१९औं शदीमा भएको औद्योगिक क्रान्तिसँगै माक्र्सवादको विकास भएको देखिन्छ । जर्मन विचारधारा, फ्रान्सेली राजनीति र बेलायती अर्थतन्त्रको जगमा यसको विकास भएको हो । यही ऐतिहासिक घटना प्रक्रियाहरुलाई आधुनिक विश्व राजनीतिको आधार मान्न सकिन्छ । प्रगतिशील विचारधाराको जन्म जर्मनमा भएको थियो । यता सन् १७६५ मा वाष्प इञ्जिनको आविष्कार पछि बेलायतले औद्योगिक क्रान्तिको नेतृत्व ग¥यो । त्यस्तै फ्रान्समा सन् १७८९ मा भएको राज्यक्रान्तिले विश्व व्यवस्थामा नै नयाँ बहसको आरम्भ भयो । यसले परम्परागत सामन्तवादी उत्पादन सम्बन्धमा अन्तरनिहित सामन्त र भूदास बीचको अन्तरविरोधको चरित्रमा फेरबदल ल्यायो । अर्थात् पुँजीवादी उत्पादन प्रक्रियासँगै पुँजीपती र मजदुर बीच प्रधान अन्तरविरोध कायम रह्यो ।

यही अर्थराजनीतिक धरातलमा माक्र्सवादको जन्म भएको हो । यता औद्योगिक क्रान्तिकै गर्भबाट अराजकतावादी चिन्तनधारा पनि विकास भयो । यो माक्र्सवाद भन्दा केही जेठो चिन्तनधारा हो । सतहबाट मात्र हेर्दा अराजकतावाद र माक्र्सवाद बीच धेरै सवालहरुमा समानता रहेको छ । पहिलो दुवै चिन्तनधारा औद्योगिक क्रान्तिको सिलसिलामा विकास भएको हो । दोस्रो यो पुँजीवाद विरोधी दर्शन हो । तेस्रो यसले पुँजीवादलाई सुधार होइन समूल अन्त्य गर्न चाहन्छ ।

माक्र्सवाद र अराजकतावादले पुँजीवादलाई श्रमिक वर्गलाई शोषण र उत्पीडन गर्ने पुस्त्यौली शासन प्रणालीको संज्ञा दिन्छ । उत्पीडित वर्गको उन्मुक्ती पुँजीवादीहरुको दया र मायाबाट सम्भव हुँदैन भन्ने कुरामा विश्वास गर्दछ । साँचो उन्मुक्ती श्रमजीवि वर्गको सचेत पहलकदमीमा गरिएको सङ्घर्षबाट मात्र सम्भव हुन्छ भन्नेमा विश्वास गर्दछ । राज्यलाई शोषण, दमन र नियन्त्रणको साधन मान्दछ । दुवै दर्शनले आपसी समझदारीमा आधारित वर्गविहीन र राज्यविहीन राज्य स्थापना गर्न चाहन्छ । मुलतः दुवैले पुँजीवादी सत्तालाई ध्वस्त गर्न चाहन्छ । क्रान्तिकारी सोच र सामाजिक आन्दोलन उठानको कोणबाट दुवै समान जस्तो देखिन्छ । तर सैद्धान्तिक वर्गीय अन्तरवस्तुलाई नियाल्दा माक्र्सवाद र अराजकतावाद बीच सारभूतरूपमै भिन्नता देखिन्छ । वस्तुतः माक्र्सवाद भनेको उत्पीडित वर्गहरूलाई उन्मुक्त गराउने सङ्घर्षको दर्शन हो ।

यो लामो आन्दोलनको ऐतिहासिक प्रक्रियाबाट मात्र प्राप्त गर्न सकिन्छ । अर्थात् माक्र्सवाद भनेको समानता र न्यायमा आधारित राज्यव्यवस्था स्थापनाको लामो महाअभियान वा महाआन्दोलन हो । यसले वर्ग सङ्घर्ष वा अन्तरविरोधकै कारण राज्य अस्तित्वमा रहने सार्वभौमिकतालाई स्वीकार गर्दछ । वर्गकै कारण राज्य अनिवार्य हुन्छ भन्ने मान्यता राख्दछ । यसले राज्यसत्ता प्राप्तिपछि पनि प्रतिक्रान्तिकारी तत्व विरुद्ध लामो समय दमन र नियन्त्रणको जरुरत पर्ने हुँदा राज्यसत्तामा उत्पीडित वर्गीय अधिनायकत्व अनिवार्य हुन्छ । अर्थात् राज्यको चरित्र वर्गीय हुने कुरामा विश्वास गर्दछ । साम्यवादमा पुगेपछि मात्र राज्यसत्ताको अन्त्य हुन्छ । त्यतिमात्र होइन उत्पादक शक्तिहरुको व्यापक विकासपछि मात्र समाजवाद सम्भव हुने कुराको वकालत गर्दछ ।

