पहिला म सानो हुँदा गाउँघरमा दशैं आउनुभन्दा दुई महिना अगाडिदेखि नै दशैंको जोहो र चाँजो–पाँजो कसरी मिलाउने भन्ने बारेमा छलफल एवम् कुराकानी हुने गर्दथ्यो ।

हामी केटा–केटीहरूका लागि यस्तो रमाइलो दशैं कहिले आइपुग्ला भनेर हतार हुन्थ्यो भने दशैंको लागि सबै कुराको बन्दोबस्त गर्नुपर्ने दशैंअगाडि नै खेतबारीको काम सकिसक्नु पर्ने हतारोमा रहेका ठूला मान्छेहरू चाहिँ दशैं केहीदिन ढिलो आइदिए पनि हुन्थ्यो भन्ने सोचाइमा रहन्थे र दशैंअगाडि खेतबारीदेखि घरको लिपपोत शृङ्गारपेटार दशैंमा खाने लगाउने कुराहरू जोहोका लागि दिनरात काम गरिरहेका हुन्थे ।

दशैं आउँथ्यो जताततै दही, चिउरा, केरा, मासु खान पाइन्थ्यो । जसरी पनि नयाँ लुगा फेरेर ठूला मान्छेको साथमा लागेर गाउँ छोडेर वर्ष दिनसम्म कहीँ नहिँडेको मान्छे टाढा–टाढासम्म टीका लगाउन जान पाइन्थ्यो, टीका लगाएर कतै सुका, कतै मोहोर, कतै रुपैयाँ पैसा पाइन्थ्यो ।

नजिकमा दोकान पसल केही थिएनन् । हामीलाई पैसाको कामै थिएन तर पैसा लिएर बजार जानुपर्छ भनेपछि हामी ती पैसा साह्रै जतन गरेर राख्थ्यौं ।

बाल्यकालको हाम्रो दशैं यसरी नै बित्थ्यो । जब म किशोर अवस्थामा पुगेँ । विद्यालयमा पढ्न जान थालियो, त्यहाँ धेरै प्रकारका लुगा–कपडा लगाउने साथीसङ्गीहरू पनि हुन्थे ।

त्यतिबेला विद्यालयको कुनै निश्चित औपचारिक पोसाक थिएन ।

त्यसो भएकोले आर्थिक अवस्था कमजोर हुनेहरूका लागि दशैंमा सिलाएको लुगा नै विद्यालयको पोसाक हुने गर्दथ्यो ।

त्यसले गर्दा विद्यालयहरूमा कोही दौरा– सुरुवाल, कोही कमिज–सुरुवाल, कोही सट–पाइन्ट त कोही सट र हाफपाइन्ट लगाएर आउँथे ।

म पनि कक्षा ७ सम्म पढ्दा जुत्ता–चप्पल नलगाई हाफपाइन्ट र सर्ट लगाएर मात्र विद्यालय गएको थिएँ र कक्षा ७ मै पढ्दा मैले दशैंमा सटपाइन्ट सिलाइदिन अनि चप्पल किनिदिनका लागि बुबासँग झगडा गरेको थिएँ ।

मेरो आमा म ६ कक्षामा पढ्दै गर्दा मानसिक रोगी हुनुभएकोले आमासँग झगडा गर्ने कुरै भएन । ७ कक्षामा पढ्दा बुबाले सस्तोखालको सट र पाइन्ट किनिदिनुभएको थियो ।

त्यो मलाई त्यति मन परेको थिएन तैपनि लगाए । कक्षा ८ मा पढ्दा मुटुको रोगबाट बुबाको मृत्यु भएपछि दशैंमा राम्रो लुगा र जुत्ता किनिदिनू भनेर कहिल्यै कोहीसँग झगडा गर्नु र माग राख्नु परेन ।

म दैनिक ज्यालादारी काम गर्दै फुर्सदको बेलामा विद्यालय जाने गर्दथेँ । दश कक्षासम्म पढ्यो भने काम पाइन्छ, त्यति चाहिँ जसरी पनि पढ्नू भनेर मलाई धेरै छिमेकी चिनजानका पढेलेखेकाहरूले भन्ने गर्नुहुन्थ्यो ।

त्योबेला मेरो बसाइ धरान–१४ विजयपुरमा भएकोले त्यति बेला विजयपुर सुनसरीकै शिक्षित समुदायको बसोबास भएको ठाउँ मानिन्थ्यो र मेरो पनि सङ्गत पढेलेखेकाहरूसँग नै थियो ।

