काबुल / अफगानिस्तानमा आज भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा १३० भन्दाबढी व्यक्ति हताहत भएको समाचार स‌स्थाहरुले जनाएका छन् । शनिबार भएको यस निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काबुलमा भएको बताइएको छ । काबुलको कैयौँ स्थानमा भएको विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७८ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताए । तालिवान आतङ्ककारी समूहले अफगान मतदातालाई मतदान केन्द नजान चेतावनी दिँदै आएका थिए ।

अफगानिस्तानमा मतदान केन्द्र नजिकै विस्फोट

 अफगानिस्तानको राजधानी काबुलमा मतदान केन्द्र नजिकै भएको विस्फोटमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ३० जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताए ।  तालिवान आतङ्ककारी समूहले मतदातालाई मतदान बहिष्कार गर्न चेतावनी दिँदै आएका थिए । अफगानिस्तानमा आज बिहान ७ बजेदेखि नै संसदीय निर्वाचन शुरु भएको थियो । तालिवान आतङ्ककारी समू्ह शनिबार बिहानबाट मतदान केन्द्र, प्रहरी चौकी र सेनाको इलाकालाई लक्षित १६६ वटा आक्रमण गरेका छन् । कुन्दुज प्रान्तमा पनि तीन वटा रकेट आक्रमण गरिएको र तर यसबाट मानवीय क्षति भने नभएको बताइएको छ ।  स्थानीय समयानुसार शनिबार बिहान ७ बजेदेखि शुरु भएको यस निर्वाचनमा तालिावान आतङ्ककारी समूहको चेतावनीको बाबजुद पनि लाखौँको सङ्ख्यामा सर्वसाधारण मतदानमा भाग लिएका थिए । लामो समयको प्रतिक्षापछि संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा २४९ सिटका लागि दुई हजार ५०० जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा हत्याहिंसा मच्चाउने प्रतिज्ञा गरेर बसेका तालिवान आतङ्ककारीका कारण यस निर्वाचनमा ५० हजारभन्दा बढी सुरक्षा अधिकारी तैनाथ गरिएको थियो । यस निर्वाचनका लागि ३० लाख महिलासहित करिब ९० लाख व्यक्तिले मतदाता नामवलीमा आफ्नो नाम दर्ता गरेका थिए ।  यस निर्वाचनका लागि एक करोड २० लाख व्यक्ति मतदानयोग्य मतदाता रहेका र सोमध्ये ९० लाखले मात्र आफ्नो नाम दर्ता गरेका थिए । अफगानिस्तानको तल्लो सदनमा निर्वाचित सदस्यको पाँच वर्षको अवधि हुने गरेको छ । अफगानिस्तानमा तालिवान र इस्लामिक स्टेट्स् आतङ्ककारी समूहका कारण आम निर्वाचनमा हत्या र हिंसाको अत्यन्त डरलाग्दो स्थिति रहेको पाइन्छ ।