यसैगरी निरन्तर क्रान्तिकारी आन्दोलनको लामो प्रक्रिया मार्फत प्रतिक्रान्तिकारी तत्वहरुको अन्त्य र भौतिक वस्तुहरुको आवश्यक्ता सुनिश्चित भएपछि भने राज्य स्वतः विलोप हुन्छ । यस्तो समाजमा राज्यसत्ताको कुनै आवश्यक्ता नै पर्दैन । साम्यवादमा मानवताको मूल्यमा आधारित उन्नत चेतनासहितको स्वतन्त्र सङ्गठनले सम्पूर्ण समाज व्यवस्थालाई परिचालन गर्दछ । यसमा प्रत्येकको स्वतन्त्रता सबैको स्वतन्त्रतामा निर्भर हुन्छ । सिङ्गो समाज उन्नत चेतसहितको एउटा सामूहिक र केन्द्रिकृत परिपूरक अङ्गजस्तो बन्दछ । माक्र्सवादले सङ्घर्षको लामो ऐतिहासिक प्रक्रियाबाट मात्र वस्तु वा सत्ताको चरित्र बदलिने कुरामा विश्वास गर्दछ । यसलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी अवधारणा भनिन्छ । यसले अवैज्ञानिक र अवस्तुवादी संस्कार संस्कृतिलाई स्वीकार गर्दैन । धर्म, रुढीवाद वा परम्परागत चिन्तनमा विश्वास गर्दैन ।

यो वैज्ञानिक, वस्तुवादी र तथ्यसङ्गत हुन्छ । चिन्तन, चेत र मनोविज्ञानको रुपान्तरण पनि आन्दोलनको ऐतिहासिक प्रक्रियामै हुन्छ भन्ने मान्यता राख्दछ । संस्कार, संस्कृति, कार्यशैली र जीवनशैलीको रुपान्तरण लामो सङ्घर्षको प्रक्रियामा पैदा हुने रापतापबाट मात्र सम्भव हुन्छ भन्ने दृष्टिकोण राख्दछ । यस अतिरिक्त माक्र्सवादले सामाजिक परिवर्तनमा सबैभन्दा मुख्य तत्व वर्गसङ्घर्षलाई मान्दछ । यो वर्गीय विचारद्वारा निर्देशित हुन्छ । उत्पादनको साधनहरुमा सामूहिक स्वामित्व, वितरण र विनिमयलाई यसले आधारभूत सिद्धान्तको रुपमा ग्रहण गर्दछ ।

माक्र्सवादले इतिहासलाई वर्गसङ्घर्ष, युद्ध र आन्दोलनहरुको निरन्तर सिलसिलाको रुपमा अङ्गीकार गर्दछ । सर्वहारा विश्व दृष्टिकोण, पार्टी नेतृत्व, हिंसात्मक क्रान्ति, वर्गसङ्घर्ष, बल प्रयोग, उत्पीडित वर्गीय अधिनायकत्व र अन्तरराष्ट्रियतावादजस्ता तत्वहरु माक्र्सवादको आधारभूत प्रस्थापनाहरू हुन् । अर्थात् माक्र्सवाद भनेको समाज परिवर्तनका लागि गरिने प्रक्रियागत क्रान्तिकारी आन्दोलन हो । वर्गसचेत, सङ्गठित र योजनाबद्ध राजनीतिक पहलकदमी नै माक्र्सवाद हो । यो वर्ग रहेसम्म राज्य रहने अनि राज्य रहेसम्म शोषण–उत्पीडन र दमन कायम रहने अनि उत्पीडन र दमन रहेसम्म वर्गीय आन्दोलन जीवित रहने सार्वभौम आन्दोलन हो । यता अराजकतावादी धारणा माक्सवाद भन्दा निकै फरक रहेको छ । यसले राज्य अस्तित्वमा रहेसम्म वर्ग अस्तित्वमा रहने कुरामा विश्वास गर्दछ ।

