निर्मला पन्तको बलात्कार र हत्याले सर्वत्र तरङ्ग ल्यायो । स्थानीय प्रहरी प्रशासनदेखि प्रधानमन्त्री कार्यालयको ढोकासम्म पुगेर पन्तका आमाबाबुले हारगुहार गरे ।

तर बलात्कारी हत्यारा फेला पर्ने छाँटकाँट अझै देखिएको छैन । निर्मलालाई कसले बलात्कारपछि हत्या गर्यो ? यो प्रश्नको उत्तर खोज्ने अनुसन्धानमा लागेका प्रहरी प्रशासनमाथि नै प्रश्नै प्रश्नको ओइरो लागेको छ ।

आन्दोलन भए, जुलुस निकालिए, धेरैको ध्यानाकर्षण भयो । त्यसपछि पनि कञ्चनपुरमा बलात्कारका घटना भए । मुलुकका विभिन्न जिल्लामा अरु बलात्कारका घटना भएका छन् ।

बलात्कार विरुद्ध जति जनआक्रोस फैलियो उति बलात्कारका घटना सार्वजनिक हुन थाले ।

एकातिर निर्मलाका बलात्कारी हत्यारा फेला पार्न नसक्नु र अर्कोतिर बलात्कारका घटना दोहोरिरहनुले दण्डहीनता बढेमा बलात्कारीको मनोबल बढ्छ र बलात्कारका घटना पनि बढ्छ भन्ने देखाएको छ ।

बलात्कारका घटना बढेको देख्दा यस्तो लाग्छ, बलात्कारी यहीँ कहीँ घुम्दै छ । यहीँ कुनै शहरको भीडमा कुम ठोक्काउँदै जाँदै छ । अपराधको डर, त्रासले लुक्नु पर्ने हो बलात्कारी तर लुक्दैन ।

भनिन्छ, ‘बलात्कारी अति सन्दिग्ध, एक नरपिसाच हो, जो आफूभित्रको विकृत यौन विचलनको शिकार बनाउन आफूभन्दा कमजोर (उसले सधैँ महिलालाई कमजोर नै ठान्छ)को खोजीमा भौंतारिन्छ ।

उसका लागि सबैभन्दा कमजोर शिकार आफ्नै घरको बालिका वा छोरी, नाति–नातिना वा भान्जी वा भतिजी हुन सक्छन् । बलात्कारी तपाईको छिमेकी पनि हुन सक्छ । सधैँ नचिनेको हुनुपर्छ भन्ने छैन ।

तपाईले सधैँ चिनेका, कहिलेकाहीँ आएर चियाको चुस्की वा रक्सी र सितनसँग सुख–दुःखका कुरा गरिटोपल्ने अनि तपाईका कलिला नानीहरूलाई माया र स्नेह देखाउने बहानामा अँगालो मारेर चुम्मा गर्र्दै क्याटवरी, चक्लेट वा उपहार दिने कोही न कोही पनि हुन सक्छ ।

अर्थात् आफ्नो वास्तविक नियत देखाउनुभन्दा अगाडि अरु मानिसहरूसरह सामान्य रूपमा देख्न सक्नुहुन्छ ।

नेपालमा बलात्कारका घटनाको ग्राफ बढेको देख्दा भयानक आतङ्कारीले भन्दा बलात्कारीहरूका कारण पूरै नेपाल खतरामा छ र हरेक बालिकाको बालापन जोखिममा छ भन्ने लाग्न थालेको छ ।

सवा तीनकरोड जनसंख्या भएको नेपालमा दैनिक चार बालिका, महिला बलात्कृत हुने तथ्यहरू सार्वजनिक भएका छन् ।

यी तथ्य प्रहरी प्रशासनमा उजुरी आएका आधारमा मात्र तयार भएका हुन् । वास्तवमा बलात्कारपछि बालिका वा उसका परिवारले बदनामी हुने डरले उजुरी नै गर्र्दैनन् ।

यसरी लुकाएर राखिएका घटनाको तथ्य कसैसँग पनि छैन ।

मनोवैज्ञानिकहरूको अध्ययनलाई मान्ने हो भने बालिकाको यौनशोÈणको केन्द्रीय परिसर उसको घर र आसापास नै हो । बालिकाका अधिकांश बलात्कारका घटनामा ९० प्रतिशत घटनामा आफन्त र चिनेजानेका व्यक्तिहरू दोषी पाइएका छन् ।

