धरान / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकले उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनीत गर्ने निर्णय गरेको छ । उनी तत्कालीन फोरम लोकतान्त्रिकबाट कांग्रेसमा गएका मिसिएका थिए । उनले सम्झौताअनुसार भूमिका नपाएको भन्दै पछिल्लो समय सम्झौता कार्यान्वयनका लागि दबाब पनि दिदै आएका थिए । राजनीतिक आवश्यकताअनुसार गच्छदारलाई उपसभापतिमा मनोनीत गरिएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए । एक वर्षअघि पार्टी एकता हुँदा कांग्रेस सभापति शेरबहादुर देउवाले गच्छदारको पार्टीबाट उपसभापतिसहित १० जनालाई केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने सहमति गरेका थिए। त्यसअनुरूप केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने विषयमा निर्णय लिनका लागि विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको छ। उक्त समितिले आगामी महासमिति बैठकमा समायोजनका विषयमा प्रतिवेदन पेस गर्ने नेता लेखकले बताए। बैठकले महासमितिको बैठक पनि सार्ने निर्णय गरेको छ। मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले महासमितिको बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेका लागि सार्ने निर्णय गरेको हो । यसअघि कांग्रेसले महासमिति बैठक आगामी मंसिर ५ गतेदेखि ९ गतेसम्मका लागि तोकेको थियो।