राज्य विनाको समाज वर्गविहीन हुन्छ भन्ने मान्यता राख्दछ । अराजकतावादले पहिला राज्यलाई अन्त्य गर्न चाहन्छ तबमात्र वर्गविहीन समाज स्थापना गर्न सकिने तथ्यमा विश्वास गर्दछ । यसले राज्यसत्ता प्राप्तिलाई मुख्य मुद्दा बनाउँदछ । तर राज्यसत्ता प्राप्तिपछि सबै आन्दोलन समाप्त हुने बनिबनाउ कल्पना गर्दछ । राज्यको आवश्यक्ता नभएको तर्क गर्दछ । तर द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी प्रक्रियामार्फत् राज्य विलोपीकरणको दिशातर्फ जाने कुरालाई यसले नजरअन्दाज गर्दछ । यो अवैज्ञानिकता, काल्पनिकता र बनिबनाउ चाहनामा आधारित देखिन्छ । यसकारण अराजकतावादीहरुले भावी समाजको सन्दर्भमा वैज्ञानिक आधार पेश गर्न सकेन ।

यो भावनाबाट निर्देशित हुनुको साथै प्रतिक्रियावादी चरित्र बोकेको हुन्छ । यसले पुरानै संस्कार र संस्कृतिलाई प्रश्रय दिन्छ । सम्पूर्ण उत्पीडित वर्ग नभएर किसानलाई मात्र इतिहासको चालक शक्ति स्वीकार गर्दछ । रुढीवादी परम्परालाई मान्दछ । यसले कुनै पनि शासनको वकालत गर्दैन । यद्यपि वर्गसमाजमा पनि यसले शासन विहीनताको पक्षपोषण गर्दछ । मान्छेले बनाएको कानूनलाई स्वीकार गर्दैन । सम्पतिलाई निरङ्कुशतन्त्रको साधन र यसैको कारण अपराध बढ्ने कुरामा विश्वास गर्दछ । मान्छेको स्वतन्त्र विकासबाट मात्र नागरिकहरूले असली न्याय पाउन सक्ने कुराको वकालत गर्दछ । यसले आफैं शासित समाज वा स्वेच्छिक संस्थाको परिकल्पना गर्दछ । राज्यविहीन समाज, स्वतन्त्र संस्था र उत्तराधिकारीविहीन मानव समाजको पक्षपोषण गर्दछ । राज्यलाई अनपेक्षित, अनावश्यक र हानीकारक ठान्दछ ।

यसलाई अति वामपन्थी विचार पनि भन्ने गरिन्छ । यसको कुनै निश्चित विज्ञानसम्मत दर्शन छैन । यो अतिव्यक्तिवाद र अतिसामूहिकतावादमा पनि अभिव्यक्त हुनेगर्दछ । वस्तुतः ग्रिक भाषाको अनारकसबाट अनारकीज्म पदावलीको विकास भएको देखिन्छ । यसको अर्थ शासनविना वा विना शासन भन्ने हुन्छ । वास्तवमा यो राज्यविहीन सङ्गठन हो । यसले आन्दोलनको ऐतिहासिक प्रक्रियाबाट नभएर लहड र सनककै भरमा परिवर्तनलाई सम्भव देख्दछ । यो उसको ठूलो सैद्धान्तिक कमजोरी हो । १९ औं शदीको आरम्भमा विलियम गड्वीन र विल्हेम भेटलिङजस्ता चिन्तकहरू अराजकतावादी थिए । तर १९  औं शदीको मध्यतिरबाट फ्रान्सका जोसेफ प्रुधोले यसको सैद्धान्तिक आधार प्रस्तुत गरे ।