बालिकाहरू आफूलाई माया गर्नेहरूबाट सुरक्षित महसुस गर्छन् । यही कडीलाई बलात्कारीले भरोसा दिलाएको बहाना बनाएर मौकाको फाइदा लिन्छ ।

बालिका बलात्कारी कस्तो हुन्छ र कसरी पहिचान गर्ने भन्ने सन्दर्भमा मनोचिकित्सकहरू भन्छन्, ‘बालिका बलात्कार गर्ने वा यौन उत्पीडन गर्ने व्यक्ति अन्य अपराधीको तुलनामा उसको मानसिक दशा फरक हुन्छ ।

बलात्कारी सोच भएका व्यक्तिमा बालिकाप्रति एक प्रकारको आग्रहसहितको अनुराग हुन्छ । यो एक प्रकारको व्यक्तित्वमा आएको विचलन हो । विकृति हो । जुन मनोवैज्ञानिक संरचनामा रहेको ‘ब्लाक होल’ जस्तै हो ।

यही मानसिक विकृतिलाई शान्त बनाउन बालिका या महिलालाई जबर्जस्ती यौनशोषण गर्छ । बलात्कारीको मनभित्र स्थायी रूपमा रहेको हीनताबोधको भावनाले उसलाई बलात्कार गर्न प्रेरित गर्छ ।

बलात्कार गर्नुअघि कतिपयले बालिकालाई गु्रमिङ चरण पूरा गर्छ । अर्थात् बालिकालाई यौनशोषण गर्न सकिने अवस्था तयार गर्नका लागि उसको पूरा दिमाग प्रयोग गर्छ ।

उपहार दिएर, खेलौना दिएर होस् वा हँसाएर, खेलाएर वा डुलाएर दिल जित्ने प्रयत्नका साथ उसले बालिकाको दैनिक जीवनको हिस्सा बन्ने प्रयास गरिरहन्छ ।

अनि बालिकाको आमाबाबुसँग पनि हिमचिम बढाउँछ । कतिपय बालिकाका आमाबाबु कामकाजी भएकाले दिनभर घरमा हुँदैनन् । बालिकाले बाबाआमाको माया भनेजस्तो पाउँदैनन् ।

बाबाआमाको काखमा बसेर खेल्न पाउँदैनन् । अभिभावकको बढी निगरानी नपाउने बालिकालाई सिकारीले बडो माया गर्ने साथी भएको बहाना बनाउँछ । ऊ नाटक गर्न खप्पिस हुन्छ ।

बलात्कारीको मनोविज्ञानअनुसार बलात्कारीहरू प्रायः नकारात्मक व्यक्तित्व बोकेर हिँड्छन् । आफूलाई कसैले आलोचना गरेमा अति संवेदशीलमात्र हुँदैनन् कि आत्मरतिमा रमाउने खालका हुन्छन् ।

उसैले सोचेको वा बोलेको कुरा नै सही हो र त्यसैमा अरुले पनि हो मा हो मिलाउन् भन्ने भावना राख्छन् । यही कारण बलात्कारी मानसिकता भएका व्यक्ति आफूभन्दा सबलसँग सम्बन्ध राखिहाल्दैन र राखे पनि देखावटी रूपमामात्र ।

तर बालिकासँग बढी नजिकिन्छ र मौका पाउनासाथ यौन शोषण गर्न तम्सिन्छ । सनकपूर्ण व्यवहार प्रदर्शन गर्दै यौन र मादक पदार्थको चक्करमा बालिकामाथि बलात्कार गरे पनि उसलाई अपराधबोध वा पश्चाताप मान्न उसलाई सकस हुन्छ ।

मनोचिकित्सकहरूका अनुसार नचिनेका अपराधीहरूबाट कमै बलात्कारका घटना हुने गरेका छन् । बालिकाका लागि सबैभन्दा खतरा त्यहाँ हुन्छ, जहाँ उसले बढी स्नेह र भरोसा पाउँछ ।

यही सूत्र बलात्कारीले अपनाउँछ ।

बलात्कार यस्तो जघन्य अपराध मात्र होइन, असामान्य पनि हो । पछिल्लो समयमा त बलात्कारपछि बालिकाको हत्या गर्ने चलनमा पनि वृद्धि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फरेन्सिक विभागका एसोसिएट प्रोफेशर डा. विकास साह भन्छन्, ‘बलात्कार र हत्या दुवै ‘क्रिमिनल केस’ हुन् ।

