पाँचथर / मेची राजमार्गको इलामस्थित देउमाई नगरपालिका–१, देउमाइमा मङ्गलबार भएको जीप दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा राँके बजार पाँचथरका अन्दाजी ३५ वर्षीय चन्द्रबहादुर बाग्दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापाको बिर्तामोडदेखि पाँचथरको फिदिमतर्फ आउँदै गरेको मे १ ज २६५७ नम्बरको ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो । मृतक बाग्दास ट्याक्सीको पछाडिपट्टि झुण्डिएका थिए ।

मृतकका श्रीमती मनकुमारी नेपालीले चालकले पछाडि झुण्डिन लगाएकाले दुर्घटनामा श्रीमानको मृत्यु भएको दाबी गरेकी छन् । जीपमा दश जना यात्रु सवार थिए । अन्य यात्रु घाइते भएका छन् ।

उनीहरूलाई थप उपचारको लागि इलाम लगिएको बताइएको छ । इलामका चालक बिपिन भुजेलले मोबाइलमा कुरा गर्दै सवारी चलाएको दुर्घटना भएको घाइतेहरूले बताएका छन् । चालक भुजेलले दुर्घटना हुनुलाग्दा आफूलाई केही थाहा नभएको बताए ।

उनी प्रहरी नियन्त्रणमा छन् ।