भद्रपुर/ मर्मत गर्नेक्रममा विद्युत् चुहावट भई मकालु गाडीमा आगलागी भएको छ ।

ग्यारेजमा राखिएको बसमा मङ्गलबार साढे १० बजे बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापाको मेचीनगर–७ इँटाभट्टाको ग्यारेजमा राखिएको बसमा आगलागी भएको झापाका प्रहरी प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।

काँकडभिट्टाबाट बुटवल जाने मे. १ ख ५२२ नम्बरको मकालु यातायातमा जडान गरिएको विद्युत् चुहावट भई आगलागी भएको हुनसक्ने एसपी ढकालले बताए ।

गाडीमा आगो बलेको स्थानीयले देखेपछि तत्काल मेचीनगर पालिकाको दमकल, स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएको उनले बताए । आगलागीबाट गाडीको भित्रीभाग पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापाले जनाए ।