दमकनेपाल शिक्षक महासङ्घको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै झापा शिवसताक्षीका शिक्षकहरू पनि धर्ना तथा विरोधमा उत्रिएका छन् ।

सामुसदायिक विद्यालयका शिक्षकहरूले शुक्रबार नगरपालिकाको कार्यालयमा धर्ना तथा विरोधको कार्यक्रम गरेका हुन् ।

शिक्षकको पेशागत हितका लागि विभिन्न २६ वटा माग राखेर यस अघि बुझाएको ज्ञापन–पत्रको कुनै सुनुवाई नभएपछि बाध्य भएर देशका सबै स्थानीय तहहरूमा चरणबद्ध विरोधको कार्यक्रम भएकाले सोको ऐक्यबद्धता जनाउँदै धर्ना तथा विरोध गरेको नेपाल शिक्षक महासङ्घ शिवसताक्षीका अध्यक्ष बेनुप्रसाद कार्कीले बताए ।

धर्ना तथा विरोध कार्यक्रममा शिक्षकको पेशागत हित हुने कार्य सरकारबाट चाँडो गरियोस् भन्दै राहात शिक्षक अध्यक्ष योगेन्द्र अधिकारी , बाल शिक्षककी अध्यक्ष कमला बस्नेत, अस्थायी शिक्षक प्रभाकर भण्डारी, नेपाल विद्यालय कर्मचारी सङ्घ शिवसताक्षीका अध्यक्ष मदन राईलगायतले कार्यक्रममा बोलेका थिए ।

नगरपालिकाको प्राङ्गणमा धर्ना तथा विरोध गरेका शिक्षकहरूले नगरपालिकाले माग पूरा नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले शिक्षकहरूको मागका विषयमा सरकारबाट ठोस निर्णय भएपछि नगरपालिकाले पनि सम्बोधन गर्ने बताइन् ।

शिक्षक महासङ्घले असोज २१ गतेदेखि आन्दोलनको कार्यक्रम नै सार्वजनिक गरेर विभिन्न विरोधका कार्यक्रम गर्दै आएको जनाएको छ । शिवसताक्षीमा ३५ सामुदायिक विद्यालयका ३ सय ६१ शिक्षक, ६२ बाल शिक्षक र ४७ विद्यालय कर्मचारी छन् ।