विद्यालयमा धेरै दिनसम्म नदेख्दा त्यतिबेला हामीलाई अङ्ग्रेजी पढाउने शिक्षक स्वर्गीय नेत्रबन्धु पौडेल, नेपाली पढाउने शिक्षक स्वर्गीय चन्द्रमणि अधिकारीले बाटो या बजार जहाँ भेटे पनि स्कुल किन नआएको भनेर सोध्नुहुन्थ्यो र फेरि त्यही कुरा दोहोर्याउनु हुन्थ्यो दशकक्षासम्म पढ्यो भने केही काम पाइन्छ पढ्नु पर्छ ।

यस्तै प्रेरणाले मैले फुर्सदको बेला स्कुल गएर दश कक्षासम्म पढेँ । सानो कक्षामा मेरो पढाइ राम्रो भए पनि ठूलो कक्षामा विद्यालय नियमित नभएकोले म गणित र अङ्ग्रेजी विषयमा कमजोर भएँ । दश कक्षा पढेपछि झण्डै ८ वर्ष जति पढिनँ ।

काम पाउँदा दैनिक ज्यालादारी गर्ने र नपाउँदा सङ्घ–संस्थाको भेलातिर जाने अनि कसैको विहे कार्यहरूमा काम सघाउने गरेर समय बिताइयो ।

आर्थिक अवस्था कमजोर भएको परिवारमा सबैजना भेला नहुने भएकोले दशैंलगायत अरु चाडपर्व पनि त्यति रमाइलो हुँदैनथ्यो ।

तिहारमा चाहिँ कुनै क्लब स्थानीय सङ्घ–संस्थाको देउसी–भैलो खेलिन्थ्यो । त्यतै रमाइलो हुन्थ्यो भाइटीका पनि देउसी–भैलो खेल्ने समूहकै चेलीबेटीसँग लगाइन्थ्यो ।

२०४६ सालमा बहुदलीय व्यवस्था पुनर्बहालीका लागि नेपाली काङ्ग्रेस र कम्युनिष्ट पार्टीहरू मिलेर जनआन्दोलन भयो ।

म ९ कक्षामा पढ्दा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको शिक्षा सदन माविको प्रारम्भिक कमिटीको सदस्य भए तापनि पढाइ छोडेपछि मेरो साङ्गठनिक सम्पर्क थिएन ।

२०४६ सालको आन्दोलनमा शुरुमा एक–दुईपटक पञ्च र्यालीमा हिँडेपछि धेरै पढे–लेखेका शिक्षक बुद्धिजीवीहरू बहुदलको पक्षमा देखेपछि उनीहरूले मलाई पनि कार्यक्रममा बोलाउन थालेपछि म पनि बहुदलवादीहरूको गतिविधिमा संलग्न भएँ ।

त्यो आन्दोलनमा देशभर ८० जनाले जीवनको बलिदानी गरेर शहीद भए । हाम्रै टोलका सुशील कट्टेल पनि शहीद भएका थिए ।

२०४७ सालको दशैंमा शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै टीका नलगाउने र तीन दिन अन्न नखाने प्रतिज्ञासहितको एउटा पत्र लेखेर धरानबाट प्रकाशित हुने पूर्व टाइम्स साप्ताहिकलाई दिएको थिएँ ।

त्यो बेला गिरिराज आचार्यबाट सम्पादित पूर्व टाइम्स साप्ताहिक रमेश नेपालीद्वारा सम्पादित संसार साप्ताहिक, चन्द्रमणि अधिकारीबाट सम्पादित आरसी साप्ताहिक, आनन्द श्रेष्ठबाट सम्पादित हास्य व्यङ्ग्य पत्रिका टुटुल्को मासिक पत्रिका धरानबाट प्रकाशित भएको मलाई याद छ ।

पूर्व टाइम्स पत्रिकाले मैले शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै दशैंको टीका नलगाउने र तीन दिन दशैंमा अन्न नखाने घोषणा गरेको पत्रलाई प्राथामिकता दिएर प्रकाशित गरिदिएपछि त्यो समाचार पत्र–पत्रिका पढ्ने, पढे–लेखेका मान्छेहरूको बीचमा मात्र होइन, टोल बस्तीमै हल्ला भयो ।

दशैंमा टोल बस्तीतिर जाँदा पनि कसैले अन्न, मासु–भात खाउँ भनेनन् । कसैले दूध, कसैले केराको काइँयो, कसैले स्याउलगायत फलफूल दिए । मलाई त्यो फलफूल खाइसक्न एक हप्तै लाग्यो । त्यो सालको दशैं त्यसरी नै मनाइयो ।