बलात्कारपछि हत्या हुनुमा अपराधीहरूको दिमागले काम गरेको हुन्छ । बलात्कारपछि जीवितै छाडेमा सजाय पाइने डरले हत्या गर्ने गरेका हुन् । तर अब बलात्कारीलाई यस्तो सजाय हुनुपर्छ कि हत्या गरेको र बलात्कार गरेको सजाय जोडेर पनि दोब्बर सजायको व्यवस्था गर्नु जरुरी छ ।’

बलात्कारका घटना बढी सार्वजनिक भएको हो वा घटना नै बढी भएको हो, त्यो खोजीको विषय र बहस भए पनि पछिल्ला तथ्याङ्कले नेपाली समाजको विकृत रूपलाई उदाङ्गो बनाएको समाजशास्त्री, मनोविद् र मनोचिकित्सकहरूले बताउँदै आएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मनोचिकित्सक प्रा.डा. निदेश सापकोटाका अनुसार समाजमा डर नहुनु र दण्डहीनता बढेमा बलात्कारका घटना पनि सँगै बढ्छ ।

समाजमा बलात्कार किन हुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘समाजमा दण्डहीनता बढ्यो भने बलात्कार, हत्या, हिंसाको ग्राफ चढ्छ । सामाजिक विकृति गर्नेको मनोबल उच्च हुँदै जान्छ ।’

उनले समाजमा बलात्कारका घटना बढ्नुमा सामाजिक विचलन नै कारक भएको बताए । परम्परागत समाज सङ्गोल थियो । अहिले परिवार विखण्डित हुँदै गयो ।

अहिले आफन्तबाटै छोरीचेलीहरू बलात्कृत हुन थालेको उनले बताए । उनले भने, ‘समाजमा ९० प्रतिशत मानिसहरू राम्रा मानसिकताको भए पनि १० प्रतिशत खराब स्वभाव र आचारणका हुन्छन् ।

यस्तालाई मनोचिकित्सा शास्त्रले ‘एण्टी सोसल पर्सनालिटी’ भनेको छ । ‘पर्सनालिटी डिसअर्डर’ का कारण पनि समाजमा बलात्कारका घटनाले प्रश्रय पाइरहेको छ ।

एण्टी पर्सनालिटी डिसअर्डर भएका मानसिक रोगीले समाज, घरपरिवारमा आफूले गरेको परिणामप्रति भोलि के हुन्छ भन्ने ख्याल नराख्ने मनोचिकित्सक प्रा.डा.सापकोटाले बताए ।

उनले बलात्कारका घटना बढ्नुमा छोरा र छोरीमा विभेदकारी मूल्य, मान्यता अभिभावकले दिमागमा राख्नु पनि एउटा कारण रहेको बताए । उनले भने, ‘घरबाट छोरी कतै जान लागेकी छे भने कता, किन, कोसँग भनेर प्रश्न गर्छौं तर छोरा जता गए पनि खासै सोधीखोजी गर्दैनौं ।

हो, यो विभेदकारी मनोविज्ञानले पनि समाजमा छोरीलाई हेर्ने दृष्टिकोण विभेदकारी बनाएको छ ।’

उनले बलात्कारका घटनापछिको न्यायिक प्रणाली, प्रहरीको अनुसन्धान प्रणाली र पीडितलाई समाज अनि परिवारले हेर्ने दृष्टिकोणमा खोट रहेकाले बलात्कारीको मनोबल बढ्ने गरेको बताए ।

महिलाप्रति बनाइने अपमानजनक माहौलले पुरुषलाई बलात्कार गर्ने दुस्साहस बढाउने उत्प्रेरणाको काम गर्ने उनले बताए ।

नैतिक पतन, महिलालाई यौन भोग्यामात्र भएको धर्मशास्त्रको वर्णन, पुरुषमा परिवर्तन हुन नसकेको महिलाप्रतिको धारणा, महिला बलात्कार हुनुमा पुरुषको मानसिक दुर्बलता र उनीहरूप्रतिको अपमानपूर्वक धारणाको कारणले सबैखाले बलात्कारमा मुख्य भूमिका खेल्ने गरेको डा. सापकोटाले बताए ।

समाजशास्त्री विज्ञान शर्माका अनुसार पुरुषले एउटी महिलाप्रति सोच्ने धारणामा परिवर्तन नआएसम्म समाज र परिवारमा बलात्कारका घटनामा कमी आउन सक्दैन ।

