बीबीसी / चाडपर्वका बेला बजारमा दूषित र मिसावटयुक्त खाद्यवस्तु विक्री हुनसक्ने भन्दै सरकारी अधिकारी र अधिकारकर्मीले उपभोक्तालाई त्यस्ता वस्तु किन्दा सचेत हुन आग्रह गरेका छन् । यस्ता गतिविधि रोक्न भन्दै सरकारले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारे पनि उपभोक्ता भने ढुक्क हुन सकेका छैनन्।

नियमनकारी निकायभन्दा गलत मनसाय राखेर व्यवसाय गर्नेहरू हावी हुँदा छिटफुट रूपमा हुने अनुगमन प्रभावकारी बन्न नसकेको कतिपयको गुनासो छ । शहरी जीवनशैली र कामकाजी महिलाको सङ्ख्या बढ्दा चाडपर्वका बेला उपभोग हुने मिठाई लगायतका खाद्यवस्तु घरमा बनाउने चलन कम भएको बताइन्छ। तर बजारमा पाइने मिठाई ढुक्क भएर किन्न सकिने अवस्था नरहेको गुनासो गर्छिन् ५५ वर्षीया मुना शर्मा, "चाडबाडका बेला घरमा धेरै काम हुन्छ, सबैलाई फुर्सद पनि हुँदैन। त्यसैले मिठाई किन्नुको विकल्प छैन। तर जहाँ पायो त्यहीँ किन्न सकिँदैन।"

"खै के-के मिसाउँछन् भन्छन्। त्यसैले सरकारले यो बेला अनुगमन तीव्र बनाउनुपर्‍यो।" सरकारी अधिकारीहरू भने दूषित र मिसावट भएका खाद्यपदार्थको विक्री नियन्त्रणका लागि देशैभरि अनुगमन गरिरहेको बताउँछन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्ती भन्छन्, "चाडपर्वका बेला सक्दो अनुगमन बढाउन तेल, रङ्ग आदि कस्ता प्रयोग भएका छन् भनी ठाउँको ठाउँ परीक्षण र अनुगमन गरिरहेका छौँ।"

उपभोक्ताले बजारमा राखिएका मिठाईको रङ्गमा विशेष ध्यान दिनुपर्ने वस्तीले बताए। "धेरै रङ्ग भएको मिठाई खानुभएन। हेर्दा पनि ताजा देखिनुपर्‍यो," उनले भने। हालै आएको उपभोक्ता संरक्षण ऐनले अनुगमन गर्ने निकायलाई बलियो बनाएको जानकारहरू बताउँछन्। तर त्यस्ता निकायहरूले गरेका अनुगमनले बजारलाई अनुशासित बनाउन नसकेको उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन बताउँछन्।

उनी भन्छन् "कसैले अनुचित व्यापारिक क्रियाकलाप गरेको भेटिएमा तत्काल ५ हजार देखि ३ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने प्रावधान नयाँ कानूनमा रहेको छ।" "तर जनशक्तिको अभावमा सरकारी नियकाले प्रभावकारी अनुगमन गर्न सकिरहेका छैन। "बजार एकदम अराजक हुँदै गएको छ र व्यवसायीहरू सरकारभन्दा बलियो देखिएको स्थिति पनि राम्रो होइन।" सरकारी अधिकारीहरूले बजार अनुगमनका क्रममा ठाउँको ठाउँ खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने व्यवस्था गरिएको दाबी गरिरहेका बेला त्यस्तो कुरा प्रचारमा मात्र सीमित भएको आलोचकहरूको भनाइ रहने गरेको छ।