अर्काे साल दशैं मनाउनका लागि दशैं आउनुभन्दा दुई–तीन महिनाअगाडिदेखि नै टोलका केटा–केटी बटुलेर ट्युसन पढाएँ ।

टोलका धेरै केटाकेटी आएका थिए । ट्युसन पढाएर बाँकी रहेको समयमा दशैंको बेला रङरोगनको काम गरेर १ सय २५ रुपैयाँ जम्मा गरेँ तर म त्यो बेला एक्लै थिएँ ।

एक्लो मान्छेलाई धेरै खर्च चाहिँदैन भनेर ट्युसन पढाएको पैसा धेरैले दशैंपछि दिने भनेर भाका राखे । त्यो साल एकजना शिक्षक साथी श्रीप्रसाद कोइरालासँग १ सय ५० रुपैयाँ सापटी मागेर दशैं मनाइयो ।

दशैं सकेपछि अभिभावकहरूले अब कहिलेदेखि केटाकेटीहरूलाई पढाउने भनेर सोध्नुभयो । मलाई दशैंमा पैसा नदिएकोले रिस उठिरहेको थियो । मैले जाँच सकिएर एक महिना छुट्टी हुन्छ, त्योबेला पढाउने भनिदिएँ ।

अर्को साल दशैंमा रङरोगन लगाउने काम धेरै गरेँ । दिनको ३५ रुपैयाँ हाजिराबाट पनि झण्डै १२ सय जति पैसा कमाएर दशैंलाई जोहो गरेको थिएँ ।

एकजना छिमेकी साथीको २ सय ५० रुपैयाँ सापटी चलाएको थिएँ ।

त्यो सापटी पैसा मैले छिमेकी साथीलाई दशैंपछि दिउँला भनेर सोचेको थिएँ तर ती छिमेकी साथीले आफ्नी श्रीमतीलाई त्यहाँबाट पैसा ल्याएर दशैंलाई तेल, मसला किन्नू भनेर दशैंको नवरात्रीको पाठमा बस्न गएका रहेछन् ।

उहाँकी श्रीमती दुई पटकसम्म पैसा माग्न आउनुभयो । मैले अहिले छैन भनेर टारेँ । उहाँ फेरि पनि पैसा माग्न आउनुभयो ।

म एक्लै नाङ्गो बसेको कोठामा एक जना महिला कहिले बिहान, कहिले बेलुका आइरहेपछि आफैलाई अप्ठ्यारो लागेर तेस्रो पटकमा मैले पैसा दिई पठाएँ ।

त्यो साल पनि दशैं खर्च प्राप्त भएन र रिसले कहीँ टीका लगाउन गइएन । मैले भरखरै विहे गरेको थिएँ । म गाउँको एउटा विद्यालयमा निजी स्रोतमा काम गर्दै थिएँ ।

हामी दुईजना शिक्षकलाई गाउँलेहरूले मासिक बुझाएको शुल्कबाट तलब दिने व्यवस्था गरिएको थियो । तलब बाँड्ने दिन म विद्यालय जान भ्याइनँ ।

मैले सोचेँ हेडसरले तलब राखिदिनुहुन्छ भनेर म भोलिपल्ट बिहानै दशैं खर्च लिन विद्यालय हुँदै हेडसरको घरतिर लागेँ । हाम्रो हेडसर पनि गजबको हुनुहुन्थ्यो ।

उहाँ बजार आउँदै हुनुहुँदोरहेछ । मैले बाटैमा भेटेँ । उहाँले भेट्ने बित्तिकै भन्नुभयो, ‘तपाईं हिजो आउनुभएन पैसा चलाइहालियो, पछि मिलाउँला । अहिले तपाईलाई त्यति खाँचो छैन होला ।’ त्यो साल पनि दशैंमा पैसा पाइएन ।

श्रीमतीसँग भएको पैसाले काम चलाउँदै दशैं मनाइयो । यसरी लगभग २० वर्ष जति दुःखले दशैं मनाउँदै आइयो । विगत १५ वर्षदेखि चाहिँ परिवार सङ्ख्या, नातागोता बढ्दै गए । पेशामा सामान्य जागिरे भएकोले दशैंखर्च पनि कामचलाउ हुनेगरी जुट्दै गयो ।

यसपटक पनि दशैंको रौनक शुरु भइकेको थियो । एकातिर मानिसहरू दशैंनजिक आएकोमा हर्षित र खुसी थिए ।

