पथरीशनिश्चरे / युवा पुस्तालाई सृजनशील बनाउने अभियानमा जुटेका झापा दमकका कलाकार शंकर विश्वकर्माले यसपटक फरक तरिकाले ‘मिस दमक आइकन’ सम्पन्न गरेका छन् । आफुले खडा गरेको संस्था शंकर आर्ट फाउन्डेशनमार्फत दमक जेसीजसंगको सहकार्यमा दशैं तिहारको अवसर पारी शंकरले महिला हिंसा विरुद्धको अभियानसँग जोडेर फाइनल प्रतिष्पर्धामा १२ किशोरीलाई स्टेजमा उतारे । जहाँ उनीहरुले हिंसाबाट पीडा व्यहोरेको घाउजन्य शरीर र मानसिक पीडा झल्किएको अनुहार अनि हाउभाउले सवैलाई प्रभावित पार्यो । डिजिटल पर्दामा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको आकृतिको अघिल्तिर १२ किशोरीहरु विभिन्न आकृतिजन्य हिंसात्मक अवस्थाका चल्ने तस्वीर सामु अभिनयमा डुबेका थिए । परिचय राउण्डको यो दृष्यले मन तान्यो अनि बालप्रतिभाहरु कृतिका खरेल, कार्लाेस रिजालसहितले महिला हिंसा विरुद्धका गहन अभिव्यक्ति दिँदा दर्शकदीर्घामा रहनेहरुका आँशु झरे ।

नेपाली चलचित्रका पुराना र प्रभावशाली निर्देशक लक्ष्मीनाथ शर्माका साथमा कला क्षेत्रका दिनेशराज शर्मा, भूपेन्द्र तिम्सिना र मिस टिन नेपालकी फस्ट रनरअप मेरी लिम्बूको निर्णायकत्वमा इस्मा पौडेल ‘मिस दमक आइकन’ वन्न सफल भइन् । फस्ट रनरअपमा दिपमा खुलाल वस्नेत, सेकेन्ड रनरअपमा लक्ष्मी सेवा लिम्बूले उपाधि हात पारिन् । जसमा नगदतर्फ क्रमशः ५० हजार, ३० हजार र २० हजार सहितका पुरस्कार हात पारे । प्रतिष्पर्धामा भनें कृतिका रिजाल, एञ्जल वस्नेत, प्रविना राई, उर्मिला अधिकारी, याङ्की शेर्पा, कुलसङ्ग राई, सहारा राई, शर्मिका श्रेष्ठ र निर्मला गुरुङ समेत उत्कृष्ठ १२ को छनौटपछि फाइनल राउण्डमा बाहिरिए ।

कार्यक्रमका प्रमुख अतिथि १ नम्वर प्रदेशका कानून मन्त्री हिक्मत कार्कीले महिलाहरुले मुक्तिको अभियानका रुपमा यसखाले प्रस्तुति अघि बढाउनु सान्दर्भिक भएको जनाउँदै प्रस्तूति प्रभावकारी भएको प्रतिक्रिया दिए । सो अवसरमा नेपाली चलचित्र ‘नाइनभन्नु ल ५’ की बाल नायिका दमक निवासी सेड्रिना शर्मालाई सम्मानित गरियो । ‘प्रतिभा प्रष्फुटनका नाममा चिटिक्क परेको बाहिरी रुपलाई मात्र र्याम्पमा उतार्नु भन्दा सवैभित्र रहेका सम्भावनारुपी भित्री सुन्दरतालाई उजागर गर्ने र समसामयिक तथा सन्देशमुलक बनाउने काम गर्नु आजको आवश्यकता हो भन्ने ठानेर त्यस्तै कोशिसमा छु ।’– अभियानका अगुवा शंकरले हँसिलो मुहार पार्दै गम्भिरशैलीमा भने ।