अर्थात् अराजकतावादको सैद्धान्तिकरण प्रुधोले गरेका थिए । सन् १७८९ को फ्रेन्च क्रान्तिमा पनि स्वतन्त्रतावादीहरू अराजकतावादीसँग निकट थिए । स्वतन्त्रतावादी र अराजकतावादीहरूको चिन्तन प्रवृत्तिमा समानता थियो । उनी शान्तिपूर्ण तरिकाबाट नै राज्यसत्ता हत्याउन सकिन्छ भन्ने कुरामा विश्वास गर्दथे । कैयौं मुद्दाहरुमा अराजकतावाद र माक्र्सवादमा समानता देखिन्छ । तर माक्र्सवादले हरेक वस्तु वा सत्ताको विकास वा परिवर्तन निरन्तर आन्दोलनको ऐतिहासिक प्रक्रियाबाट हुन्छ भन्ने द्वन्द्वात्मक भौतिकवादी मान्यता राख्दछ । यता अराजकतावादले भने आन्दोलनको सिलसिलाबाट नभएर कसैलाई झोंक चल्नेबित्तिकै वा कल्पना गर्नेबित्तिकै प्राप्त गर्न सकिन्छ भन्ने मान्यता थियो ।

उनीहरुले कल्पना गरेको राज्यव्यवस्था सही भए पनि त्यसलाई प्राप्त गर्ने प्रक्रिया स्पष्ट छैन । प्रुधोले सम्पतिलाई चोरी भनेर संज्ञा दिएका थिए । यो माक्र्सवाद सम्मत विचार हो । सन् १८४० मा प्रकाशित सम्पति के हो ? भन्ने पुस्तकमा उनले अराजकतावाद र सम्पतिबारे प्रष्ट पारेका थिए । अर्थात् यसमा सम्पतिले अझ निरङ्कुशता बढाउने कुरा उल्लेख छ । प्रुधोले दरिद्रताको दर्शन भन्ने कृतिमा अराजकतावादी निम्न पुँजीवादी चिन्तनको वकालत गरेका छन् । यसलाई माक्र्सले खण्डन गर्दै दर्शनको दरिद्रता भन्ने ऐतिहासिक कृति लेख्नुभयो । यसमा माक्र्सले प्रुधोको निम्न पुँजीवादी विचारको खण्डन गर्नुभयो । यसरी औद्योगिक क्रान्तिसँगै विकास भएको अराजकतावाद परस्पर कम्युनिष्ट आन्दोलन विरोधी विचारको रुपमा दर्ज भयो । यसको आफ्नै विचार, लक्ष्य र आन्दोलन छैन । यसकारण यो प्रगतिशील तथा प्रतिगामी आन्दोलनहरुबाट तहसनहस हुँदै आएको देखिन्छ । जर्मनीमा नाजीज्म र इटलीमा फासीज्म हाबी हुँदा अराजकतावाद रक्षात्मक रह्यो । यता रसियाली अक्टोबर क्रान्तिपछि अराजकतावाद असाध्यै कमजोर बन्न पुग्यो । वाकुनीन र क्रोपोटकीनहरु रसियाली अराजकतावादी थिए ।

उनीहरूको पनि गुरु जोसेफ प्रुधो नै थिए । सन् १९२१ बाट रसियामा अराजकतावादी नारोदनीकहरु पतन भए । उनीहरु मास्कोबाट धेरै टाढा पलायन भए । यता पेरिस विद्रोहमा पनि अराजकतावादीहरुको बाहुल्यता थियो । यसकारण पनि यसको अल्पायुमै पतन भएको दाबी गरिन्छ । तसर्थ, केही क्रान्तिकारी पदावली र उद्देश्यहरूको कोणबाट माक्र्सवाद र अराजकतावादबीच समानता देखिन्छ । तर कुनै निश्चित वर्गीय विचारद्वारा निर्देशित सिद्धान्त नभएको हुँदा सङ्घर्षको पेचिलो घुम्तीहरूमा यसले बाटो विराउने गर्दछ । सतही रुपमा हेर्दा अराजकतावाद क्रान्तिकारी चिन्तनधाराजस्तो लाग्दछ । वर्गीय कोणबाट मूल्याङ्कन गर्दा यसले हुँदै नभएको तेस्रो वर्गको मात्र प्रतिनिधित्व गर्दछ । नियमतः यस्ता विज्ञान विरोधी चिन्तन धाराहरुले प्रतिक्रियावादको सेवा गर्दछ । यो सार्वभौम नियम हो । अर्थात् यो माक्सवाद विरोधी निम्न पुँजीवादी चिन्तनधारा हो । कुरा र कल्पना जे गरेपनि अन्ततः यसले बुर्जुवा वर्गको पक्षपोषण गर्दछ । त्यसैले माक्सवाद र अराजकतावाद बीच सारभूत रूपमै भिन्नता रहेको छ ।