वराहक्षेत्र/ दशैं, तिहार र छठ पर्व लगत्तै आउँदो महिनादेखि वराहक्षेत्रमा प्रसिद्ध हरिबोधनी एकादशी कार्तिके मेला शुरु हुने भएको छ । कार्तिके मेलापछि माघ महिनामा मकर मेलाको भिड शुरु हुन्छ । त्यसको १ महिनापछि नेपालकै सबैभन्दा ठूलो भिड हुने कुम्भ मेला चैतमा लाग्ने भएको छ ।

कार्तिके मेलाबाट शुरु भएको देशी–विदेशी धार्मिक पर्यटक श्रद्धालुहरूको चर्को भिड कुम्भ मेला नसकिएसम्म रहन्छन् । मेलामा एकसाथ लाखौंको भिड लागेपछि वराहक्षेत्रको वडा नम्बर १ र २ का मुख्य बयरवन र चतरा बजार तथा बाटो भरिभराउ हुन्छ । बजारमा खुट्टा राख्ने ठाउँ हँदैन ।

धेरै भिड हुने यस्ता मेला र धार्मिक आयोजनाहरूमा वराहक्षेत्रको एकमात्र चतरा बसपार्क मान्छे नथेग्ने गरी भरिन्छ । सवारी साधनहरूको अव्यस्थित भिड र यात्रुको चापले गर्दा बजारक्षेत्र नै अस्तव्यस्त हुने गर्दछ ।

बसस्टेण्डमा धरान, चतरा र झुम्का गरी सयौं बसहरू छन् । उदयपुरको रामपुरदेखि चतरा बस सञ्चालन भएपछि गाडी थपिएका छन् । टेम्पो, सफारीहरू पनि त्यही पार्क हुने गर्दछन् । यसले बसपार्क धेरै व्यस्त हुने गर्दछ ।

अहिलेको ‘अफ’ समय केही हदसम्म राहत भए पनि बढी भिड हुने धार्मिक आयोजना चाडपर्वमा अचाक्ली अनियन्त्रित भिड हुने गर्दछ । आम स्थानीय देखि सवारी चालकहरू, ट्राफिक प्रहरी, पसललेहरू सबै हत्तुहैरान हुने गर्दछन् ।

यी सबै समस्याको एकमात्र उपाय चतरामा अहिले भएको बस पार्कको साटो फराकिलो व्यवस्थित, आधुनिक बसपार्क निर्माण गर्नु रहेको छ ।

त्यसको लागि जग्गा पनि छ , तर त्यसको कार्यान्वयनमा कुनै ध्यान दिइएको देखिँदैन । भिड भयो मेलापात लागुञ्जेलसम्म त्यसलाई वैकल्पिक बसपार्क रूपमा प्रयोग गरिन्छ । मेला सकियो त्यसको औचित्य पनि सकिन्छ ।

फेरि अर्को पटक चाडपर्व आउँछ पुनः उही प्रक्रिया दोहोरिने गरेको छ । वराहक्षेत्र नरगपालिकाको वडा नम्बर १ स्थित रहेको लालबस्तीको पूर्व तथा गैरीटोलको पश्चिम धरान चतरा सडकखण्डसँग जोडिएको उक्त विकल्पको रूपमा प्रयोग गरिने जग्गा रहेको छ ।

यस अघि भारतीय केन्द्रीय सरकारको मातहातमा भएको ‘सोइल कन्जरभेसन’ कार्यालयले प्रयोग गरेको ५ बिघा ९ कट्ठा १७ धुर जग्गा ‘कन्जरभेसन’ ले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि खाली रहेको स्थानमा तत्कालीन वराहक्षेत्र गाविसले २०६८ सालमा वैकल्पिक बसपार्क बनाउने निर्णय गरेको थियो ।