उनले समाज झन्–झन् जटिल हुँदै गएको र यस्तो अवस्थामा समाजमा बढी बलात्कार, हत्या, हिंसाका घटना वृद्धि हुने बताए । उनले भने, ‘बलात्कार बढ्नुमा समाज मुख्य जिम्मेवार छ ।

हामी बाँचेको समय र समाजले आजको पुस्तालाई के सिकाउँदै छ भन्ने देखाउँछ बलात्कारजस्तो जघन्य अपराधको संख्या बढ्नुले ।

सामाजिक मूल्य, मान्यता, नैतिक ज्ञान र आचरण ध्वस्त हुँदै गएपछि आठ महिनाको शिशुदेखि सत्तरी वर्षीया हजुरआमा बलात्कृत हुन पुग्छन् ।’

उनका अनुसार बलात्कारपछि कानूनबाट उम्कने अनेक प्वाल बनाइएका छन् । कतिपयले तर्क गर्ने ‘राम्रा’ कानून व्यवसायीको भरमा सामान्य धरौटीमा छुट्ने मौका पाउँछन् ।

कतिपय पाँच–सातवर्ष जेल जानेबाहेक अरु दण्ड–सजायको व्यवस्था नहुँदा बलात्कारीमा डर, लाज हराएको समाजशास्त्री शर्माले बताए ।

उनले भने, ‘कानून बलियो बनाए पनि कार्यान्वय पक्ष फितलो भएपछि हरेक दिन कुनै न कुनै बालिका, किशोरी वा महिलाहरू पुरुषबाट बलात्कृत भइरहनेछन् ।

यसका लागि बलात्कारको बढ्दो घटनाक्रमलाई ध्यानमा राखेर ऐन, कानून परिवर्तन गर्नुपर्छ । सामाजिक मूल्य र मान्यताको आधारमा आचारण कायम गर्नुपर्छ र नयाँ पुस्तालाई आजैदेखि सामाजिकीकरणमा जोड दिनुको विकल्प छैन ।’

विश्वव्यापी रूपमा समाजशास्त्री, समाज विज्ञानी, मनोविज्ञानीहरूले समाजमा बलात्कारका घटना हुनुमा पाँच प्रमुख कारण बताएका छन् ।

उनीहरूका अनुसार पहिलो कारणमा पुरुषको मानसिक दुर्बलता र महिलाप्रति समाज र राज्यले बनाउने अपमानजनक अवधारणा रहेको छ । बलात्कार घटना पुरुषको विकृत सोचको परिणाम मानेका छन् ।

दोस्रो कारणमा नशालाई लिएको छ । नशालु पदार्थ सेवनको कारण पुरुषको सोच विकृत हुने र त्यसले महिलालाई यौन शिकारको रूपमा मात्र देख्नु पनि प्रमुख कारण मानिन्छ ।

नशाको कारण समाजमा हुने बलात्कारमध्ये ७० प्रतिशत हिस्सा ओगटेको बताइन्छ । समाज विज्ञानीहरूले यस्ता नशाजन्य पदार्थमा कडा प्रतिबन्ध गर्नु नै बलात्कार, यौनहिंसाको समाधानको मुख्य उपाय बताएका छन् ।

तेस्रो कारणमा समाजमा गुण्डा, डनहरू बढ्नु पनि महिला बलात्कृत हुने अर्को प्रमुख कारण बताइएको ।

डन, गुण्डागिरी गर्नेहरूले आफूसँगै आसेपासेहरूलाई पनि पालेर ‘ग्याङ’ बनाउने र त्यस्ता ग्याङलाई कतै न कतैबाट राजनीतिक आशिर्वाद वा संरक्षण हुन्छ ।

यस्तो ग्याङले चोरी, लुटपाट, अपहरणसँगै बलात्कार गर्न नहिच्किचाउने हुनाले महिलालाई यस्ता ‘ग्याङ’ ले सोझै बलात्कार गर्न सक्ने औंल्याएका छन् ।

समाजमा बलात्कार बढ्नुमा प्रहरी प्रशासनको असक्षमता अर्को प्रमुख कारण बताइएको छ । प्रहरी प्रशासन कुनै पनि हालतमा कमजोर हुँदैन तर बलात्कारीलाई पक्राउ गर्ने र कारबाही गर्ने इच्छाशक्ति नहुनु उसको कमजोरी बन्न पुगेका समाजमा बलात्कारका घटना बढ्छ ।

