ठेकेदार कम्पनीले निर्माण कार्यको सम्झौता गर्छ, सम्झौताको अवधिमा पूरा गर्ने कागजी सहमति पनि हुन्छ । तर कागजी सहमति तब फेल खान्छ, जब काम सम्झौता भनेबमोजिम पूरा हुँदैन । यो नेपालका निर्माण कम्पनीको पुरानो रोगै हो ।

नेपालमा ८० प्रतिशतभन्दा बढी ठेक्काहरु यसरी नै चलेका छन् । जसले गर्दा विकास निर्माण प्रभावित बनिरहेका छन् । निर्माणको जिम्मा पाउने कम्पनी पनि कुनै राजनीतिक दलसँग साँठगाँठ भएको वा आफै हुने परम्परा पनि अर्को रोग हो । यही रोगका कारण पनि निर्माण कार्यहरु कछुवा गतिमा अगाडि बढ्ने गरेका छन् ।

यही कछुवा गतिकै कारण विकास निर्माणमा नेपाल पछि परेको छ । आफ्ना नातागोता तथा भाइभारदारलाई ठेक्का पार्ने र लाखौं कमिसन खाने परम्पराले गाँजेको छ । यो परम्पराले नेपालको विकास निर्माण ध्वस्त छ ।

पप्पु कन्स्ट्रक्सन त्यसको ज्वलन्त उदारहण हो । धेरै विकास निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनको हातमा छ । जसले गरेका विकास निर्माणको अवस्था कस्तो छ भनिरहन पर्दैन । यो त भयो उदाहरण मात्रै । यस्ता कयौं आयोजनाहरु छन्, जुन निर्धारित समयमा सक्नुको सट्टा त्यहाँबाट थप रकम असुली गर्न उद्यत देखिन्छन् ।

धेरै ठेकेदार कम्पनीहरुले तोकिएको सम्झौताअनुसार काम नसक्नुको पछाडि रकम चलखेल नै हो । थप रकम कुम्ल्याउने दाउका कारण आयोजनालाई ‘इलेभेन्थ आवर’ मा शुरु गर्ने परम्परा हामीमाझ व्याप्त छ ।

‘जब भयो राति, तब बूढी ताती’ भन्ने उखान झैं गर्छन् । सम्झौता सकिन लाग्दा काम शुरु गर्ने अनि काम नसकेपछि बजार मूल्यअनुसारको रकमको ‘बार्गेनिङ’ गर्ने गरेको समाचारसमेत बाहिरिएको छ ।

यदि यस्तो हो भने आजैबाट सबैजसो निर्माण कम्पनीमाथि निगरानी तथा अनुगमन गर्न आवश्यक देखिएको छ । यस्ता निर्माण कम्पनीको तालिका बनाएर त्यस्तालाई कालोसूचीमा राख्न सक्नुपर्छ ।

नातावाद, कृपावादको पगरीलाई चट्टै त्याग्नुपर्छ । निर्धारित मितिमा सक्नुपर्ने दबाव पहिलो सर्त हुनुपर्छ । त्यसतर्फ राज्य आफै लाग्नुपर्छ । त्यसका लागि छुट्टै ‘निगरानी युनिट’ नै खडा गर्नुपर्छ ।

भनिएको मितिमा सके कम्पनीको गरिमा मात्रै बढ्दैन । नागरिकले भनेको समयमा सेवा पाउन सक्छन् । विकासका ढोकाहरु खोलिन थाल्छन् । अधिकांश ग्रामीणभेग भएका कारण कृषिजन्य उत्पादनले बजार पाउन थाल्छ ।

नेपालमा अधिकांश पुल, पुलेसा तथा सडक निर्माणमै सुस्तता हुने गरेको छ । यो विकासको पहिलो सर्त हो । सडक, पुल देश विकासको सूचक हो । यही सूचक नै ढिला गरी हुँदै जाने हो भने त्यसले अराजकता निम्त्याउँछ र सरकारले अहिले भनिररहेको विकास र समृद्धि पनि सम्भव हुँदैन ।

विकास र समृद्धिका लागि सडक र पुलपुलेसा समयमै निर्माण सम्पन्न हुनुपर्छ । अनिमात्रै विकासका गोरेटाहरु कोरिन थाल्छन् । विकासले मात्रै समृद्धिको ढोका खोल्छ ।

समृद्धि सडक, पुलपुलेसा तथा विकास निर्माणसँग जोडिएका हुन्छन् । मावनीय आवश्यकताका कुराहरु पूरा गर्ने यही नै पहिलो सर्त हो । विश्वका विकसित मुलुकहरु त्यसै अगाडि बढेका होइनन् ।

हरेक काम ठीक–ठीक समयमा गर्ने र पूरा गर्ने उनीहरुको बानीका कारण नै आज उनीहरु विकसित देशमा गनिन्छन् । यो सूत्र नेपालमा पनि लागू हुनुपर्छ । अहिलेको सरकारले लागू गराउन सक्नुपर्छ ।

अनिमात्रै दुईतिहाइको यो सरकारको औचित्य पुष्टि हुन्छ । नत्र जुन जोगी आए पनि कानै चिरेको उखान चरितार्थ हुनेछ ।