्रणा कार्ड पठाइएकोले महोत्सवमा ४ हजारको संख्यामा उपस्थीति हुने प्रदेश सरकारकाले अपेक्षा राखेको छ । प्रदेश १ को अस्थायी राजधानीको रुपमा रहेको विराटनगरमा छैठ पर्वको महत्व अझै धेरै भएको कारण छठको अन्त्यसँगसँगै महोत्सव आयोजना गरिएको र यस खाले पर्वले राष्ट्रियता र सामाजिक सद्भावलाई अझै एकताबद्ध बनाउने पनि मन्त्री कार्कीको भनाई थियो । ‘यस अघि तय गरिएको कार्यक्रमको दिन खर्ना पर्व पर्ने रहेछ,’ उनले भने, ‘खर्ना पर्वको दिन भक्तजनहरू निरहार ब्रत बस्दा रहेछन् । त्यस दिन पानी समेत नपिउने रहेछन्, त्यही भएर सबैको सल्लाह र सुझाब अनुसार दुई दिन पछिलाई यस कार्यक्रम सारिएको हो,’ उनले भने । पत्रकार सम्मेलनमा प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको सबै साझा पर्व महोत्सवको रुपमा कार्यक्रम गर्न लागिएको बताए । महोत्सवका अवसरमा मोरङका विभिन्न स्थानीय तहबाट विभिन्न खाले झाँकी तथा नृत्य प्रस्तुत हुने पनि उनले जानकारी दिए । प्रदेशको विभिन्न नगर तथा गाउँपालिकाहरू साँस्कृतिक नृत्यको साथे झाँकी समेत प्रस्तुती हुने भएको छ ।  सांस्कृतिक महोत्सवमा राष्ट्रिय कलाकारहरु दीपाश्री निरौला, विल्सन विक्रम राई (तक्मे बुढा), सुमित खड्का, मैथिली भाषी कलाकार ललितकुमार र संगीतालगायतको समेत प्रस्तुती रहने भएको छ ।