धरान/गतवर्षको रिसिइवी फेर्न धरान–६ पानबारीमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।

धरान–६ पानबारीका युवराज कुरूम्भङ लिम्बूले छिमेकी सपना भनिने नरेन्द्र लिम्बूमाथि आइतबार राति खुकुरी प्रहार गरेको हो । खुकुरी प्रहारमा संलग्न युवराजसहित तीनजना फरार रहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट नरेन्द्रको गर्दनभन्दा मास्तिर ५ टाँका लागेको छ भने बायाँ हातको कान्छी औलासमेत नचल्ने भएको स्थानीय लोकमान लिम्बूले जानकारी दिए ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नीमा उपचार भइरहेको छ । उनका अनुसार गतवर्ष तिहारको बेला युवराजको घर नजिकैको चोकमा तिहारको नाँच लगाउने बेलामा युवराजले मापासे सेवन गरी निहुँ खोजेका थिए ।

त्यसबेला सामान्य भनाभन भएको थियो । आइतबार राति साढे ११ बजेतिर सुतिरहेको समयमा घर बाहिर बोलाएर आक्रमण गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार गतवर्षकै झगडाका कारण आक्रमण गरेको हुन सक्छ ।

आक्रमणमा संलग्न युवराजसहित युवराजकै घरमा बस्दै आएका धरानकै रजिन राई र केराबारी गाउँपालिका–५ राजारानीका पर्वत राई फरार छन् । घटनास्थलबाट मोबाइल र झोला बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।