धरान/राजनीतिक दलसँग समन्वय नगरी एकलौटी ढङ्गबाट मेला लगाउन स्वीकृति दिएको विरोधमा ६ दलले विरोध र्याली प्रदर्शन गरेका छन् ।

मङ्गलबार सङ्घीय समाजवादी फोरम नेपाललगायतका ६ दलले विरोध र्याली प्रदर्शन गर्दै उपमहानगरको गेटमा धर्ना दिएका छन् । मेलाले विकृति निम्त्याउने भन्दै पार्टीहरूले धरान उपमहानगर कार्यालयअघि धर्ना दिएका हुन् ।

पार्टीहरूबीच समन्वय विनै मेला लगाउन स्वीकृति दिनु नीतिगत भ्रष्टाचारको पराकाष्ठा भएको सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला उपाध्यक्ष ताजुब लिम्बूले बताए । उनले भने, ‘अन्य दलहरूसँग समन्वय नगरी मेला लगाउने जुन स्वीकृति दिएको छ त्यसको विरुद्धमा ६ दल विरोधमा उत्रिएका हौं ।’

धरान उमपहानगरको कार्यपालिकाको बैठकले असोज २५ गते मेला लगाउन दिने निर्णय पारित गरेको थियो । उक्त निर्णयको विरोधमा नेपाली काङ्ग्रेस धरान नगर समितिले असोज २६ गते पत्रकार सम्मेलन गर्दै विरोध गरेको थियो ।

त्यस्तै असोज २७ गते सङ्घीय समाजवादी फोरम नेपाललगायत ६ दलले धरान उपमहानगरका कार्यबाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदीलाई ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझाए पनि हालसम्म उपमहानगरले कुनै पनि समन्वय नगरेपछि त्यसको विरोधमा विरोध र्याली निकालिएको जनाएका छन् । यसअघि पनि ६ दलले धरान उमपहानगरको कार्यालय अघिल्तिर धर्ना दिँदै विरोध जनाएका थिए । विरोधका वावजुद पनि मेला आयोजक संस्था छिमेकी युवा समूहले सोमबारबाट मेला शुरूवात गरेको छ ।

मेला लगाउने दिने निर्णयप्रति दलहरू आक्रोसित बनेका छन् । मेला युवाहरूबीचमा झगडा गर्ने अखडाको रूपमा स्थापित भएकाले पनि मेला बन्द गर्नुपर्ने ६ दलको माग छ । ‘मेला युवाहरूबीच झगडा गर्ने अखडा भएको छ धरानमा ।’

उपाध्यक्ष लिम्बूले थपे, ‘झैझगडा नहोस्, भोली चाहिँ यहाँ ग्याङ फाइटहरू नहोस् भन्ने उद्देश्यका साथ हामीले यो आन्दोलन अगाडि बढाएका हौं ।’ मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान मञ्च नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, धरान एकता समाज, किरात खम्बुवान साझा पार्टी आन्दोलित छन् ।

धरान उपमहानगरले मेलामा कानूनले वर्जित गरेका खेलहरू खेलाएको पाइए मेला तत्काल बन्द गरिने दाबी गरेको छ । त्यसका लागि धरान–१५ का वडाध्यक्ष नरेश इवारामको संयोजकत्वमा मेला अनुगमन समिति गठन गरेको छ ।

समितिले हरेक दिन मेलाको अनुगमन गर्दै प्रतिवेदन धरान उपमहानगरलाई बुझाउने छ । जुवाजन्य खेलहरू खेलाएको पाइए मेला तत्काल बन्द गर्नेसम्म सक्ने जनाइएको छ ।

धरान–१२ र धरान–६ मा छुट्टाछुट्टै मेला आयोजना भइरहेको छ । मेलामा सुरक्षा संवेदनशिलतालाईसमेत ध्यान नदिएको विरोधी पक्षहरूको भनाइ छ ।

यता धरान उपमहानगरकी कार्यबाहक मेयर सुवेदीले भने यो राजनीतिक मुद्दा नभएकाले दलहरूसँग समन्वय गर्नुपर्ने आवश्यकता नभएको प्रष्ट पारिन् । ‘राजनीतिक मुद्धा भएको भए उहाँहरूसँग समन्वयन गर्नुपथ्र्यो ।’

उनले फोनसम्पर्कमा भनिन्, ‘बजार प्रवद्धनात्मक हिसावले मेला लगाइएकाले संवैधानिक सरकार भएकाले हिसावले त्यही अधिकार प्रत्यायोजन गरेर मेला लगाउने अनुमति दिएका हौं ।’

उनले मेलामा गलत गतिविधि भएको भए दलहरूले प्रश्न उठाउने ठाउँ रहेको बताइन् ।

उनले कानूनले वर्जित गरेका खेलाहरू नखेलाउनका लागि प्रष्ट लेखेको बताइन् । ‘यो–यो क्राइटएरियाभन्दा अन्य गतिविधि भएमा हामी तत्काल रोक्छौं भनेर प्रष्ट लेखिएको छ ।’ उनले भनिन् ।