अभाव गरिबी न्यून आएका अर्काथरी मानिसहरू यो दशैं होइन दशा हो भनिरहेका थिए । यसै सन्दर्भमा मैले दशैं दशा हो कि दशैं, दशैंलाई के गर्दा दशा हुन्छ भन्ने लेख पनि लेखेको थिएँ तर दशैं भित्रिएर केहीदिन पत्रपत्रिका छुट्टी भएकोले मेरो त्यो लेखको सन्दर्भ पनि समाप्त हुँदा लेख प्रकाशित हुन सकेन ।

आफ्नो पेशाकै काममा व्यस्त हुनुपरेकोले लेख समयमा तयार गर्न सकिएन । आफू पनि दशैंको तयारीमा लाग्नु पर्यो । यस पटक चार महिनाको एकलाख जति तलब थापेकोले दशैं राम्रै मनाइने भयो भन्ने अनुमान पनि लगाइयो ।

अघिल्लो महिना खाएको तिर्दा केही खुद्रे साहु तिर्दा दशैंखर्च जोगिन निकै कठिन परिरहेको थियो ।

केही मित्रहरूले चलाएको सापटी, पैंचो पनि कतिले दशैंमा दिन नसक्ने भइयो भन्नुभयो । योभन्दा अगाडि अलि–अलि पैंचो, सापटी चलाएको पनि कुकुरलाई मासु पैंचो सरह भयो ।

यहीबेला केही काम गर्ने मानिसलाई पैसा नपाएको र आफैलाई काम लगाएको हुनाले उनीहरूलाई चाडपर्व खर्च दिनै पर्यो ।

सामान्य घरखर्च गर्न श्रीमतीलाई दिएको पैसा बाहेक आफूसँग भएको सबै पैसा सकिएपछि एकजना समाजसेवी भन्ने मित्रसँग केही रकम सापटी गरेर बैङ्क खुलेपछि दिउँला भनेर अरुलाई नै दिइयो ।

सबै खुद्रे साहु तिर्न पनि सकिएन, पत्र–पत्रिकामा शुभकामनाको पैसा पनि भुक्तानी गर्न सकिएन । गोजीमा सुको नभएपछि दशैंभरि बजार पनि गइएन ।

बैङ्क खुलेको दिनदेखि नै समाजसेवी मित्र पैसा–पैसा भन्दै धाउन थाले ।

दशैं राम्रो नसकिएकोले पैसा कहीँबाट आएको थिएन । एउटा स्थानीय संस्थाको पैसाको हिसाब मसँग पनि भएकोले उनीहरूले संस्थाको पैसा राखेर काम गर्ने मान्छेलाई समयमा नदिएको भन्दै हल्ला पनि गर्न भ्याए ।

समाजसेवी मित्रको सापटी पैसा घुमाउन नसकेकोले म पनि दुई दिन घरबाट भात छोडेर हिँड्नु पर्यो ।

बल्ल–बल्ल संस्थाका कोषाध्यक्ष मित्रले समाजसेवी उपाध्यक्षको पैसा घुमाइदिनुभयो र घरमा भात खाने र हिसाब गर्ने मौकासम्म पाइयो ।

के गर्ने, मानिसलाई पैसा र वैंशले कहिल्यै नपुग्ने रहेछ । झगडा पनि यही पैसा र वैंशमा हुँदोरहेछ ।

अरुबेला मेला नभई बाँच्नै नसक्नेहरू यसपटक मेला बन्दको झमेलामा लागि दिनाले दशैंमा मेला जाने पैसा त आवश्यक त परेन तर त्यहाँ पनि सबैलाई भाग नलाग्दा नै झमेला परेको रहेछ ।

यसरी जननिर्वाचित कार्यापालिकाले गरेका निर्णयहरू यसरी झमेलामा पर्र्दै कार्यान्वयन नहुने भने अरु झमेला कति थपिने हुन् ।

आजकल दशैंमा पैसा हुनेलाई ऐशा नै छ । पहिला जस्तो नुन, तेल बोक्न जानु पर्र्दैन, बाटो खन्न जानु पर्दैन, गाउँघरमा कसैलाई केही सघाउनु पर्र्दैन ।

छिमेकमा कोही भोकै छ भने एक छाक दिनु पनि पर्र्दैन ।

कुनै सिर्जनात्मक काम पनि गर्नु पर्र्दैन र कसैलाई भोजैले बित्छ दशैं, दशैंमा खुद्रे साहुले दुःख दिँदा– खुद्रे साहु मूर्दावाद भन्न मन लाग्यो ।