भुइँमा शीत खस्न थालेछ । यो असोज लागेको सङ्केत हो । बिहान ठिही बढ्न थालेछ । सूर्यको किरणसँगै शीत मोतीका दानाझैं टल्किन्छन् । बाल मस्तिष्कलाई असोजले रोमाञ्चित बनाउँछ ।

यो दशैं आउने महिना हो । बैशाख लागेदेखि नै दशैं आउने महिना हातका औंलामा गनिन थाल्छन् ।

असोज लागेपछि घर लिपपोत गर्न माटोको जोहो शुरू हुन्छ । रातो माटो, कमेरो माटो । गाउँभन्दा झण्डै ढेड घण्टा पैदल हिंडेपछि पुगिने त्यो ठाउँ ।

आमा, दिदी तथा गाउँले दिदीबहिनी भेला भएर माटो लिन पुग्छन् । कसले धेरै र राम्रो माटो ल्याउने प्रतिस्पर्धा त चल्छ नै । अझ, कसले घर राम्रो लिपपोत गर्ने भन्ने प्रतिस्पर्धाको त कुरै छाडौं ।

कसले घर राम्रो लिपेको छ भनेर हेर्न पनि प्रतिस्पर्धा नै चल्थ्यो । गाउँघरमा हरेक बिहान ढिकीजाँतोका आवाजहरू सुनिन थाल्छन् । बिहानको रातदेखि ढिकी चलेको आवाजले दशैंका लागि चिउरा, चामलको जोहो हुँदै छ भन्ने अनुमान लगाउन गाह्रो पर्दैन ।

दशैंका लागि नयाँ धान पाकेको छ । दशैंमा पाक्ने गरी धान लगाउने चलन पनि पुरानो भइसक्यो । दशैंका लागि खसीबोका पाल्ने र काट्ने दिन गन्दै बस्ने ती दिनहरू ताजै छन् ।

बाल मस्तिष्कमा दशैं टीका लगाउने मात्रै होइन, मासु खाने र नयाँ ‘नाना’ लगाउने पनि हो । दशैंमा दाजुभाइका लागि एउटै पोसाक । तलदेखि माथिसम्म एकै खाल्का पोशाक हुन्थे ।

लुगा सिलाउने दमाईको घरमा दशौं पटक पुग्थ्यौं । सिलाएको छ–छैन भन्दै जाँच्न । दशैंको ‘नाना’ ले विद्यालयको पोशाकको काम गथ्र्यो । विद्यालयमा निश्चित पोशाक थिएन । जुनै लगाए पनि हुने ।

त्यसैले नयाँ ‘नाना’ लगाउन दशैं नै कुर्नुपथ्र्यो । ‘हुने खाने र हुँदा खाने’ बीचको फरक सायद यही होला ।

शीत झर्न थालेपछि नै मन त्यसै–त्यसै रोमाञ्चित बन्थ्यो । असोजले खुसी ल्याउँथ्यो । घरको सिङ्गारपटारदेखि मान्छेको सिङ्गारपटार पनि यही महिनामा हुन्थ्यो । अन्य बेला सामान्य ।

यही बेला दुहुना, टपरा बुनिथ्यो । मासुचिउरा खानका लागि टपरा, दुहुनाको प्रचलन थियो, अहिलेजस्तो विभिन्न आकृति तथा रङ्गका थाल, बटुका थिएनन् । सालको पात टिपेर हरेक रात अबेलासम्म दुहुना, टपरा बुन्ने चलन हुन्थ्यो ।

आमाले दुहुना टपरा बुन्न थालेपछि हाम्रो पनि निद्रा हराउँथे । अब दशैं आउन यति दिन बाँकी भन्दै औला भाँच्थ्यौं । दशैंका बेला गाउँघर डुल्थ्यौं । हरेकका घरमा मासुचिउरा, केरा हुन्थ्यो ।

छिमेकी घर जहाँ गए पनि दुहुना टपरामा मासु चिउरा दिने प्रचलन हुन्थ्यो । उमेरअनुसार दुहुना, टपरामा मासुचिउरा दिने चलन थियो । फूलपातीका दिन गाउँघरमा राँगा, बोका, खसी ढल्न शुरू हुन्थे ।

२०–३० घर मिलेर मोलमोलाइमा राँगा, खसीबोका ल्याउँथे । फूलपातीका दिन काटिन्थ्यो । भागमा मासु लगाउने चलन थियो । त्यही भागमध्येको एक भाग वा दुई भाग ।

पैसाअनुसारको भाग लिएर आयो । त्यसैले दशैं बित्थ्यो । पाहुना टर्थे, तिहारसम्म पनि रहन्थ्यो । गाउँघर तिर यो प्रचलन अहिले पनि कायम छ । सहरमा यो चलन विस्तारै हराउँदै छ ।

