मधुमल्ला/उर्लाबारी नगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र पर्नेभन्दै मिक्लाजुङ–९ को नर्सरी काटिएको विषय अझै टुङ्गो लाग्न सकेको छैन ।

नर्सरीका खयर, बाँस काटिएको चार महिना बित्दा पनि विवाद सुल्झिन नसकेको हो । यस विषयमा नियामक निकाय वन कार्यालय, जिल्ला प्रशासन कार्यालयले पनि हालसम्म कुनै पहल नर्गदा विवाद ज्यूका त्यूँ छ ।

रुख कटानपछि स्थलगत अनुगमन गरी गाउँपालिकाकी उपाध्यक्ष सरला राईको टोलीले तत्काल सम्बन्धित निकायहरूलाई घटनाबारे सूचित गरेकी थिइन् । हालसम्म समस्या नसुल्झिदा थुपारिएका काठसमेत चोरी हुन थालेको स्थानीय बताउँछन् ।

उर्लाबारी नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने दाबी गर्दै आएको छ भने मिक्लाजुङले उक्त क्षेत्र आफ्नो पर्ने बताउँदै आएको छ । सीमा विवादका कारणले पनि उक्त क्षेत्र कस्को अधिकार भित्र पर्ने निक्र्यौल हुन सकेको छैन ।

जसका कारणले गर्दा हालसम्म समस्या नसल्टिएको हो । साविक मधुमल्ला गाविसको ७, ८ र ९ नम्बर वडाहरू स्थानीय तहको क्षेत्र निर्धारण गर्दा उर्लाबारी नगरपालिकामा गाभिए पनि मधुमल्लाको ६ नम्बरका केही भू–भाग उर्लाबारी नगरपालिकाले आफ्नो भएको दाबी गरिरहेको छ । रुख कटान भएको नर्सरी साविकको मधुमल्ला–६ नम्बरमा रहेको छ ।

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो र १ नम्बर वडाका वडाध्यक्ष मचिन्द्र कार्कीले सो क्षेत्रमा खेलमैदान बनाउने भन्दै रुख कटान गरेका थिए ।

घटना लगतै ३ लाख रूपैयाँ बजेट विनियोजन गरी खेलमैदानका लागि रुख कटान गरेको वडाध्यक्ष कार्कीले स्वीकारेका थिए । यसलाई ठूलो मुद्दा बनाइरहन जरुरी नभएको कार्कीले बताए ।

यता इलाका वन कार्यालय उर्लाबारी मङ्गलबारेका प्रमुख तारणिप्रसाद चौधरी नर्सरी फडानीबारे अनभिज्ञता प्रकट गर्दै सम्पूर्ण जिम्मा इलाका वन कार्यालय मधुमल्लालाई दिएको बताए ।

इलाका वन कार्यालय मधुमल्ला प्रमुख जगदिशलाल देवले भने उर्लाबार–१ लाई आवश्यक कागजातका लागि पत्राचार गरे पनि हालसम्म कुनै प्रतिक्रिया नआएकाले कारबाहीअघि नबढेको बताए ।

उनले भने, ‘यो दुर्इ पालिकाबीचको सीमा विवाद भएको र सार्बजानिक जग्गामा नर्सरी भएका कारण यसलाई राष्ट्रिय वन ऐन अन्र्तगत चाडै कारबाहीअघि बडाइने छ । उक्त लकडी पनि हाम्रो निगरानीमा सुरक्षित छ ।’

उक्त नर्सरी तात्कालीन मधुमल्ला गाविसका अध्यक्ष काशीनाथ पौडेलको अग्रसरतामा मावा खोलाको जोखिमबाट बस्ती जोगाउन लगाइएको थियो ।