पथरीशनिश्चरे / मोरङ ३ को आफ्नो निर्वाचन क्षेत्रका लागि ४ दिने कार्यक्रम तय गरेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई स्थानीय जनताले विकास निर्माणका दर्जनौं माग राखेका छन् । मन्त्री ढकालले दशैंको बीचमै पारेर तिहार, छैठ, लोसार, उभौली सहितका नेपालीका पर्वहरुको शुभकामना आदानप्रदान समेत जोडेर सोमवारदेखि आफ्नो निर्वाचन क्षेत्रका जनतासंग भेटघाट कार्यक्रम थालेका छन् । प्रतिनिधिसभा सदस्यमार्फत साउन १८ गते मन्त्री बनेका ढकाल आफ्नो निर्वाचन क्षेत्रमा तेस्रो पटक ४ दिने कार्यक्रम बनाएर आउँदा मागको ओइरो नै लागेको हो । सोमवार साँझ बेलबारीमा अगुवा कार्यकर्ताहरुसंगको भेटघाटबाट सुरु भएको उनको कार्यक्रम मंगलबार विहान पथरीशनिश्चरेका ४ वटा कार्यक्रममा सरिक हुनमा व्यस्तता देखियो । त्यसपछि अमरदह र कानेपोखरीको कार्यक्रममा पनि सरिक भई दर्जनौं मागपत्र लिन भ्याए । उनी ८ गतेसम्म क्षेत्रका पथरीशनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दरहरैंचाका कार्यक्रममा सरिक भएर जनताका राय सुझाव समेत ग्रहण गर्नेछन् ।

पथरीशनिश्चरे नगरपालिका कार्यालयको तर्फबाट प्रमुख दिलिपकुमार राईले ४० वर्षअघिदेखि नगरको प्रमुख समस्याका रुपमा रहेको दोहोरो स्वामित्व सहितको बसोवासको समस्या समाधान सहितका ५ वुँदे मागपत्र पेश गरे । वक्राहा नदीको व्यवस्थित तटवन्ध, वक्राहामा सुन्दरीचोकदेखि मौलीवारी जोड्ने झोलुङ्गे पुल निर्माण, पथरी डाइनिया सडक कालोपत्रे र नगरमा शीत भण्डारको व्यवस्थापनको माग राखिएको छ । नेकपाको कार्यालयमा आयोजित कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहित वडाध्यक्षहरुले पनि नगरको दोहोरो स्वामित्वको समस्या अन्यत्रको सुकुम्वासी समस्या भन्दा पृथक रहेको जनाउँदै छुट्टै नीति बनाएर वसोवासको समस्या समाधान गर्नु प्रमुख आवश्यकता रहेको जनाए । सोही मागसंग माग जोड्दै सुकुम्वासी तथा अव्यवस्थित वसोवास समस्या समाधान समितिका संयोजक जहरमान लिम्बूले ३ वुँदे सुझाव सहित मागपत्र पेश गरे । उनले नगरमा भएका जग्गाको फिल्ड र पुरानो श्रेस्तालाई भिडाउने, फिल्ड अनुसार श्रेस्ता सच्चाउने र जग्गा दर्ता गर्ने, विवादित धनिपूर्जाहरु त्यसको श्रोत के हो छानविन गरी अवैधानिक ठहरे सरकारले क्षतिपूर्ति सहितको व्यवस्था गरी जमिन जोत्नेलाई धनिपूर्जा वितरण गर्नुपर्ने सुझाव पेश गरेका छन् । साथै उनले श्रोत नखुलेका विवादित एवम् गैरकानूनी धनीपूर्जाहरु रद्ध गरी भोगचलन गरी वस्नेलाई धनीपूर्जा प्रदान गर्नुपर्ने सुझाएका छन् । क्षेत्रका धेरैजसोले प्रमुख समस्या वसोवासको भएको कुरा दर्शाए । मन्त्री ढकालको अवधारणा र पहलमा पथरीशनिश्चरेमा १ नम्वर प्रदेशको गौरवको आयोजनाका रुपमा जातीय संग्रहालय वन्ने कुराप्रति स्थानीयले आभार प्रकट गरे ।

पथरी वहुमुखी क्याम्पसका तर्फबाट प्रमुख चेतन पौडेलले त्यहाँ एमएड कक्षा सञ्चालन तथा कम्प्युटर ल्यावका लागि संसद विकास कोषबाट कम्तिमा वर्षेनी १५ लाख रुपैयाँ प्रदान गर्नुपर्ने लिखित माग मन्त्री ढकाल समक्ष राखेका छन् । भागिरथ माविका तर्फबाट शिक्षक कृष्णबहादुर कार्कीले विद्यालयको स्वामित्वमा रहेको ७ विगाहा क्षेत्रमा कृषि प्राविधिक शिक्षा सञ्चालनका लागि शिक्षा विभागमा प्रक्रिया अघि बढेको जनाउँदै त्यसलाई मूर्त रुप प्रदान गर्न मन्त्री ढकालको सहयोग माग गरे । उनले रेडक्रसमार्फत एम्वुलेन्स सेवाको आवश्यकतामा सघाउन अनुरोध गरे ।

