दशैँका बेला नयाँ नोटको चलनचल्ती निकै बढ्छ। यस वर्ष पनि दशैँका लागि झण्डै १५ अर्ब रुपैयाँको हाराहारीमा नयाँ नोट बजारमा आएको बताइन्छ। तर वर्षभरि राष्ट्र ब्याङ्कले कति पैसा छाप्छ? यसको सहज उत्तर भने छैन। आवश्यकता अनुसार नियमित नोटको छपाइ हुने र हाल करिब पौन पाँच खर्ब रुपैयाँ बराबर नगद बजारमा रहेको केन्द्रीय ब्याङ्कले बताएको छ।

नयाँ नोटको प्रयोग पनि दशैँको एउटा अभिन्न अङ्ग बन्दै आएको छ। टीका, जमरा लाएपछि दक्षिणामा नयाँ नोट लिनेदिने प्रचलन छ। यसका लागि राष्ट्र ब्याङ्कले नयाँ नोटको वितरण चाडबाड अघि बढाउने गर्छ। यसपटक पनि करिब १५ अर्ब रुपैयाँ जतिका नयाँ नोट बजारमा प्रवाह गरिएको बताइन्छ।खासमा नोटको छपाइ र चलनचल्तीका निम्ति निष्काशन राष्ट्र ब्याङ्कको नियमित प्रक्रिया हो। हाल देशभर करिब पौने पाँच खर्ब रुपैयाँ बराबरका नोटहरू चलनचल्तीमा रहेको ब्याङ्कका प्रवक्ता नारायण पौडेलले बताए ।

"हाम्रो वासलातमा करिब ४७० अर्ब रुपैयाँको हाराहारीमा नोटहरू चलनचल्तीमा रहेको देखाउँछ। सामान्यतया हामी तीन वर्षको माग धान्न पुग्ने गरि नोट छपाइ गरेर राख्छौँ। उदाहरणका लागि सय वा पाँच सय दरका नोटहरू यति छ र यसले यति थेग्छ भन्ने भएपछि हामी आवश्यकता अनुसार छपाइ गराउँछौँ।" अर्थतन्त्रको आकारसँगै बजारमा नगदको परिमाण स्वाभविक रूपमा बढेको भए पनि खासगरी प्रवृत्तिगत परिवर्तनहरूका कारण नगदको माग अन्यत्र जस्तै नेपालमा पनि घट्दै जाने विश्लेषकहरू बताउँछन् ।

राष्ट्र ब्याङ्कका पूर्वडेपुटी गभर्नर कृष्णबहादुर मानन्धर भन्छन्, "हामी सबैले अनुभव गरिरहेका छौँ कि नगदको प्रयोग कम कम भइरहेको छ।" "मानिसहरू चेक वा अनलाइन भुक्तानीतर्फ गइरहेका छन्। त्यसैले यहाँ पनि नगदको माग विस्तारै घट्दै जानेछ।" नेपाली नोटहरूको छपाइ भने विदेशमा नै हुने गरेको छ। आवश्यकता अनुसार विश्वव्यापी टेण्डरबाट छानिएका कम्पनीहरूले तिनको छपाइ गर्ने गर्छन्।

-विविसी