वासिङ्टन /  अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनबाट नेपालीमुलका एचबी ह्यारी भण्डारी संसदमा निर्वाचित भएका छन् । बाल्टिमोर काउन्ट्रीको मेरिल्याण्ड डिष्ट्रिक आठबाट विधायकसभा (स्टेट डेलिगेटस)मा उनले जीत हासिल गरेका हुन । अमेरिकाको राजनीतिक तहमा रहेका नेपालीमुलका व्यक्तिमध्ये भण्डारी नै सबैभन्दा उच्च तहमा पुगेका हुन । तीन जना निर्वाचित हुनुपर्ने ठाउँमा दोस्रो हुदै उनी निर्वाचित भएका हुन । उनीले २० हजारभन्दा बढी मत ल्याएका थिए । भण्डारी डेमोक्र्याटको तर्फबाट उम्मेदवार बनेका थिए । गत जुनमा उनी डेमोक्रयाटिक पार्टीको केन्द्रीय सदस्यमा पनि निर्वाचित भएका थिए । नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा अमेरिका पुगेका भण्डारी नेपालमा अंग्रेजी विषयको शिक्षक थिए भने अमेरिकामा पनि प्राध्यापन पेशामै आवद्ध थिए । एकचालिस वर्षे भण्डारीको खास नाम हिराबहादुर भण्डारी भएपनि अमेरिका आएपछि एचबी भण्डारी हुँदै अहिले ह्यारी भण्डारी नामले चिनिन्छन् । गत जुन महिनामा सम्पन्न प्रारम्भिक चरणको चुनावमा पनि उन दोस्रो भएर निर्वाचित भएका थिए । यसअघि सन् २०१४ मा अमेरिकामा पहिलोपटक उम्मेदवार बनेका भण्डारी त्यतिबेला भने पराजित भएकाे थिए ।  अमेरिकामा हरेक दुई वर्षको नोभेम्बर ६ का दिन निर्वाचन हुने गर्दछ । दुई बर्ष पहिले २०१६ नोभेम्बर ६ मा राष्ट्रपति निर्वाचन भएको थियो । अहिले केन्द्रीय प्रतिनिधि सभाको ४३५ सिट, केन्द्रीय सीनेटको एक सयमध्ये ३३ सिट, ३६ गभर्नर तथा राज्य सिनेट र स्टेट डेलिगेटस (विधायकसभा)का साथै स्थानीय तहको निर्वाचन भएको हो । (रासस)