भद्रपुर/नेपालको पुरानो तथा दोस्रो नगरपालिका भद्रपुर नगरमा विभिन्न शिर्षकमा रहेको लाखौँ बेरुजु रकम अझै उठन बाँकी रहेको छ ।

आर्थिक वर्ष ०७३/७४को असार मसान्तसम्म नगरले तेह्रवटा विभिन्न शिर्षकबाट ३९ लाख ८७ हजार ८ सय २४ रुपैयाँ उठाउन बाँकी रहेको नगरपालिकाको तथ्याङ्कले देखाएको छ ।

नगरमा देखिएको ६९ लाख ३७ हजार ७ सय १८ रुपैयाँ रहेकोमा २९ लाख ४९ हजार ८ सय ९४ रुपैयाँ बेरुजु फछ्यौट भएको लेखा शाखाले जनाएको छ । बाँकी रकम जिम्मेवारी सरेर आएको लेखा शाखा कर्मचारी सुवास भट्टराइले जानकारी दिए ।

नगरपालिकाले दिएको जानकारी अनुसार राजस्व शाखाबाट विभिन्न वर्षहरुमा लगाइएको राजस्व ठेक्का बापत १२ लाख ८५ हजार ४ सय २८ रुपैयाँ,नगर क्षेत्रभित्र उपभोक्ता समिति मार्फत सडक निर्माणमा रोलर,काठको फर्मा,मिक्चर मेसिन भाडा वापत १२ लाख ५ हजार ५ सयकोे १० प्रतिशत कर कट्टी रकम बापत १ लाख २० हजार ५ सय ५० असुलउपर गर्ने देखिएको छ ।

त्यसैगरी गरिबी न्यूनिकरण वापत सङ्घ संस्थाबाट १ लाख ५४ हजार ३ सय ४,गाउँघर साझेदारी कार्यक्रम अन्र्तगत १ लाख ८३ हजार ८ सय २८ ,भारतीय राजदूतावासको सहयोगमा शुरु भएको चिस्यान गृहको ठेकदार कम्पनीबाट १९ लाख ९६ हजार ३सय ३८ रुपैयाँ ,साविक पृथीवीनगर गाविसबाट भुक्तानी भएको बखत कट्टि भएको सामाजिक सुरक्षा कर बापतको रकम आन्तरिक कार्यालयमा जम्मा गर्नुपर्ने ८ हजार ४ सय ४२,सोही गाविसको ठेक्का बक्यौदा रकम ठेकदार इश्वरी काफ्लेबाट ८५ हजार असूल गरी जम्मा गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै साविक गाविसकै १५ लाख ३० हजार ९ सय ३४ अन्तिम मौज्दात रकम रहेकोमा तत्कालिन सचिव कुमुदचन्द्र झाले १ लाख ४६ हजार ४ सय ३८ र अर्का सचिव मदन कँडेलले ६ हजार ६ सय ५५ रुपैया जिम्मा रहेकोले सन्चित कोष खातमा जम्मा गर्नुपर्ने उल्लेख गरिएको नगरपालिकाले जनाएको छ ।