धरान/नेवा सांस्कृतिक उत्थान मञ्चले नेवारको मौलिक दुर्लभ नाच चर्या नृत्य प्रदर्शन गर्ने भएको छ ।  शुक्रबार पत्रकार सम्मेलन गर्दै मञ्चले कात्तिक १२ गते भानुचोकमा नृत्य प्रदर्शन गर्ने भएको हो ।

दुर्लभ चर्या नृत्यसँगै महामञ्जुश्री, कौमारी, काली, भैरव र बज्रयोगिनी साथै आधुनिक नृत्यसमेत प्रदर्शन गरिने कार्यक्रमका मूल संयोजक विश्वबन्धु ताम्राकारले जनाए ।

चर्या नृत्य बुद्ध धर्मको तान्त्रिक विद्याको एक सशक्त कला प्रस्तुति हो । कलाकारले ध्यानश्चर्या अर्थात् ध्यानभावमा ढालिएर नृत्यद्वारा प्रस्तुति दिने गर्दछन् ।

यस नृत्यमा पञ्चबुद्ध मानिएका अक्ष्योम्य, रत्नसम्भव, अभिताभ, अमोधसिद्धि र वैचोरनका ध्यानमुद्रा र ध्यानभावलाई आत्मसाथ गरी नृत्यमा प्रस्तुत गरिन्छ ।

बज्रयानी बुद्धदर्शनमा आधारित नृत्य ध्यानको भावधारामा चुर्लुम्म डुबेर नृत्य गरिने गरिन्छ । मञ्चले नेवारी सङ्ग्रहालय भवन (नेवा छे) निर्माणसमेत गर्ने उद्देश्य लिएको ताम्राकारले जानकारी दिए ।

पञ्चकुमारी नृत्य पञ्चकन्या देवी अहिल्या, कुन्ती, मन्दोदरी, तारा र द्रौपदी उपासना देवी ब्राम्ही वैष्णवी, महेश्वरी कुमारी र वराहीको आकृतिमा नृत्य गर्ने छन् ।

धरान–१४ स्थित पञ्चकन्या मन्दिरबाट प्रारम्भ गरी पञ्चकुमारी बनाई निकालिने नेवा उत्थान मञ्चका अध्यक्ष चन्द्र हलवाईले बताए ।