सिमसार पर्यटनको प्रवल सम्भावना बोकेको नगरमा शान्ति सामुदायिक वन उपभोक्ता समूहले थालेको बोटिङ सेवा सहित शान्ति भूल्के सिमसारको दीर्घकालिन योजनाका बारेमा उनलाई जानकारी गराउँदै आर्थिक व्यवस्थापनमा संघीय सरकारको सहयोग माग गरेको छ ।

वडा नम्वर ९ का फडिन्द्र कार्कीले डाँसखोलामा व्यवस्थित तटवन्ध र जिरिखिम्ती कुसे हुँदै शनिश्चरे दक्षिणको यातायात सञ्चालित सडक कालोपत्रेको मागपत्र राखे । किसान लक्ष्मीप्रसाद फुयाँलले तमोरको पानी डाइभर्सन गरेर नगरमा सिंचाईको व्यवस्था गर्न तथा आधुनिक खेती प्रणालीका लागि किसानलाई तालिमको व्यवस्था गर्नु पर्ने सुनाए । वीरेन्द्रनगर क्रिकेट क्लबका सहसचिव हेमन्त ओझाले क्लबका लागि खेलमैदानको व्यवस्थापनको माग गरे । मजदुर नेता पूर्ण कार्कीले यातायात मजदुरका समस्या, वडा नम्वर ४ का विक्रम लिम्बूले पुल्चोक दक्षिणको ८ किलोमिटर सडक कालोपत्रेको माग राखे । वडा नम्वर १ का उद्धव ओझाले पथरीबाट जाँते हुँदै ६ नम्वर बुधवारे र दक्षिणमा भारतसम्म जोडिने पथरी डाइनिया सडक कालोपत्रको माग राखे । स्थानीयले उनीसँग सामान्यखाले मागहरु समेत गरे । प्रभात सामुदायिक युवा क्लबका नविनजंग कार्कीले वडा नम्वर ४ र ८ मा एम्वुलेन्स सेवा, नेपाल टेलिकमको टावरको आवश्यकता दर्शाए ।

वडा नम्वर ३ को वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा, सुरेन्द्र कार्कीमार्फत स्थानीयले मदन प्रतिष्ठान मिक्लाजुङ कृषि मार्ग, गोही होलीमा २ वटा कल्भर्ट, खानेपानी आयोजना, अस्थाई प्रहरी विट सहितका सामान्यखाले समेत माग राखे ।

पूर्व सांसद ऋषिकेश पोखरेलले स्थानीय क्षेत्रको विकासका लागि तिनै तहको सरकार लागि परिरहेको प्रसंग अघि सार्दै नेकपा पार्टीका लागि यो एउटा अवसर समेत रहेको चर्चा गरे । उनले अवको १ महिनाभित्र मोरङका सवै स्थानीय तहमा पार्टीको कार्यदल बनिसक्ने उल्लेख गरे ।

कानेपोखरी र बेलबारीका कार्यक्रममा स्थानीय खोलाहरुको तटवन्ध, सिंचाई, कृषि औजार, बाहुनीको पेट्रोलखानीको अन्वेषण, गोठगाउँको पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन, सुकुम्वासी सहित वसोवासका समस्या समाधानका १ दर्जन मागपत्र पेश भएको युवा नेता रविन थापाले जनाए ।

स्थानीयका सवै मागहरु बारेमा जानकारी लिइसकेपछि मन्त्री ढकालले आफुले आफ्नो पदीय मर्यादामा समेत रहेर जनताका समस्या समाधान गर्न आफु निस्वार्थ रुपमा प्रतिवद्ध रहेको धारणा राखे । उनले यसबेलाको बहुमतको सरकारले वसोवास सहितका समस्या समाधानमा चाँडै नीति बनाएर ठोस काम गरिछोड्ने वचनवद्धता व्यक्त गरे । ‘विविध खाले समस्या समाधान गरेर मुलुकलाई समृद्ध बनाउने काम हामीले नै गर्छाैं । यो सरकारले वाहेक अरु कसैले गर्नै सक्दैन ।’– मन्त्री ढकालले भने ‘हामीलाई असफल बनाउन दुस्साहस गर्नेहरुलाई हामी कामले जवाफ दिन्छौं ।’ उनले लामो समयसम्म अराजता छाएको मुलुकलाई जादुको छडी जस्तो एकैछिनमा परिवर्तन गर्न नसकिने हुँदा टिकाटिप्पणी गरिहाल्नु भन्दा पनि के के प्रगति भइरहेको छ भन्ने कुरा निष्पक्ष मनले मनन् गर्नु आवश्यक रहेको सुझाव दिए । ‘समृद्धिको महाअभियानमा लागेको सरकारलाई उसका कमकमजोरीलाई सच्याउन सुझाव दिने र राम्रा कामलाई प्रोत्साहित गर्ने सकारात्मक चिन्तन बढाउन आवश्यक छ ।’– उनले भने ।