दशैं मान्न गाउँ आएकाहरु धमाधम राजधानी फर्किदै छन् । राजधानी जाने सवारीहरुलाई यतिखेर छोइसक्नु छैन । तोकिएको भाडाभन्दा बढी असुली गरिरहेको यात्रुहरुले बताउँदै आइरहेका छन् ।

काठमाडौं पुगेर कार्यालय तथा अन्य काम भ्याउनु पर्ने भएकाले पनि जति भने पनि तिर्दै गइरहेका छन् । सरकारले तोकेको भाडादर यहीबेला उल्लङ्घन हुने गरेको छ । तर सम्बन्धित निकाय आँखामा पट्टी बाँधेर बसेको छ ।

सवारीहरुले यात्रुलाई लुटिरहँदा पनि प्रशासन मौन बस्नुले मिलिभगतको सम्भावना छ कि भन्ने आशङ्का उब्जाएको छ । अनुगमन तथा छड्के जाँचको अभावमा सर्वत्र फौबञ्जारी प्रवृत्ति मौलाएको छ ।

जसले जे गर्दा पनि हुने प्रवृत्तिले देशलाई गाँजेको छ । अहिले स्थानीय, प्रदेश र सङ्घीय सरकार हुँदा पनि नागरिकले सरकार हुनुको कुनै अर्थ प्राप्त गरेका छैनन् ।

नागरिकबाट चर्को भाडा असुली गरिरहेको समाचारहरु आइरहँदा पनि कारबाहीका लागि पहलसम्म नर्गनुले यात्रुमात्रै हैन, आमनागरिक नै अचम्मित बनेका छन् ।

अझ यात्रुले उजुरी गरेर कारबाही गर्छौं भन्दै ओठे जवाफ फर्काउने प्रशासनको बानी अझै फेरिएको छैन । पत्रकारले सोधिहाले कस्ले त्यस्तो गरिरहेको छ हामीलाई सूचना दिनुस् भन्दै कारबाही गर्छु झैं गर्ने प्रवृत्ति हट्न सकेको छैन ।

अनुगमनका अधिकार जिल्ला प्रशासनसँगै स्थानीय सरकारलाई पनि छ । तर स्थानीय सरकार थाहा पाए पनि नपाए झैं गरिरहेको छ ।

कतिपय आफ्ना अधिकारबारे अनभिज्ञ नै छ । यस्तो अवस्थामा स्थानीय सरकारलाई भन्नुको कुनै तुक छैन ।