हरेक घरमा दशैंका बेला मासु, चिउराको सुगन्ध आउथ्यो । गच्छेअनुसारको दशैं हुन्थ्यो । हाम्रो गाउँमा केही बाहेक अधिकांसले टीका लगाउने प्रचलन थियो । समावेशी गाउँ ।

ब्राम्हण, क्षेत्री, राई, लिम्बू, दलित, चौधरी, राजवंशी, मुस्लिम, मधेशी, सन्थाल सबै–सबैको बसोबास छ । मुस्लिम र मधेशीबाहेक सबैले टीका लगाउने प्रचलन थियो ।

राई, लिम्बूले पनि आ–आफ्नै परम्पराअनुसार टीका थाप्ने चलन थियो । केहीले सेतो टीका नै लगाउथे । केहीले रातो । राई र लिम्बूमा आंशिकले मात्रै टीका लगाउदैन थिए । तर, दशैं मनाउथे । मासु चिउरा खान्थे ।

धेरैपछि लिम्बूहरूले टीका लगाउन छाडे । पञ्चायतको समाप्तिसँगै प्रजातन्त्र आएपछि । खैं किन हो ? टीकाको प्रचलन विस्तारै हराउँदै गएको थियो ।

त्यही कालमा राष्टिूय जनमुक्ति पार्टीका नेता गोरेबहादुर खपाङ्गीले टीका लगाउन नहुने उर्दी जारी गरेका थिए । उनले हिन्दूहरूको चाड भनेर चित्रित गरेका थिए ।

सायद त्यही भएर धेरै लिम्बूहरूले लगाउँदै आएको दशैं चटक्कै भुल्दै थिए । पछि खपाङ्गीले नै राजाको हातबाट टीका लगाएको रेडियोमा समाचारहरू सुनिए ।

राजनीतिज्ञहरू भोटका लागि राजनीति गर्छन्, त्यहीबेलादेखि यो बाल मस्तिष्कमा पनि छिरेको हो । आफूलाई जता पायक पर्छ उस्तै खाल्को राजनीति गर्ने हाम्रो नेपाली राजनीति संस्कार अहिले पनि उस्तै गरी बसेको छ ।

कहिले समाप्त होला यस्तो राजनीति प्रवृति ? यही राजनीतिले मेरो समावेशी गाउँलेको निधार खाली गर्दैछ । अहिले छिटफुटबाहेक सबैजसोले दशैं मनाउँदैनन् । मासु खाने प्रचलन पनि धेरै कम भएको छ ।

चिउरा कुटाउने, दुहुना टपरा गुत्थ्ने प्रचलन पूरै हराएको छ । आफ्नो फाइदाका लागि गर्ने राजनीतिले देशलाई गाँजेको छ । हाम्रा मौलिक परम्पराहरू नासिदै छन् । यही परम्पराले मेरो देश समृद्ध थियो ।

इतिहासमा गर्व गर्न लायक मौलिक परम्परा सकिँदै गए भने देशको पहिचान पनि विस्तारै मेटिने छ । सबै धर्म, सबै जातजाति तथा परम्परालाई कायम गर्नु पनि शिक्षित नागरिकको कर्तव्य हो ।

अझ देशको मूल नीति ‘राजनीति’ सञ्चालन गर्ने सञ्चालकले त परम्परा जोगाउनु पहिलो कर्तव्य बन्न जान्छ । राईको उँभौली–उँधौली, लिम्बूको चासोक तङ्नाम मात्रै हैन, नेपालमा रहेका १२३ भाषी नेपालीहरूको आ–आफ्नो परम्परालाई संरक्षण गरिदिने पहिलो कर्तव्य राजनीतिज्ञहरूको हो ।

दशैंमात्र हैन, हरेक पर्व समावेशी बनाइनुपर्छ । त्यसतर्फ राजनीतिज्ञ सचेत हुनुपर्छ । अनि मात्रै मेरो गाउँलेको निधार भरिदै जान्छ । समावेशी चाडले मात्रै देशलाई समृद्ध बनाउँछ ।

परम्परा समृद्ध बन्छ । र, यही परम्पराको अध्यनन अनुसन्धान गर्न विदेशीहरू नेपाल भित्रिन्छन् । त्यही मार्ग नै हाम्रो लागि धार्मिक पर्यटनको पहिलो आधार बन्ने छ ।

विकाससँगै हाम्रा परम्परा, तथा संस्कृति नासिए भने त्यो खोक्रो विकास मात्रै हुनेछ, त्यो खोक्रो समृद्धि मात्रै हुनेछ । हरेक पर्वलाई साझा बनाउन राज्य लाग्नुपर्छ । राज्यले संरक्षण गरेमात्रै हरेक जातले आफ्नो मौलिक परम्परा, संस्कृतिलाई संरक्षण गर्छन् ।

अनी मात्रै हाम्रो थलोहरू अध्ययन–अनुसन्धानको केन्द्र बन्छन् । जसले आर्थिक उपार्जन मात्रै गर्दैन, पर्यटनको आधार बन्न सक्छ ।