काठमाडौँ /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै नेपालको शान्ति प्रक्रियामा उनको योगदान स्मरणीय रहेको बताए ।  आज अपराह्न दिवङ्गत भएका तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष दाहालले भने , “नेपालको शान्ति प्रक्रियामा उनले यस्तो समन्वयकारी भूमिका निर्वाह गरे  जसले साँच्चै नै नयाँ राजनीतिक वातावरण बनाउन महत्वपूर्ण योगदान गरे ।” नेपालको राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रजका रुपमा स्वर्गीय तुलाधरलाई सम्झँदै उनले मानवाधिकार संरक्षणको क्षेत्रमा पनि उनले गरेको योगदानलाई नेपालीले सधैँ सम्झिरहने बताए । यसैबीच तुलाधरका परिवारसँगको कुराकानीमा उहाँले राष्ट्रिय सम्मानका साथ उहाँको अन्त्यष्टि गर्न पहल गरिने बताए । यसअघि नर्भिक अस्पतालमा श्रद्धाञ्जलिका लागि पुगेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिन पद्मरत्नले खेलेको भूमिका बिर्सन नसकिने उल्लेख गरे । नेकपाका महासचिव विष्णु पौडेलले राजनीतिक तथा मानवाधिकार संरक्षणका क्षेत्रमा उनले गरेकाे योगदान अविस्मरणीय रहेको बताए । छातीको गम्भीर सङ्क्रमणबाट आज दिउँसो १२ः४५ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा ७८ वर्षको उमेरमा तुलाधरको निधन भएको हो । पूर्वस्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गरेका थिए । उनी पत्रकार तथा साहित्यकार पनि थिए । स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी हुन । उनीकाे पार्थिव शरीरलाई अहिले अस्पतालबाट लाजिम्पाटस्थित घरमा लगिएको छ । उनको सोमबार बिहान शोभाभगवतीमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन् ।