बसपार्कमा गाविसको आर्थिक रकमले घेराबेरा गरिको थियो । ातर, निर्णय कार्यान्वयन हुन नपाउँदै एक वर्षपछि वि.स.२०६९/११/८ गते पूर्वमा गौरीपूल, पश्चिम आदर्श माविको जग्गा, उत्तरमा धरान–चतरा मूल सडक तथा दक्षिणमा रेल्वेलाइनको बाटो चारकिल्ला भएको भन्दै जग्गाको हकदाबी गरिएपछि बसपार्क बनाउने भनिएको जग्गा गाविसले विराटनगरककी शान्ता दङ्गाललाई दिने सिफारिस गरेको थियो ।

त्यसको केही समयपछि पुनः वराहक्षेत्र वासीले बसपार्क त्यही बनाउनु पर्ने भन्दै चर्को माग गरेपछि गाविसले भीम न्यौपानेको संयोजकत्वमा बसपार्क घेराबेरा निर्माण समिति बनाइ सो जग्गामा काँडे तारले घेराबेरा गरेको थियो ।

तर त्यसपछिबाट रोकिएको काम अहिलेसम्म शुरु हुन सकेको छैन । अहिले स्थानीय सरकारसमेत रहेको भएपनि वराहक्षेत्रमा यातायात व्यवस्थापनका लागि उत्तम विकल्प, सबैलाई सहज र सजिलो हुने बसपार्क ६ वर्ष लाग्दासम्म शुरु हुन नसकेको स्थानीयले गुनासो गरेका छन् ।

अहिले त्यहाँ औलिया बाबा सामुदायिक वन उपभोक्ता समूहले वृक्षरोपण गरेको अवस्था छ । हाल भएको चतरा बस स्टेण्ड आदर्श माविको जग्गामा सञ्चालन भइरहेको छ ।

करिब १० कट्ठा क्षेत्रफलमा रहेको उक्त जग्गा यातायात व्यवसायीले वार्षिक ४ लाख रुर्पैयाँमा १० वर्षको लागि ‘लिज’मा दिएको आदर्श माविका प्रधानाध्यापक प्रह्लाद भट्टराईले बताए ।

विद्यालयले आउँदो समयमा होटल म्यानेजमेन्टको अध्यापन शुरु गर्ने भएको छ । त्यसका लागि अहिलको जग्गा पर्याप्त नहुने भएकाले चतरास्थित उक्त जग्गामा भवन बनाइने प्रधानाध्यापक भट्टराईले बताए ।

यस अर्थमा ढिलोचाँडो वैकल्पिक बसपार्कको अर्को विकल्प देखिँदैन ।

हाल प्रयोगमा आइरहेको बसपार्क अत्यन्त साँघुरो र अव्यवस्थित रूपमा सञ्चालन भइरहँदा पनि स्थानीय बुद्धिजीवी, व्यापारी, राजनीतिक दल, मानव अधिकारवादीका अगुवा स्थानीय प्रशासनिक निकायलगायत अन्य सम्बद्ध पक्षहरू देखेर पनि नदेखेकोजस्तै गरी बसिरहनु आश्चर्यको विषय भएको छ ।

वैकल्पिक बसपार्कका लागि चतराका यातायात व्यवसायी पनि सकारात्मक छन् । त्यस स्थानमा व्यवस्थित तथा आधुनिक बसपार्क निर्माण गरिए आफूहरू त्यहा“ बस सञ्चालन गर्न तैयार भएको बताउँछन् ।

अहिले धरान–चतरा– गाईघाट सडक यसैगरी पकली–चतरा सडक निर्माण भइरहेको छ । उता पूर्वको पा“चथरबाट वराहक्षेत्र हुँदै पश्चिम बैतडीसम्मको मध्य पहाडी लोकमार्गमा बनिरहेको छ ।

काम नसकिँदै उदयपुरको गाईघाट, सुपाडेलगायत स्थानबाट धरान, विराटनगर, इटहरीजस्ता शहरका लागि गाडी कुद्न थालेका छन् ।

जसले गर्दा हालको बसपार्क सा“घुरिँदै गएको गाडी व्यवसायी बताउँछन् । यस अवस्थामा धार्मिक, सांस्कृतिक, सामाजिक, पुरातात्विक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण वराहक्षेत्रको दीर्घकालीन विकासमा बसपार्कको निर्माण अत्यावश्यक बनेको छ ।