हाई प्रोफाइलका पुरुषले कुनै महिलालाई बलात्कार गरेको अवस्थामा प्रहरीले त्यस्ता पुरुषलाई पक्राउ गर्न हिच्किचाउने गरेको छ ।

कानून सबैको लागि बराबरी हुँदाहुँदै पनि यस्तो अवस्थामा हाई प्रोफाइल भएका पुरुषले डर, धाक, धम्की दिएर महिलामाथि बलात्कार गर्ने र सजाय पाउनबाट उम्कने गरेपछि दण्डहिनताले प्रसय पाउने गर्छ । बलात्कारका सवै मुद्धालाई फास्ट टूयाक मार्फत अदालतमा सुल्झाउनु पर्ने समाजविज्ञानी शर्माले बताए ।

समाजमा महिलाहरू बलात्कृत हुनुमा उनीहरूको कमजोर आत्मविश्वासलाई पनि मानिएको छ । महिलाले जहिले पनि पुरुषलाई नै आफ्नो संरक्षकको रूपमा मान्ने गरेको अवस्थामा सानोमा बाबुले ठूली भएपछि लोग्नेले, वृद्ध भएपछि छोराले संरक्षण दिन्छ भन्ने शास्त्रीय मान्यताका कारण महिलाहरूले पुरुषलाई नै आफ्नो संरक्षक मान्ने गरेका छन् ।

भलै आधुनिकतासँगै शहरीकरणले महिलाहरूको आत्मविश्वास किन नबढोस् तर समाजमा अत्यन्तै थोरै महिलाहरूमात्र छन्, जो आत्मविश्वासले भरिपूर्ण छन् ।  शर्माले भने, ‘आधुनिकताका बीचमा पनि नेपाली समाजको संस्कार र संस्कृति यस्तो छ कि परनिर्भर हुनेखालको लालन–पालन, शिक्षा–दीक्षा दिने वातावरणमा उनीहरू हुर्किरहेका हुन्छन् ।

विवाह भएपछि लोग्नेको घर नै उसको आश्रयस्थल बन्छ भन्ने पुरानो मान्यतालाई मन मस्तिष्कमा छिराइन्छ ।

समाजमा आफै स्थापित हुन सक्छु, बाबु वा लोग्नेको परिचयबाट स्थापित हुन आवश्यक छैन भन्ने आत्मविश्वास उनीहरूमा नजगाएसम्म पुरुषको नजरमा उनीहरू अबला नै ठहरिन्छन् र पुरुषको नजरमा अबला ठहरिनु कुनै पनि बेला बलात्कृत हुने ‘चान्स’ रहिरहन्छ ।’

एक अध्ययनअनुसार १८ देखि २४ वर्ष आयुका पुरुषबाट सबैभन्दा बढी बलात्कारका घटना हुने गरेका छन् । पुरुषले आफ्नो यौनइच्छा पूरा गर्नलाई महिलालाई बलात्कार गर्छ भन्ने आम मान्यता छ तर वास्तवमा त्यस्तो विरलै हुने मनोवैज्ञानिकहरूको धारणा छ ।

महिलामाथि बलात्कार हुनु भनेको बदलाको भावनाले मुख्य भूमिका खेलेको हुन्छ । अर्थात् महिला विरोधी भावना अत्यधिक हुनेले बल प्रयोग गरेर आवेशमा बलात्कार गर्छ ।

त्यसबेला यौनसुख गौण हुन्छ भने बलात्कार गरेर महिलासँग बदला लिएको भावना प्रधान हुने मनोविज्ञानीहरूले बताएका छन् । यो एक प्रकारको परिपीडन सुख पनि हो ।

जो खराब हुन्छ । बलात्कारका घटनामध्ये ४५ प्रतिशतमा पुरुषले आफ्नो पुरुषत्व शक्तिको घमण्ड प्रदर्शन गर्ने गर्छ । बलात्कारीलाई उचित दण्ड, सजाय अभाव हुनु, पीडित महिलाले बलात्कारका घटनालाई गोप्य राख्नु, प्रहरी प्रशासनप्रति विश्वास नहुनु, न्यायिक क्षेत्रप्रति पनि विश्वास नहुनु आदि कारणले पुरुष बलात्कार गर्न सदैव प्रोत्साहित हुने गरेको विश्लेषकहरू बताउँछन् ।

सम्पर्कः ९८५२०५६२९० (सिङ्गक मेन्छ्यायेम एफएम तेह्रथुमकी पूर्व स्टेशन म्यानेजर तथा हाल स्वतन्त्र पत्रकार हुन् ।)