पाँचथर/दक्षिणी पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिका पानी नभएकै कारण घर रित्तिदै छन् । तमोर नदी किनारको यी दुई गाउँपालिकाका घरहरू मासिनविहीन बन्दै छन् । वर्षौंदेखि काकाकुल गाउँबासी खानेपानीकै कारण बसाइ सर्न बाध्य छन् ।

बसाइँसराइको दर उच्च हुँदा त्यहाँ मानिसविहीन घरको संख्या बढ्दै छ । खानेपानीको समस्याले ५ सय ४५ घर अहिले रित्तो छ । कुम्मायक गाउपालिकामा तीन सय ३५ र तुम्वेवा गाउपालिकामा दुई सय १० घर रित्तो छन् । पानी नभएकैले किनबेच नहुँदा बसाइँ सर्दा घरबारी त्यतिकै छोडेर जाने गरेका हुन् ।

कुम्मायक–१, मा मानिस बिनाको एक सय ५० घर रहेको वडाध्यक्ष देबेन्द्र लाओतीले बताए । वडा नम्बर २ मा १८ घर खाली रहेको वडाध्यक्ष बालकृष्ण शेर्माले बताए । वडा नम्बर ३ मा वडाध्यक्ष रामप्रसाद गजुरेलका अनुसार ५५ घर रित्तो छन् । वडा नम्बर ४ का वडाध्यक्ष पूर्णकुमार खड्काका अनुसार त्यहाँ मानव रहित ३० घर छन् । वडा नम्बर ५ मा बसाइँ सर्नेले छोडेर गएका ८२ घर मानिसविहीन रहेको वडाध्यक्ष यामबहादुर बोहोराले बताए ।

त्यस्तै अति सुख्खाग्रष्त तुम्बेवा गाउँपालिकाको अवस्था उस्तै छ । वडा नम्बर १ र २ मा जम्मा दुई सय १० घर खाली छन् । वडा नम्बर १ मा ६० घर खाली रहेको वडाध्यक्ष मोती तामाङले बताए ।

वडा नम्बर २ मा भने एक सय ६० घर मानवरहित रहेको वडाध्यक्ष पूर्ण पिठाखोठेले बताए । लामो समयसम्म चलेको खडेरी र भू–क्षय लगायतका कारण धारा–कुवा सुकेका छन् । नजिकै पानीको अन्य स्रोत छैन । त्यसैले वर्षौंदेखि बस्दै आएको घर र खनजोत गर्दै आएको खेतबारीलाई माया मारेर अन्यत्रै बसाइँ सर्नेको संख्या दुवै गाउँपालिकामा बढ्दो छ ।

बसाइँ सर्नेको संख्या वर्षेनी बढिरहेको कुम्मायक गाउँपालिकाको कार्यालयले जनाएको छ । गाउँमा मानवरहित घर बढ्दै जाँदा गाउँघर सुनसान र उराठलाग्दो बन्दै गएको स्थानीय बताउँछन् । पानी अभाबले सुख्खा क्षेत्रका मानिस सदरमुकाम फिदिम सँगै झापा, मोरङ, सुनसरीलगायतका स्थानमा बसाइँ सरेर जाने गरेका हुन् । अहिले सुख्खा क्षेत्रका २० हजार बढी जनसंख्या खानेपानीको चरम अभाव खेपेर बाँचिरहेका छन् ।

खडेरीले बालिनाली पनि सखाप ः पानीको अभाव एकातिर छ भने अर्कोतिर बालिनाली पनि खडेरीका कारण उब्जनी शून्य छ । तुम्बेवाको वेसी क्षेत्रमा हिउदे वाली खडेरीले सखाप भएको छ ।

खडेरीकै कारण बर्खेबाली पनि थन्काउन नपाएका किसानहरूले लगाएको हिउँदे पनि खडेरीले लगेको हो । किसानहरूले बारीमा लगाएको मकै, जुनेलो, कोदो, बदामलगायतका बालीहरू सुकेका छन् ।

तुम्बेवा–२, चुवाडेको तल्लो क्षेत्र, सोभारा, हाक्पारा, मेवा र वडा नम्वर १ को ढुकुरे, डिहिगाउँ, चनौटे, आहाले र रातमाटेको तल्लो क्षेत्रमा हिउँदे बालीहरू सुकेका हुन् ।

नगदे बालीको उत्पादन नहुने त्यस क्षेत्रमा किसानहरू खाद्यबाली मै निर्भर रहने गर्दछन् । त्यस्तै पाँचथरको कुम्मायक गाउँपालिका, तेह्रथुमको छथर गाउँपालिका, फेदाप गाउँपालिका, म्याङलुङ नगरपालिका र आठ्राई गाउँपालिकाका वेसी क्षेत्रमा पनि हिउँदे बाली सुकेको किसानहरू बताउँछन् ।

पाँचथरको तुम्बेवा, कुम्मायक, तेह्रथुमको छथर र धनकुटाको चौबिसे गाउँपालिकाका खडेरी प्रभावित किसानलाई केही दिनअघि प्रदेश सरकार र स्थानीय सरकारले राहत समेत वितरण गरेको थियो ।

तमोर लिफ्टको काम सम्पन्न हुन ढिलाई ः सुख्खाग्रष्त क्षेत्र कुम्मायक गाउँपालिका–१ यासोक, वडा नम्बर ३ र ४ रानीगाउँ, वडा नम्बर ५ स्याबरुम्बासीलाई खानेपानीको सहज व्यवस्था गर्नका लागि शुरू भएको तमोर लिफ्ट खानेपानी आयोजनाको काम सम्पन्न हुन ढिलाइ भएको छ ।

आयोजनाको खानेपानी पर्खेर बसेका स्थानीयले अझै एक वर्षभन्दा बढी समय कुनुपर्ने भएको छ । २०७२ सालको पुष महिनादेखि आयोजनाको मुख्य पाइपलाइनको काम शुरू भएको थियो ।

मुख्य पाइपलाइनको काम आगामी फागुन भित्र सम्पन्न हुने निर्माण कम्पनी स्वामी प्रेरानारायण जेभीका प्रमुख सन्तोष बस्नेतले बताए । त्यसपछि वितरण लाइनको काम शुरू हुनेछ ।

२०७६ सालको पुषसम्ममा धारामा पानी झारीसक्ने उपभोक्ता समितिका अध्यक्ष एवम् पूर्व सामान्य प्रशासन राज्यमन्त्री डम्बरसिंह सम्बाहाम्फेले बताए । ५१ करोड ३० लाख २० हजार रूपैयाँको लागतमा निर्माण भइरहेको आयोजनाको काम भने गत वर्ष नै सम्पन्न गर्नुपर्ने थियो ।