रासस/ करिब ३० वर्ष पहिले अर्थात् शीतयुद्धकालीन समयमा अमेरिका र रूसबीच भएको आणविक हतियार सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले ‘दोहोराएर सोच्नुपर्ने’ चीनले सोमबार जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता सन् १९८७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड रेगन र रूसी राष्ट्रपति मिखायल गोर्भाचोभबीच भएको मध्यम दूरीको आणविक हतियारको प्रयोग रोक्न गरेको सम्झौताबाट पछि हट्ने घोषणा गरेका थिए । उक्त सम्झौताले तत्कालीन दुई प्रतिस्पर्धी मुलुकबीच ५०० देखि पाँच हजार ५०० किलोमिटर जमिनबाट जमिनमा मार हान्नसक्ने मिसाइलको प्रयोगमा रोक लगाएको थियो ।

तर अमेरिकी राष्ट्रपति ट्रम्पले केही दिन पहिले उक्त सम्झौताको रूसले विगत केही वर्ष यता उल्लङ्घन गर्दै आएको र चीनले उक्त सम्झौतामा हस्ताक्षर नगरेकोले यस्ता हतियार विकास गर्न स्वतन्त्र रहेको जिकिर गर्दै वासिङ्टन यसबाट फिर्ता हुने योजना सार्वजनिक गरेका थिए ।

अमेरिकी रिपब्लिकन पार्र्टीका दुई सांसद लिन्डसी ग्राहम र बब कर्करले आइतबार ट्रम्पको चिन्ताप्रति समर्थन जनाउँदै सम्झौताले अमेरिकालाई पछि पारेको र चीनलाई अघि बढ्न सहयोग भएको बताएका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले सोमबार भने, ‘आणविक सम्झौताबाट फिर्ता हुने सन्दर्भमा चीनलाई जोड्नु गलत हुने कुरालाई जोड दिनु आवश्यक देखिएको छ ।’

सम्झौताले विश्वलाई निशस्त्रीकरण प्रक्रियालाई अघि बढाउन, रणनीतिक सन्तुलन स्थापित गर्न र विश्वव्यापी स्थायित्वका लागि महत्वपूर्ण भूमिका खेलेको हुवाको धारणा थियो ।

सम्झौताबाट एकतर्फीरूपमा फिर्ता हुनुले धेरै नकारात्मक असर पार्दछ, उनले सञ्चारकर्मीसँगको नियमित भेटघाटमा भने । अमेरिकालाई सङ्केत गर्दै सम्बन्धित पक्षले सम्झौताबाट फिर्ता हुने निर्णयबारे दोहो¥याएर सोच्नेमा चीन विश्वस्त रहेको हुआले बताए ।

सम्झौताबाट पछि हट्नु संयुक्त राज्य अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने रूसी उप विदेशमन्त्री सर्गेइ ¥यावकोभले आइतबार भने । विदेशमन्त्री ¥यावकोभले रूसी समाचार संस्था तासलाई भने, ‘म विश्वस्त छु, अमेरिकी कदमको अन्तराष्ट्रिय समुदायले आलोचना मात्रै गर्ने छैन । अमेरिकी ‘खतरनाक कदम’को विश्वभर निन्दा हुनेछ ।’

तत्कालीन सोभियत सङ्घका राष्ट्रपति मिखाइल गोर्भाचोभले पनि ट्रम्पको घोषणालाई ‘अविवेकी निर्णय’ भन्दै आलोचना गरेका छन् । ‘अमेरिकाले आणविक निशस्त्रीकरणका लागि गरिएको पुरानो सम्झौतालाई तोड्नु विल्कुल गलत हुनेछ,’ गोर्भाचोभले इन्टरफ्याक्सलाई बताए ।

उनले सहमतिबाट फिर्ता हुने अमेरिकी तयारीलाई बुझ्नु निकै कठीन परेको बताए । ‘यो घोषणाले विवेकको कमीलाई देखाउँछ,’ गोर्भाचोभले थपे ।